दशैँको टिकाको दिन नै मनसुन समाप्त हुने भए पनि उक्त मितिमा भने फेरबदल हुन सक्छ। “नेपालमा सरदर अक्टोबर २ तारिखमा मनसुन बहिर्गमन हुने भएता पनि प्रत्येक वर्ष सो मिति भने फरक फरक हुने गर्दछ ” जल तथा मौसम विभागका सूचना अधिकारीले भने।
अहिले पनि मनसुन सक्रिय नै छ। सोही कारण कहिले घाम त कहिले वर्षा हुने क्रम रोकिएको छैन। विभागका अनुसार दशै अवधिभर मनसुनी वायूको प्रभाव रहिरहने छ। “नेपालमा हाल मनसुन वायूको प्रभाव केही कमजोर रहेको र नेपालबाट मनसुन बहिर्गमन भई नसकेको अवस्था छ। हालको मौसम विश्लेषण अनुसार यस वर्षको दशैँ अवधिभर मनसुनी वायूको प्रभाव रहिरहने देखिन्छ” विभागले दशैको लागि मौसम पूर्व अनुमान गरेको बुलेटिनमा उल्लेख छ।
मौसम विभागले दशैँको पूर्वानुमानसहित तीन दिनको विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ। जसमा यसपालीको दशैँका दिन केही क्षेत्रमा पानी पर्ने सम्भावना धेरै नै देखिएको छ भने धेरै जसो क्षत्रमा पनि पर्ने सम्भावना निक्कै न्यून देखिएको छ।
असोज १४ अष्टमीका दिन बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

असोज १५ नवमीका दीन कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

असोज १६ दशमीका दिन बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा साथै मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस वर्षको दशैंको अवधिभर मनसुनी वायूको प्रभाव रहिरहने भएकोले मौसमको अद्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ।