Ipo.aspx merolagani - ज्योति विकास बैंकका कर्मचारीमाथि गरिएको दुर्व्यवहारप्रति सिबिफिनद्धारा भर्त्सना

ज्योति विकास बैंकका कर्मचारीमाथि गरिएको दुर्व्यवहारप्रति सिबिफिनद्धारा भर्त्सना

Dec 15, 2025 05:25 PM merolagani

सप्तरीको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीहरुप्रति गरिएको  दुर्व्यवहारप्रति बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल(सिबिफिन)ले आपत्ति जनाएको छ ।

परिसंघले एक विज्ञप्ती जारी गर्दै कर्जाको किस्ता लामो समयदेखि नियमित हुन नसकेको उक्त विषयको समाधान गर्न पुगेका बैंकका कर्मचारीलाई ऋणीहरुको जत्थाले लज्जास्पद,घृणित एवं पशुवत व्यवहार गरेकोप्रति घोर भर्त्सना गरेको जनाएको छ ।

उक्त आपराधिक घटनालगत्तै स्थानीय सुरक्षा निकायले जाहेरी बिना नै तत्काल अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा उल्टै पीडितको जाहेरीप्रति बेवास्ता गर्दै दर्ता नगरेको र मिलापत्रका लागि दबाब दिएको कार्यप्रति सिबिफिनले आपत्ति जनाएको छ ।

त्यस्तै, घटनामा संलग्न दोषीलाई कारबाही गर्न समेत माग गरिएको छ । ‘निहीत स्वार्थपूर्तिका लागि बैंक तथा वित्तीय संस्था जस्ता अत्यन्तै संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादति र कर्तव्यनिष्ठ कर्मचारीहरुको जीवनमा गम्भीर मनोवैज्ञानिक असर पार्ने गरी घटाइएका यस्ता बर्बर र आततायी घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारबाही गर्नसमेत नेपाल सरकार,गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसमक्ष जोडदार माग गर्दछौँ ।’ विज्ञप्तीमा भनिएको छ ।

त्यस्तै सिबिफिनले बैंकिङ सेवा प्रवाहमा हुने यस्ता कानुनबाट वर्जित क्रियाकलापहरुले प्रश्रय पाइरहेको प्रति सरकारको ध्यानाकर्षण समेत गराएको छ । ‘लाखौँलाख ग्राहकहरुलाई अन्तर्राष्ट्रियस्तरको बैंकिङ सेवा प्रवाह गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुको साख, गरिमा, विश्वसनीयता वा सम्पत्तिमा हानि नोक्सानी पु¥याउने, बैकिङ्ग व्यवसायमा अवरोध सिर्जना गर्ने, अफवाह फैलाउने, आम जनतामा भ्रम सृजना गर्ने, कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्ने र कर्मचारीहरुलाई भौतिक आक्रमण गर्ने, मानमर्दन गर्ने, वा आफ्नो कर्तव्यपालनमा असुरक्षित एवं असमर्थ बनाउनेलगायत प्रचलित कानूनबाट बर्जित क्रियाकलापहरुले प्रश्रय पाइरहेकोप्रति नेपाल सरकार तथा मातहतका निकायहरुको गम्भीर ध्यानाकर्षण गराउँदछौँ ।’ विज्ञप्तीमा भनिएको छ ।


बैंक तथा वित्तीय संस्थाको कामप्रति कुनै गुनासो भए बैंक तथा वित्तीय संस्थाको माथिल्लो व्यवस्थापना वा नेपाल राष्ट्र बैंकमा रहेको गुनासो सुनुवाइ इकाईसमक्ष समेत उजुरी गर्न सकिने व्यवस्था हुँदाहुँदै पनि कानून आफ्नै हातमा लिएर घटाइने यस प्रकारका निन्दनीय कार्यले बैंकिङ क्षेत्र मात्र नभई समग्र मुलुककै भविष्य अन्धकारतर्फ धकेलिन सक्नेतर्फ सिबिफिनको भनाइ छ । त्यसकारण बैंकिङ सेवा प्रवाहलाई निर्वाध रुपमा सञ्चालन हुने शुरक्षित वातावरण बनाइदिन सरकार र सम्वन्धित निकायलाई समेत सिबिफिनले आग्रह गरेको छ ।

comments powered by Disqus