Ipo.aspx merolagani - राजनीतिक विसंगति विरुद्ध एमाले-कांग्रेसमा हुर्किरहेको ‘प्रश्रित पथ’ले जगाएको आशा

राजनीतिक विसंगति विरुद्ध एमाले-कांग्रेसमा हुर्किरहेको ‘प्रश्रित पथ’ले जगाएको आशा

Dec 15, 2025 05:27 PM mero lagani

विघटित प्रतिनिधि सभाको दोस्रो सबैभन्दा ठूलो दल नेकपा एमालेको महाधिवेशन चलिरहँदा यस पटक दुई फरक दृश्यहरु देखियो । 

एकातिर महाधिवेशनबाट पदमा पुग्न, पद हत्याउनको लागि मारामार चलिरहँदा अर्काेतर्फ केही नेताहरुले भने स्वेच्छिक अवकाशको घोषणा गरेर धेरैलाई आश्चर्यमा पारे ।

 

नेकपा एमालेमा मात्र नेपाली राजनीतिमा स्वेच्छिक अवकाशको मान्यता पूर्व शिक्षा मन्त्री मोदनाथ प्रश्रितले भित्रयाएका हुन् । चौथो महाधिवेशनदेखि नै एमालेको स्थायी कमिटी सदस्य रहेका आठौं महाधिवेशनमा ‘म ६५ वर्ष पुगें, अब पदीय राजनीति गर्दिन’ भन्दै घोषितरुपमा राजनीतिबाट अवकाश लिएका प्रश्रित अहिले ८३ वर्ष पुगेका छन् र साहित्यीक तथा सामाजिक गतिविधिमा सक्रिय छन् ।

प्रश्रितभन्दा अघि नेपाली राजनीतिका नेता कार्यकर्ताहरुमा सम्भवतः अवकाश भन्ने शब्द नै थिएन । पार्टी र गुट तथा नेताहरुबाट विरक्तिएका कतिपय नेता कार्यकर्ताहरु राजनीतिबाट पलायन हुन्थे तर उनीहरुले घोषितरुपमा अवकाश लिदैंनथे ।

राजनीतिक नेता कार्यकर्ताले निश्चित समय अवधिपछि राजनीतिबाट अवकाश लिनु पर्छ, तब बल्ल राजनीति र देशले सही बाटो लिन्छ, नयाँ पुस्ताले मौका पाउँछ भन्ने मान्यतासहितको ‘प्रश्रितको पथ’लाई पछि एमाले नेताहरु प्रदिप नेपाल, भरतमोहन अधिकारी, सिद्धिलाल सिंहले पछ्याउँदै ७० वर्ष उमेर पार गरेपछि राजनीतिबाट अवकाश लिएका थिए । त्यहीक्रममा अहिले अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, मुकुन्द न्यौपाने, केशव बडाल र दलबहादुर रानाले त्यसलाई निरन्तरता दिएका छन् ।

एकातर्फ पार्टी नेतृत्वमा रहनको लागि आफू अनुकुल उमेर हद लगाउने र फुकाउने, विधान संशोधन गर्ने केपी ओली प्रवृत्तिबाट एमाले पार्टी ग्रसित रहेको छ । यस्तो अवस्थामा ती नेताहरुको अवकाशसहित नयाँलाई अगाडि बढाउने घोषणाले ‘राजनीति लोभीहरुको अड्डा मात्र होइन, समाज सेवाकै आधार हो’ भन्ने सन्देश प्रवाह गरेको छ । जुन अहिलेको अवस्थामा निकै ठूलो घटना हो भन्दा फरक पर्दैन ।

उता, विघटित प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनको लागि देशभरबाट उम्मेद्वार शिफारिस गरिरहेको छ । र, त्यसक्रममा पटक पटक मन्त्री र सांसद भएका धेरै नेता कार्यकर्ताहरु बीच नै मारामार चलिरहेको बेला केही नेताहरुले भने ‘मेरो भाग पुग्यो, अब नयाँलाई बनाउँ’ भन्दै निर्वाचन नलड्ने घोषणा गरेर नेपाली राजनीतिमा अर्काे आश्चर्य खडा गरेका छन् ।

 

गत आम निर्वाचनमा अत्यधिक मतका साथ प्रतिनिधि सभामा निर्वाचित भएका धादिङका रामनाथ अधिकारी, बाजुराका बद्रि पाण्डे र काठमाडाैं राजन केसीले अब आफूहरु निर्वाचन नलड्ने र सांसद नहुने भन्ने घोषणा गर्नु आफैमा निकै ठूलो घटना मान्नुपर्छ ।

राजनीति र पदलोलुपता एक अर्काेको पर्यायवाची शब्द बनिरहेको बेला देशका प्रमुख दुई राजनीतिक पार्टीहरुमा देखिएको राजनीतिबाट अवकाश लिने र नयाँलाई मौका दिने ‘प्रश्रित प्रवृत्ति’ को सोच र प्रवृत्ति आफैमा अनौठौ मान्नुपर्छ । यो प्रवृत्ति बढेमा ती पार्टीहरुको मात्र होइन, समग्र राजनीतिको सुद्धिकरण हुने र त्यसले देशलाई नै नयाँ बाटोमा लैजानेमा आशावादी हुन सकिने आधार दिएको छ ।

comments powered by Disqus