Ipo.aspx merolagani - नाडाका प्रतिनिधि र उद्योमन्त्रीबीच भेट, स्वदेशमै उत्पादित वस्तुको एनएस चिन्ह दिलाउन माग

नाडाका प्रतिनिधि र उद्योमन्त्रीबीच भेट, स्वदेशमै उत्पादित वस्तुको एनएस चिन्ह दिलाउन माग

Sep 25, 2025 06:16 PM merolagani

बिहीबार नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा)का प्रतिनिधिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हासँग भेटवार्ता गरेका छन् ।

नाडा अध्यक्ष करण चौधरीसहितको प्रतिनिधि मण्डलले मन्त्री सिन्हासँग भेटवार्ता गरेको हो । भेटका क्रममा नाडाका प्रतिनिधिहरुले हालैको जेनजी आन्दोलनका क्रममा अटोमोबाइल उद्योगमा प्रत्यक्ष उत्पादनमा क्षति नभए पनि धेरैजसो शो–रुम, कार्यालय र संरचनामा आगजनी तथा तोडफोड भएको उल्लेख गरे ।

यस्तो परिस्थितिले उद्योगलाई परोक्ष रूपमा ठूलो चुनौती थपेको र ग्राहकको विश्वासमा समेत असर पारेको बताउँदै उनले मन्त्रालयले नीतिगत र संस्थागत सहयोग गरेर उद्योगलाई संरक्षण गर्नुपर्ने धारणा राखे ।

 

अध्यक्ष चौधरीले नेपालमा उत्पादित वस्तुहरूको गुणस्तर परीक्षण र प्रमाणिकरण गर्नका लागि मन्त्रालय अन्तर्गत रहेको नेपाल गुणस्तर तथा नापतौल विभाग अझै पर्याप्त परीक्षण उपकरण नहुँदा गुणस्तर चिन्ह (एनएस) पाउन नसकेको बताए ।

यसतर्फ मन्त्रीको ध्यानाकर्षण गराउँदै उनले यसले घरेलु उद्योगको विश्वसनीयता र बजारमा प्रतिस्पर्धात्मक क्षमता दुवैमा बाधा पुर्याइरहेको भन्दै तत्कालै परीक्षण सुविधा स्थापना गर्न आग्रह गरे ।

उनका अनुसार, नेपालमा हाल करिब १६ वटा लुब्रिकेन्ट उद्योग सञ्चालनमा रहेको र केही थपिने प्रक्रियामा छन । यी उद्योगहरूको संरक्षण र प्रवर्द्धन गर्न अत्यावश्यक रहेको चौधरीले बताए ।छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालमै उत्पादित टायर, हेलमेट, लुब्रिकेन्ट र ब्याट्री उद्योगले गुणस्तर चिन्ह पाउन निकै कठिनाइ भएको गुनासो राखे । 

व्यवसायीको कुरा सुनेपछि उद्योगमन्त्री अनिलकुमार सिन्हाले सरकार र व्यवसायीको सहकार्यबिना अघि बढ्न नसक्ने बताए । उनले उद्योग–व्यवसायलाई सबल बनाउन सरकार सजग रहेको बताए ।

त्यस्तै सरकारी पक्षबाट उद्योग मन्त्रालयका सचिव कृष्णप्रसाद राउतले छिट्टै गुणस्तर परीक्षण ल्याब स्थापना गर्ने तयारी भइरहेको बताए । उनले व्यवसायीहरूले पनि ल्याब स्थापना गर्न सक्ने वातावरण बनाउन प्रोत्साहित गर्ने बताए ।

comments powered by Disqus