भट्टराईले तोकिएकै समयमा मुलुकमा निर्वाचन नभए देश डरलाग्दो सुरुङमा फस्ने चेतावनी दिँदै यही संविधानमा टेकेर दलहरुले छिटो निर्वाचन गराउने दिशामा अघि बढ्नुपर्ने बताए । वर्तमान कार्की नेतृत्वको अन्तरिम सरकारमा भएका कमीहरु हटाएर मुलुकलाई निर्वाचन सम्पन्न गराउनेतिर अघि बढाउनुपर्ने उनको भनाई थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै भट्टराईले नेपालको वर्तमान संविधानलाई आधार बनाएर मुलुकमा रास्वपालगायतका वैकल्पिक राजनीतिक दलहरुले अघि बढ्दा नै उपयुक्त हुने समेत बताए।
 
उनले भने, ‘अब निर्वाचनमा त हामीले जसरी पनि गर्नुपर्छ । कथमकदाचित निर्वाचन भएन भने डरलाग्दो अध्यारो सुरुङमा देश फस्छ । त्यसैले हामी सबैले सहयोग गरेर यो अन्तरिम सरकार, यो सुशीला कार्की नेतृत्वको जुन सरकार छ । यसका अपूर्णता, कमी,कमजोरी छन् भने यसलाई सच्याउन लगाऔं । तर यसैमार्फत नै छिटो चुनाव गराउनेतिर नै हामी जानुपर्छ । त्यसमा निम्ति जुन हाम्रा अलगअलग दलहरु छन् । अलग अगल दल पनि चुनावमा जान सकिन्छ । रास्वपाका साथीहरुलाई हामी एक्लै जान सकि हाल्छौ भन्ने आधारहरु पनि छन् त । ’
भट्टराईले मुलुकलाई भ्रष्टाचारबाट मुक्त गराउनका लागि सम्बन्धित निकायहरुलाई बलियो बनाएर अघि बढन उपयुक्त हुने पनि स्पष्ट पारे ।