Ipo.aspx merolagani - सुनमा चीनको ‘खेल’ले विश्व तरंगित, डलरलाई ‘साइज’ मा राखेर रेन्मिन्बीलाई स्थापित गर्न सुनको अत्यधिक भण्डारण

सुनमा चीनको ‘खेल’ले विश्व तरंगित, डलरलाई ‘साइज’ मा राखेर रेन्मिन्बीलाई स्थापित गर्न सुनको अत्यधिक भण्डारण

Jan 22, 2026 05:44 PM mero lagani

सुनको मूल्य विश्वव्यापीरुपमा आकासिइरहेको बेला सन् २०२५ मा पहिलो पटक विश्वका केन्द्रीय बैंकहरूसँग मौजुद सुनको कुल मूल्य अमेरिकी ट्रेजरी बन्डको लगानीभन्दा धेरै भएको छ। 

यस्तो घटना यस अघि विरलै मात्र भएका छन् ।

केन्द्रीय बैंकहरूसँग सुनको भण्डार करिब ४ ट्रिलिअन डलरको पुगेको छ जबकि अमेरिकी ट्रेजरीको मूल्य ३.५ ट्रिलिअन डलर छ।

यूरोलाई पछाडि पार्दै सुन अमेरिकी डलरपछि संसारको दोस्रो सबभन्दा ठूलो ‘अन्तर्राष्ट्रिय रिजर्भ एसेट’ बनेको छ। र, सुनलाई त्यस्तो बनाउन चीनको सबैभन्दा ठूलो हात रहेको देखिएको छ । किनकी अहिले चीनले विश्व बजारबाट सबैभन्दा धेरै सुन खरिद गर्दै भण्डारण गरिरहेको छ ।

सेप्टेम्बर २०२५ सम्म चीनको कुल अन्तर्राष्ट्रिय रिजर्भमा सुनको हिस्सा ७.६५ पुगेको छ । र, त्यसयताका महिनाहरुमा पनि चीनले दिनहुँजसो ठूलो मात्रामा सुन खरिद गरिरहेकोले त्यो तथ्याकं अझ बढेको विश्लेषकहरु बताउँछन् । यद्धपी त्यसको यकिन जानकारी भने सार्वजनिक भएको छैन ।

सुनको भण्डारण बढाउँदा केन्द्रीय बैंकहरूलाई डलर माथिको निर्भरता घटाउने तथा डलरमा आधारित अन्य जोखिम व्यवस्थापनमा पनि सहयोग पुग्ने भएकोले अहिले चीनले व्यापकरुपमा सुन खरिद गरिरहेको हुन सक्ने विश्लेषकहरुको भनाइ छ ।

उनीहरुको विचारमा सुन भण्डारण बढाउनुको पछाडिको खास रणनीतिक कारण पनि छ । त्यो हो— रेन्मिन्बी (चीनको मुद्राको आधिकारिक नाम) को व्यापक अन्तर्राष्ट्रिय प्रयोग बढाउनु । चीनको बढिरहेको सुनको भण्डारलाई विश्वव्यापी वित्तीय व्यवस्थामा रेन्मिन्बीको भूमिका बढाउन निकै ठूलो सहयोगी भइरहेको बताइएको छ ।

यद्यपि रेन्मिन्बीको हालको स्तर अहिले पनि यो मुद्राको पूर्ण अन्तर्राष्ट्रियकरणका लागि सहज नरहेको तर चीनले लगातार प्रयास गरिरहेकोले कुनै न कुनै बेला रेन्मिन्बीले डलरलाई चुनौति दिन सक्ने सम्भावना रहेको बताइन्छ । चीनको बढ्दो सुन भण्डारले रेन्मिन्बी प्रतिको भरोसा बढाएको विश्लेषकहरुले बताएका छन् ।

सन् २०२४ मा भएको ब्रिक्स सम्मेलनमा रुसले ब्रिक्स क्रस बोर्डर पेमेन्ट इनिशटिव (बीसीबीपीआई) को प्रस्ताव राखेको थियो । यो व्यवस्था सदस्य देशहरूलाई आफ्नो राष्ट्रिय मुद्राहरूमा व्यापारको सुविधा दिन र अमेरिकी डलरमा आधारित वित्तीय प्रणालीमाथि निर्भरता घटाउने उद्देश्यले तयार गरिएको हो । ब्रिक्सको त्यस्तो प्रयास प्रति अमेरिका आक्रोसित हुँदै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्सले नयाँ मुद्रा प्रचलनमा ल्याए त्यसको परिणाम गम्भिर हुने चेतावनी दिंदै आइरहेका छन् ।


चीनले भने ब्रिक्सको मुद्रा प्रचलनमा ल्याउने प्रस्तावप्रति कुनै प्रतिकृया दिएको छैन । त्यसपछाडि पनि उसको रणनीतिक योजना रहेको देखिन्छ । किनकी चीन पहिलेदेखि नै रेन्मिन्बीमा आधारित शाङ्घाई गोल्ड एक्सचेन्ज चलाउँछ र हङकङमा एक प्रमाणित बुलिअन भल्ट पनि छ । साथै हङकङमा अन्तर्राष्ट्रिय गोल्ड ट्रेडिङ सेन्टर बनाउने योजना पनि छ । यस्तोमा चीनले ब्रिक्समा आधारित रहेर नयाँ मुद्रा चलाउनु भन्दा रेन्मिन्बीलाई नै विश्व बजारको मुख्य मुद्रा बनाउन जोड दिइरहेको देखिन्छ ।

चीनले अहिलेसम्म सबभन्दा बढी सन् २०१५ मा ७०८.२२ टन सुन खरिद गरेको थियो । अहिले त्यसलाई पनि उछिन्ने सम्भावना रहेको देखिदैंछ । ब्रिक्सबाहिर पनि चीनले रेन्मिन्बीको सीमापार प्रयोग बढाउन आफ्नो वित्तीय व्यवस्था लगातार मजबुत गरिरहेको छ ।

सन् २००९ मा चीनले रेन्मिन्बीका अन्तर्राष्ट्रियकरणका कार्यक्रम सुरु गरे यता पीपल्स बैंक अफ चाइनाले ३२ द्विपक्षीय स्थानीय मुद्रा सटही सम्झौताहरू गरेको छ। यसको कुल मूल्य करिब ४.५ ट्रिलियन युआन छ।

comments powered by Disqus

सस्तो शेयरमा किन झुम्मिए साना लगानीकर्ता ? कारण ५० अर्बको खेल, के हो ५० अर्बको खेल ?

Jan 22, 2026 05:39 PM

सुवास निरौला 

पछिल्लो समय दोस्रो बजारमा एउटा रोचक दृश्य देखिन थालेको छ। लगानीकर्ताहरूको ध्यान ठूला र महँगा कम्पनीभन्दा साना र सस्ता मूल्य भएका कम्पनीहरूतर्फ ह्वात्तै मोडिएको छ।