बन्चरेडाँडाका स्थानीयले केही दिनअघि मात्र फोहोर लैजान अवरोध गर्न थालेपछि काठमाडौं महानगरले फोहोर घरभित्रै राख्न सुचना निकाल्यो ।
बन्चरेडाँडा ल्यान्डफिल्ड साइटका स्थानीयले अवरोध पुर्याएपछि बुधबार फोहोर लिएर गएका गाडीहरु फर्किन बाध्य भए । कतिपय फोहोर बोकेका ट्रंकहरु बीच बाटोमै रोकिनुपर्यो ।
स्थानीयले बन्चरेडाडाँमा गाडी जान नदिए पछि अहिले काठमाडौंका विभिन्न सडक र चोक चोकमा फोहोर थुप्रिन थालेको छ । फोहोर व्यवस्थापन वैज्ञानिक ढंगले नभएको र विगतमा भएका सहमति समेत पूरा नभएको भन्दै स्थानीयले बन्चरेडाँडामा फोहोर बिसर्जन गर्न नदिएका हुन् ।
खासगरी, विसं २०७९ जेठ २६ गते स्थानीय र सरकारबीच भएको १८ बुँदे माग सम्बोधन नभएको भन्दै पछिल्लो पटक त्यहाँका स्थानीयले फोहोर बिसर्जनमा अवरोध गरेको बुझिएको छ ।
सहमति भएअनुरुप रातको समयमा मात्र फोहोर विसर्जन गर्नुपर्ने, फोहोर बोकेका गाडीले लिच्चड नचुहाउने, दुर्गन्ध नआउने व्यवस्था गर्नुपर्ने, कुहिने र नकुहिने फोहोर छुट्याएर विर्सजन गर्नुपर्ने, प्रभावित क्षेत्रका स्थानीयलाई उचित मुआब्जा तथा शिक्षा स्वास्थ्य व्यवस्था गर्नुपर्नेलगायतका मागहरु थिए ।
ती मागहरु अहिलेसम्म सरकारले सम्बोधन नगरेको पीडित स्थानीयको भनाइ छ । यसअघि सिसडोल, बन्चरेडाँडा र कुँडुले ल्यान्डफिल्ड क्षेत्रका स्थानीयले पटक पटक सरकारसँग फोहोर व्यवस्थापन वैज्ञानिक ढंगले गर्न आग्रह गरे पनि सरकारले भने उनीहरुको माग सुनेन ।

खासगरी, सहरी विकास मन्त्रालयले फोहोर व्यवस्थापनका लागि दीर्घकालीन समाधान खोज्न प्रभावित क्षेत्रका स्थानीयसँग छलफल गर्यो । विभिन्न समयमा सहमति गर्यो । तर, उक्त सहमतिको पालना नभएपछि स्थानीयले पटक पटक फोहोर फाल्न अवरोध गर्दै आएका छन् ।
काठमाडौं महानगरपालिकाले भने प्रभावित क्षेत्रका स्थानीयका सबैजसो माग पूरा गरेको जनाएको छ । जग्गाको क्षतिपूर्तिसम्वन्धि मुआब्जा विवादबाहेक सबैसँग विगतमा भएका सहमतिहरुको पालना भएको काठमाडौं महानगर वातावरण व्यवस्थापन विभागका विभागीय प्रमुख सरिता राइले बताइन् ।
उनका अनुसार, जग्गाको मुआब्जा दिने विषय अझै पनि टुंगिन सकेको छैन् । हाल काठमाडौं उपत्यकामा दैनिक एक हजार ५० टन फोहोर निस्कने गरेको छ । काठमाडौं महानगरबाट मात्रै ५ सय १६ टन फोहोर निस्कने गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका तीन वटै जिल्लाबाट निस्कने फोहोर विर्सजन गर्न २५० वटा ट्रक प्रयोग हुँदै आएका छन् ।