Ipo.aspx merolagani - ‘जिएसटी’ का दरमा परिवर्तनले भारतीय आर्थिक क्षेत्रमा हलचल, कारदेखि पाउरोटीसम्मको मूल्य घट्ने

‘जिएसटी’ का दरमा परिवर्तनले भारतीय आर्थिक क्षेत्रमा हलचल, कारदेखि पाउरोटीसम्मको मूल्य घट्ने

Sep 04, 2025 05:55 PM mero lagani

भारत सरकारले वस्तु तथा सेवा कर (जीएसटी) का दरहरुमा परिवर्तन गरेको छ । यो परिवर्तनले मध्यम वर्गलाई ‘मालामाल’ बनाएको र त्यसले भारतको समग्र अर्थतन्त्रमा निकै ठूलो हलचल ल्याउने विश्लेषकहरुले बताएका छन् ।

त्यति मात्र होइन, भारतको यो निर्णयले नेपालसहितका छिमेकी देशहरुलाई पनि प्रत्यक्षरुपमा प्रभावित गर्ने भएको छ । नेपालमा पनि भारतीय सवारी साधनहरु र कृषिउपज उत्पादनहरुको मूल्य घट्ने सम्भावना देखिएको छ ।

अर्थमन्त्री निर्मला सीतारमणले बुधबार साँझ गरेको करका दरहरुको परिवर्तन अबको १८ दिनपछि अर्थात् सेप्टेम्बर २२ देखि लागू हुनेछ । हालको चार स्ल्याब (५, १२, १८ र २८ प्रतिशत) को सट्टा अब केवल दुई स्ल्याब (५ र १८ प्रतिशत) मात्र रहनेछ ।

अब भारतमा धेरै प्रकारका दैनिक उपभोग्य वस्तुलाई कर मुक्त बनाइएको छ । अर्थात् तिनीहरुमा कुनै कर लाग्ने छैन । जस्तोकि अब दूध, पनीर, चपाती, पिज्जा, पाउरोटी, पराठा, रोटी आदी कर मुक्त भएका छन् । तीमध्ये अहिलेसम्म पराठामा १८ प्रतिशत र अन्यमा ५ प्रतिशत कर लाग्दै थियो, अब ती वस्तुहरुमा कुनै कर लाग्ने छैन । त्यस्तै यसअघि १२% वा १८% जियसटी लाग्दै आएका बटर र घिउदेखि लिएर सुख्खा फलफूल, चीज, नेभारा, खजूर, एभोकाडो प्रशोधित समानहरु, ससेज र मासु, चिनीमा आधारित मिठाई, जाम र फलफूल जेली, नरिवलको पानी, नमकीन, २० लिटरको बोतलमा प्याकेज गरिएको पिउने पानी, फलफूलको रस, दूध, आइसक्रिम, पेस्ट्री र बिस्कुट, मकैको फ्लेक्स र अन्नमा आधारित पेय पदार्थ र चिनीमा आधारित मिठाईहरू अब केवल ५ प्रतिशत कर लाग्नेछ ।

भारतले विद्यार्थीहरूलाई पनि ठूलो राहत दिएको छ । इरेजर, नक्सा, पेन्सिल, शार्पनर र नोटबुकहरूमा यस अघि लाग्दै आएको ५% जियसटी खारेज गरेर करमुक्त बनाइएको छ भने स्याम्पु, ट्याल्कम पाउडर, टूथपेस्ट, टूथब्रश, फेस पाउडर, साबुन र कपालको तेलमा कर दर १८% बाट घटाएर ५% मा घटाइएको छ।

स्वास्थ्य बीमा प्रिमियममा कुनै कर नलाग्ने घोषणा गरिएको छ ।

सिमेण्ट उद्योगमा १० प्रतिशत कर कटौती

भारत सरकारले सिमेन्टमा हालसम्म लगाउँदै आएको जिएसटी २८ प्रतिशतबाट घटाएर १८ प्रतिशत पुर्याएको छ । यसले सिमेण्ट उद्योगहरुलाई ठूलो राहत दिएको छ र अब त्यहाँ सिमेण्टको मूल्य समेत घट्न सक्ने सम्भावना रहेको बताइएको छ ।

सवारी साधनको मूल्यमा व्यापक कटौती हुन सक्ने

नयाँ संरचनामा, १२०० सीसी भन्दा कम इन्जिन भएका पेट्रोल कारहरू र ४ मिटर भन्दा कम लम्बाइ भएका १५०० सीसीसम्मका डिजेल कारहरू अब केवल १८% करको दायरामा आउनेछन्। अहिलेसम्म यीमा २९-३१% GST लगाइँदै थियो। यो परिवर्तनले मूल्यहरू १२-१२.५% ले घटाउन सक्छ। उदाहरणका लागि ५ लाख रुपैयाँ मूल्य भएको कार अब लगभग ६२,५०० रुपैयाँले सस्तो हुनेछ।

त्यस्तै अब ३५० सीसी भन्दा कम इन्जिन क्षमता भएका बाइकहरूमा १८% मात्र GST लगाइनेछ। पहिले यीमा २८५ कर तिर्नुपर्थ्यो। यसले १०० सीसीदेखि १५० सीसी खण्डमा बेचिने हिरो स्प्लेन्डर, होन्डा शाइन र बजाज पल्सर जस्ता लोकप्रिय बाइकहरूलाई प्रत्यक्ष असर गर्नेछ।

त्यस्तै वित्तमन्त्री सीतारमणले एयर कन्डिसनर, डिशवाशर र टिभी जस्ता उपभोक्ता इलेक्ट्रोनिक उत्पादनहरूमा पनि कर २८ प्रतिशतबाट घटाएर १८ प्रतिशत गरिएको बताइन् ।

३५० सीसी भन्दा बढी क्षमता भएका मोटरसाइकलहरू र व्यक्तिगत प्रयोगका लागि विमान र रेसिङ कारहरूमा ४० प्रतिशत कर (२८ प्रतिशत जिएसटी र बाँकी क्षतिपूर्ती उपकर) लगाइनेछ । साथै, विद्युतीय सवारी साधनहरूमा पहिले जस्तै ५ प्रतिशत कर लगाइनेछ। साना कारहरूमा १२% सम्म कर लगाइनेछ ।

सुर्ती, गुटखा, सुर्तीजन्य पदार्थ र चुरोटमा हालको २८ प्रतिशत कर र क्षतिपूर्ति उपकर लागू रहनेछ । रेस क्लब, भाडा वा भाडा सेवाहरू र क्यासिनो र जुवा र घोडा दौड र लटरी र अनलाइन पैसा गेमिङमा पनि उपकरसहित ४० प्रतिशत कर लगाइनेछ।

चिनी थपिएको सफ्ट ड्रिंक्समा ४० प्रतिशत कर (जिएसटी र उपकर गरि) लगाइनेछ।

 

comments powered by Disqus

निफ्राले गर्यो नगद लाभांश घोषणा

Sep 05, 2025 10:17 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।