Ipo.aspx merolagani - फागुन १७ गतेदेखि आईपीओ निष्काशन गर्दै शिखर पावर डेभलपमेन्ट

फागुन १७ गतेदेखि आईपीओ निष्काशन गर्दै शिखर पावर डेभलपमेन्ट

Feb 17, 2026 08:36 AM Merolagani

शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ९ लाख ८० हजार कित्ता साधारण शेयर वातावरणी प्रभाव मूल्याङ्कन प्रतिवेदनमा भएको विवरण तथा विद्युत उत्पादन अनुमतिपत्रको आधारमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि, २ लाख २२ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि र १ लाख ११ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

अब भने कम्पनीले दोस्रो चरणमा कम्पनीका कर्मचारीहरुका लागि ४४ हजार ४०० कित्ता छुट्याई बाँकी रहेको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ कराेड ४२ लाख ६० हजार रुपैयाँबराबरको १८ लाख ४२ हजार ६०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा फागुन २२ गते हुनेछ भने ढिलोमा चैत १ गते हुनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको ४.९६ मेगावाटको भिमखोला साना जलविद्युत आयोजनाको कुल लागत १ अर्ब १९ करोड ९४ लाख ३५ हजार ८३९ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड १८ लाख २१ हजार ७४१ रुपैयाँ ७० पैसा रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २९.०८ वर्ष बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.९२ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १३.६४ वर्ष रहेको छ। सो आयोजनाबाट २०८१ फागुन २५ देखि व्यवसायिक उत्पादन भइरहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारण लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

comments powered by Disqus

सुन र चाँदीको मूल्यमा गिरावट

Feb 16, 2026 11:04 AM

फागुन ४ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा १२५ रुपैयाँले घटेको हो ।