Ipo.aspx merolagani - स्नो रिभर्सको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

स्नो रिभर्सको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

May 12, 2026 Merolagani

स्नो रिभर्स लिमिटेडले आज (बैशाख २९ गते), मंगलबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १८ करोड ७५ लाख रुपैयाँबराबरको १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले ९ लाख ३७ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र ९३ हजार ७५० कित्ता साधारण शयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले ४६ हजार ८७५ कित्ता शेयर सामूहिक लगानी कोष र १८ हजार ७५० कित्ता शेयर कर्मचारीहरुमा बाँडफाँट गरिसकेको छ।

अब भने कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ७८ हजार १२५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो।

आईपीओमा कसरी आवेदन दिने?

कम्पनीले बैशाख २९ गतेदेखि आईपीओ निष्काशन गरेको हो। सो आईपीओमा जेठ १ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि जेठ १२ गतेसम्म लम्बिनेछ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य कम्पनी तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

कति कित्ता आवेदन दिने?

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा कम्पनीको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार ७७ हजार ८१२ जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। यसरी बाँडफाँट गर्दा ५ कित्ता शेष रहन्छ जुन सोही लगानीकर्ताहरुमाझ वितरण गरिनेछ। यस अनुसार सो थप १ कित्ता शेयर प्राप्त गर्न लगानीकर्ताले २० कित्ताका लागि आवेदन दिनु पर्नेछ।

मध्यम जोखिम जनाउने रेटिङ्ग

साधारण शेयर निष्काशनको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल, काठमाडौँबाट रेटिङ्ग गराएको छ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्सल प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

इक्रा नेपालले कम्पनीलाई २०८२ असोज ३१ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्ग २०८३ असोज ३० गतेसम्म बहाल रहने छ।

कस्तो कम्पनी हो?

यस कम्पनी १३.५ मेगावाट क्षमताको “सुपर काबेली खोला ए जलविद्युत आयोजना” निर्माण तथा सञ्चालन गर्ने उद्देश्यका साथ कम्पनी ऐन, २०६३ बमोजिम २०७१ भदौ ११ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई २०७९ असार ३ गते प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा परिणत भई कारोबार सञ्चालन गरी रहेको छ।

कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका – ३०, ज्ञानेश्वर, काठमाडौँमा रहेको छ। त्यस्तै, कोशी प्रदेश, ताप्लेजुङ्ग जिल्ला, सिरीजङ्घा गाउँपालिका वडा नं.–८, याम्फूदिनमा कम्पनीको आयोजनास्थल रहेको छ। आवश्यकता अनुसार सम्बन्धित कार्यालयको स्वीकृति लिई कम्पनीको रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्न र नेपाल भित्र वा विदेशमा समेत शाखा कार्यालय खोल्न सकिनेछ।

कम्पनीले ताप्लेजुङ्ग जिल्ला, सिरीजङ्घा गाउँपालिका वडा नं.–८, याम्फूदिनमा भई बग्ने काबेली खोला र आम्जी खोलाको पानीको बहाव सदुपयोग हुने गरी १३.५ मेगावाटको सुपर काबेली खोला ए जलविद्युत आयोजना निर्माण गरि २०८१ पुस ५ गतेदेखि विद्युतको व्यापारिक उत्पादन शुरु गरिरहेको छ। आयोजनाको निर्माण, उत्पादन तथा सञ्चालन गर्न नेपाल सरकार उर्जा मन्त्रालयबाट २०७८ कात्तिक १४ गते कम्पनीले अनुमति प्राप्त गरेको हो। सो आयोजनाको विद्युत अनुमतिपत्र ३१ वर्ष २ महिना बाँकी रहेको छ।

आयोजनाको कुल लागत २ अर्ब ७१ करोड ९० लाख ८५ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड १४ लाख १४ हजार रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.१७ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १५.७७ वर्ष रहेको छ।

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीकोे प्रवन्ध–पत्रमा जारी पूँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा बिक्री गर्नुपर्ने प्रावधान रहेको र कम्पनीको शेयर पूँजी सर्वसाधारणहरुलाई बिक्री वितरण गरी चुक्ता पूँजी ९३ करोड ७५ लाख रुपैयाँ पुर्‍याउन कम्पनीले आईपीओ जारी गरेको हो। त्यस्तै, कम्पनीले लिएको बैंक कर्जा रकम चुक्ता भुक्तानी गर्न, वित्तीय एवम् आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न र प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख गरिएका उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पर्ने पूँजी संकलन गर्न कम्पनीले आईपीओ निष्काशन गरेको हो।

आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?

सर्वसाधारणमा शेयर निष्काशन गरि प्राप्त भएको १८ करोड ७५ लाख रुपैयाँ कम्पनीद्वारा प्रवद्र्धित १३.५ मेगावाट जडित क्षमताको सुपर काबेली खोला ए जलविद्युत आयोजनाको बैंक कर्जा रकम चुक्ता भुक्तानी गर्न प्रयोग गरिनेछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ४६ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९८ पैसा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा कम्पनीको सञ्चित नाफा ५ करोड ५९ लाख ७८ हजार रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको वास्तविक सञ्चित नाफा ३ करोड ७९ लाख २२ हजार रुपैयाँ थियो। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ६ पैसा रहेको थियो भने प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९८ पैसा थियो।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६ करोड ६९ लाख ८२ हजार रुपैयाँ सञ्चित मुनाफा कमाउने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ १४ पैसा पुग्ने प्रक्षेपण गरिएको छ।

सञ्चालक समितिको संरचना

कम्पनीको नियमावलीको नियम २८, २९ तथा ३० बमोजिम कम्पनीमा पाँच जना सञ्चालक सदस्य रहेको सञ्चालक समिति रहने व्यवस्था छ। जसमध्ये संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना रहनेछन् भने सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना र १ जना स्वतन्त्र सञ्चालक रहनेछन्।

हाल कम्पनीमा ४ जना सञ्चालकहरु छन्। कम्पनीको सञ्चालक समितिको अध्यक्षमा मोहन विक्रम कार्की रहेका छन्। त्यस्तै, कम्पनीको अन्य सञ्चालकमा उत्तम पौडेल र दिपा राना मगर रहेका छन् भने स्वतन्त्र सञ्चालकमा प्रकाश श्रेष्ठ रहेका छन्।

भावी योजना तथा रणनीति

कम्पनीको मुख्य उद्देश्य नेपालको जलविद्युत विकासमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्नु रहेको छ। त्यस्तै, कम्पनीले सरकारी निकायहरुसँग भएको सम्झौता बमोजिम देशमा रहेको जलश्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन गर्ने र सो उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरी देशलाई विद्युतमा आत्मनिर्भर बनाई देशलाई सम्वृद्ध बनाउन सहयोग गर्ने र कम्पनीको प्रबन्धपत्रमा उल्लेख भए बमोजिमका उद्देश्यहरु प्राप्तिका लागि व्यावसायिक रूपमा सम्भाव्य देखिएको जलविद्युत आयोजनाहरुमा लगानी गर्ने भावी योजना रहेको छ।

comments powered by Disqus

हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

Jun 04, 2026 05:25 AM

नेपालका हाइड्रोपावर कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा समग्र व्यवसायमा ठूलो सुधार गर्दै बलियो वित्तीय नतीजा प्रस्तुत गरेका छन्।