महाधिवेशनमा देशभरबाट निर्वाचित र मनोनित गरी कुल २ हजार २ सय ६२ जना प्रतिनिधि सहभागी छन् । बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् भने महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गरेका छन् ।
नेतृत्व चयन मुख्य आकर्षण रहेको यो महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ । मतदान विद्युतीय मेसिनबाट हुने र मंगलवार मतदान हुने तालिका छ ।
भृकुटीमण्डप परिसरमा बिहानैदेखि प्रतिनिधिहरूको चहलपहल बढेको छ । सुरक्षा व्यवस्था मजबुत पारिएको छ भने स्वयंसेवकहरू सक्रिय छन् । महाधिवेशनले पार्टीको भावी रणनीति, संगठन सुदृढीकरण र नेतृत्व चयनलाई मुख्य एजेण्डा बनाएको छ । यो महाधिवेशन जेनजी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थितिमा आयोजना भएको हो । पार्टीले यसलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पका रूपमा लिएको छ ।