Ipo.aspx merolagani - नेप्से पुनः २६०० विन्दुभन्दा तल, कारोबार रकम भने बढ्यो

नेप्से पुनः २६०० विन्दुभन्दा तल, कारोबार रकम भने बढ्यो

Nov 06, 2025 03:09 PM Merolagani

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर २६०० विन्दुभन्दा तल झरेको छ। गत मंगलबार २६०० विन्दुभन्दा तल बन्द भएको नेप्से, बुधबार बढेर सो विन्दुभन्दा माथि बन्द भएको थियो। तर, यस दिन नेप्से घटेर पुनः सो विन्दुभन्दा तल बन्द भएको छ।

बिहीबार नेप्से परिसूचक ११.२९ अंक घटेर २५९६.१२ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७६ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ४ अर्ब ६८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको ५० हजार ४३७ पटकको कारोबारमा ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन दरमखोला हाइड्रो इनर्जी र माबिलुङ्ग इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। माबिलुङ्ग गत मंगलबारदेखि कारोबारमा आएको कम्पनी हो भने दरमखोला आजदेखि करोबारमा आएको हो। त्यस्तै, यस दिन उपकार लघुवित्त वित्तीय संस्था र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सम्पदा लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट् शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ९१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको साढे ३० करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने हिमालयन डिष्टिलरीको कारोबार रकम साढे २७ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन घटेका उपसमूहहरुको गिरावटदर पनि १ प्रतिशतभन्दा कम रहेको छ।

comments powered by Disqus