विशेषगरी भगवान नारायणलाई चढाइने सक्खरखण्ड र पिँडालु जस्ता वस्तुको कारोबारमा आज विशेष चहलपहल देखिएको छ।

धार्मिक विश्वासअनुसार, हरिबोधनी एकादशीका दिन भगवान विष्णु (नारायण)लाई कन्दमूल-जस्तै सक्खरखण्ड, पिँडालु र विभिन्न फलफूल चढाएर ब्रतालुहरूले फलाहार गर्ने परम्परा छ। वर्षेनी यो अवसरमा यी वस्तुको उपभोग सामान्य दिनभन्दा धेरै बढ्ने गर्छ।
कालिमाटी फलफूल तथा तरकारी बजारका व्यापारीका अनुसार, एकादशीकै अवसरमा माग बढे पनि वस्तुहरूको मूल्यमा मिश्रित प्रभाव परेको छ।
पिँडालु सस्तो भएको छ। हिजो अर्थात् बिहीबार कालिमाटीमा प्रति किलो न्यूनतम ९० र अधिकतम ११० रुपैयाँमा कारोबार भएको पिँडालु आज न्यूनतममा ९० रुपैयाँमै स्थिर रहँदा अधिकतम मूल्य १० रुपैयाँ घटेर १०० रुपैयाँमा छ।
त्यस्तै सक्खरखण्ड भने महँगो भएको छ। हिजो प्रति किलो न्यूनतम ८० र अधिकतम ९० रुपैयाँ रहेको सक्खरखण्ड आज १० रुपैयाँ बढेर क्रमशः ९० र १०० रुपैयाँ पुगेको छ।
भक्तजनले एकादशीको दिन भगवान विष्णु र तुलसीको पूजा गरी कन्दमूल, फलफूल र मिठाई चढाउने गर्छन्।
हरिबोधनी एकादशीलाई देवउठनी एकादशी पनि भनिन्छ, जसपछि विवाह, ब्रतबन्ध र शुभ कार्यहरूको सुरुवात हुने धार्मिक परम्परा छ।