Ipo.aspx merolagani - सातामा २ प्रतिशतभन्दा बढी घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

सातामा २ प्रतिशतभन्दा बढी घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Aug 16, 2025 06:02 AM Merolagani

यस साता नेप्से परिसूचक २ प्रतिशतभन्दा बढी घटेर बन्द भएको छ। गत साता २८५०.३७ विन्दुमा बन्द भएको नेप्से, यस साता २.१८ प्रतिशत अर्थात ६२.०१ अंक घटेर २७८८.३६ विन्दुमा झरेको छ।

यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये १ करोबार दिन नेप्से सामान्य अंक बढेको थियो भने ३ कारोबार दिन नेप्से घटेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ११.३४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४.७६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.०४ अंक घटेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ९ अर्ब ८८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ७ अर्ब ६९ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २२.१८ प्रतिशत घटेको हो। यस साता दैनिक औषत शेयर संख्या २४.३७ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ३४.९९ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि २ प्रतिशतभन्दा बढी घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४७ खर्ब ५७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब १ अर्ब रुपैयाँ घटेर ४६ खर्ब ५६ अर्ब रुपैयाँमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता अन्य उपसमूहको परिसूचकबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस साता अन्य उपसमूहको परिसूचक १.५१ प्रतिशत बढेको छ। गत साता २६२१.३० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ३९.६९ अंक बढेर २६६०.९९ विन्दुमा पुगेको छ।

यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ४.१६ प्रतिशत घटेको छ। गत साता ५४६३.०४ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक यस साता २२६.९९ अंक घटेर ५२३६.०५ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३३०.४१ अंक घटेको छ।

नेप्सेमा यस साता सन नेपाल लाइफ इन्स्योरेन्सको लिलामी शेयर, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर र ७ प्रतिशत एनआईसी एशिया डिेबेञ्चर २०९१ सूचीकृत भएको छ।

यस साता नेपाल रिपब्लिक मिडिया लिमिटेडको शेयरमूल्य सर्वाधिक १४.५७ प्रतिशत बढेको छ। गत साता ४७२ रुपैयाँ ४६ पैसा रहेको यस कम्पनीको अन्तिम शेयरमूल्य, यस साता ५४१ रुपैयाँ ३० पैसा रहेको छ। त्यस्तै, यस साता पञ्चकन्या माइ हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ११ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सिक्लेस हाइड्रोपावरको शेयरमूल्य यस साता सर्वाधिक १८.५७ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता कालिका लघुवित्त वित्तीय संस्था, माथिल्लो मैलुङ्ग खोला जलविद्युत लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने बलेफी हाइड्रोपावर, युनाइटेड अजोड इन्स्योरेन्स, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

comments powered by Disqus