Ipo.aspx merolagani - याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

Apr 29, 2026 10:55 AM Merolagani

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (बैशाख १६ गते), बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने २८ करोड रुपैयाँबराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले ७ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र २ लाख १० हजार कित्ता साधारण शयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले १ लाख ५ हजार कित्ता शेयर सामूहिक लगानी कोष र ४२ हजार कित्ता शेयर कर्मचारीहरुमा बाँडफाँट गरिसकेको छ।

अब भने कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १७ करोड ४३ लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख ४३ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।

आईपीओमा कसरी आवेदन दिने?

कम्पनीले आज (बैशाख १६ गते) देखि आईपीओ निष्काशन गर्न लागेको हो। सो आईपीओमा बैशाख २२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि बैशाख ३० गतेसम्म लम्बिनेछ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य कम्पनी तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

कति कित्ता आवेदन दिने?

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा २१ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा कम्पनीको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार १ लाख ७४ हजार ३०० जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। यसरी बाँडफाँट गर्दा कुनै कित्ता शेष नरहने भएकोले १० कित्ताका लागि आवेदन दिनु उपयुक्त हुनेछ।

मध्यम जोखिम जनाउने रेटिङ्ग

साधारण शेयर निष्काशनको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्गस नेपाल, काठमाडौँबाट रेटिङ्ग गराएको छ।

केयर रेटिङ्गस नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई २०८२ माघ ८ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्ग २०८३ चैत ३० गतेसम्म बहाल रहने छ।

कस्तो कम्पनी हो?

याम्बालिङ्ग हाईड्रोपावर लिमिटेड नेपालको प्रचलित कानुन अन्तर्गत २०६४ मंसिर ५ गते नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेडको रुपमा दर्ता भई २०७८ भदौ १३ गते पब्लिक लिमिटेडमा परिणत भएको थियो। कम्पनीले २०७८ माघ १३ गते कारोवार स्वीकृति प्राप्त गरेको हो।

कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. १०, ज्वागलमा रहेको छ। कम्पनीको जलविद्युत उत्पादन केन्द्र सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिकामा रहेको छ। कम्पनीले सम्बन्धित निकायको स्वीकृति लिई अन्य स्थानमा पनि शाखा तथा सम्पर्क कार्यालय खोल्न वा रजिष्टर्ड कार्यालय सार्न सक्नेछ।

कम्पनीले याम्बालिङ्ग खोलाको पानी उपयोग गरी जुगल गाउँपालिका वडा नं. ३ मा ७.२७ मेगावाटको याम्बालिङ्ग खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। उक्त आयोजनाबाट विद्युत उत्पादनका लागि कम्पनीले २०७३ असोज ९ गते अनुमति प्राप्त गरेको थियो कम्पनीले २०८० फागुन ८ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ। कम्पनीको विद्युत उत्पादन अनुमति २५ वर्ष ६ महिना बाँकी रहेको छ।

२०८१ बैशाख २० र २०८१ असोज ११ गते आएको बाढीका कारण उक्त आयोजनाको हेडवक्र्स, इन्टेक, डिस्यान्डर, पावरहाउस तथा पहुँच मार्गमा क्षति पु¥याएको थियो। जसको मर्मत तथा पुनर्निर्माण खर्च क्रमशः १ करोड ३० लाख ७७ हजार १०५ रुपैयाँ र १ करोड ५८ लाख ६८ हजार २८४ रुपैयाँ रहेको छ। खर्च भएको रकममध्ये ८१ लाख रुपैयाँ र ७२ लाख रुपैयाँ एनएलजी इन्स्योरेन्सबाट प्राप्त भएको कम्पनीले बताएको छ। उत्पादन अवरुद्ध हुँदा विद्युत बिक्रीबाट हुने आम्दानी समेत असर परेको कम्पनीको भनाइ छ। संरचना पुनः निर्माण तथा सञ्चालन ढिलाइका कारण ब्याज, बीमा प्रिमियम र अन्य वित्तीय लागत समेत असर परेको छ।

आयोजनाको कुल लागत १ अर्ब ८७ करोड ११ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २५ करोड ७४ लाख रुपैयाँ रहेको छ। कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि १०.७६ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १९.८७ वर्ष रहेको छ।

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीको प्रवन्ध–पत्र तथा नियमावलीमा व्यवस्था भए अनुसार जारी पुँजीको ४०% अर्थात २८ करोड रुपैयाँबराबर प्रति शेयर अंकित मूल्य १०० रुपैयाँको २८ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गरेको हो। निष्काशनबाट संकलित रकम कर्जा भुक्तानीको लागि प्रयोग गर्ने मुख्य उद्देश्य रहेको छ।

आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?

आईपीओ निष्काशनबाट प्राप्त हुने पूँजी रकमलाई बैंकबाट लिईएको कर्जा रकमको भुक्तानी गर्नमा प्रयोग गरिनेछ। अर्थात कम्पनीले २८ करोड रुपैयाँ एनएमबि बैंकलाई भुक्तानी गर्नेछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ८ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८ पैसा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा कम्पनीको सञ्चित नाफा २ करोड ५५ लाख ६१ हजार रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको वास्तविक सञ्चित नाफा ७६ लाख ३४ हजार रुपैयाँ थियो। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ८२ पैसा रहेको थियो भने प्रतिशेयर आम्दानी १ रुपैयाँ ८२ पैसा थियो।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ५ लाख ५३ हजार रुपैयाँ सञ्चित मुनाफा कमाउने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ८ पैसा र प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ८ पैसा पुग्ने प्रक्षेपण गरिएको छ।

सञ्चालक समितिको संरचना

कम्पनीको नियमावलीको नियम २७ मा भएको व्यवस्था अनुसार सात जना सञ्चालक सदस्य रहेको सञ्चालक समिति रहने व्यवस्था छ। जसमध्ये संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना रहनेछन् भने सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना र १ जना स्वतन्त्र सञ्चालक रहनेछन्।

हाल कम्पनीमा ६ जना सञ्चालकहरु छन्। कम्पनीको सञ्चालक समितिको अध्यक्षमा इन्द्रमाया तामाङ्ग (लिनाबल) रहेका छन्। त्यस्तै, कम्पनीको अन्य सञ्चालकमा रोशन शाह, नर हाङ्ग राई, उद्धिम बहादुर देवकोटा र समय कर्माचार्य रहेका छ भने स्वतन्त्र सञ्चालकमा शशि राज श्रेष्ठ रहेका छन्।

भावी योजना तथा रणनीति

कम्पनीको मुख्य उद्देश्य जलविद्युत आयोजनाहरुको अध्ययन, आयोजना निर्माण, विद्युत वितरण, अन्य जलविद्युत आयोजनाहरुमा लगानी र जलविद्युत कम्पनीहरुको धितोपत्रमा लगानी गरी नेपालको जलविद्युत विकासमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्नु रहेको छ।

कम्पनीको अन्य उद्देश्यमा नयाँ जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन गरी अन्य जलविद्युत आयोजनाहरु समेत निर्माण गर्ने र सरकारी निकायहरुसँग भएको सम्झौता बमोजिम देशमा रहेको जलश्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन गर्ने रहेको छ।

comments powered by Disqus

‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’

May 17, 2026 02:36 PM

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।