Ipo.aspx merolagani - डिस्काउन्ट भर्सेज डिमान्डसमा शेयर बजारको मनोविज्ञान हाबी

डिस्काउन्ट भर्सेज डिमान्डसमा शेयर बजारको मनोविज्ञान हाबी

Jun 22, 2026 05:46 PM Merolagani

नेपालको शेयर बजार विगत लामो समयदेखि 'साइडवेज' मा चलेको छ। बजारमा वृद्धि भएको छैन भने ठूलो अंकको गिरावट पनि भएको छैन।

 पछिल्लो १० दिनको कारोबारलाई हेर्दा पनि बजारमा एकल अंकको मात्रै उतारचढाव भएको देखिन्छ। बजारलाई जबरजस्ती २७ सय भन्दा माथिल्लो विन्दुमा टिकाइराख्न नेप्से सूचकले संघर्ष गरिरहेको देखिन्छ। अहिलेको अवस्थामा लगानीकर्ताहरू सक्रिय रूपमा कारोबारमा सहभागी नहुँदा पनि बजार सुस्त भएको हो।

त्यसैगरी, व्यवसायीहरूलाई धरपकड गर्ने क्रमले दोस्रो बजारका लगानीकर्ताहरू निरुत्साहित हुने गरेको व्याख्या गरिने गरिएको छ। पछिल्लो समय सरकारले दीपक भट्ट र शंकर ग्रुपसहित करीब १५० व्यवसायीविरुद्ध सम्पत्ति शुद्धीकरण र विभिन्न वित्तीय कसुरमा मुद्दा दायर गरेपछि १८ वटा ठूला कम्पनीको एक खर्बभन्दा बढीको क्रेडिट रेटिङ जोखिममा परेको छ। इन्फोमेरिक्सले कम्पनीका मुख्य सञ्चालकहरू कानुनी दायरामा तानिएसँगै ती संस्थाहरूको संस्थागत सुशासन, वित्तीय साख र व्यवस्थापनको निरन्तरतामा गम्भीर जोखिम औंल्याएको छ। प्रतिष्ठित व्यावसायिक घराना र ठूला कम्पनीहरू नै गम्भीर कानुनी विवादमा मुछिएपछि पूँजी बजारमा अन्योल र त्रासको वातावरण सिर्जना भएको छ। सोही कारण बजारमा ठूलो पैसा आउन नसकेको लगानीकर्ताहरूको बुझाइ छ।

अर्कोतर्फ, बजार निरन्तर रूपमा सुस्त गतिमा रहेपछि लगानीकर्ताहरू अझै सस्तो दरमा शेयर पर्खेर बसेको बुझाइ छ। अहिलेको बजारमा व्यवसायीहरूलाई धरपकडले के प्रभाव पारेको छ? पैसा हुनेहरू अझै सस्तोमा पाउन सकिन्छ भन्ने सोचले 'पर्ख र हेर' को अवस्थामा रहेको विश्लेषक महेश रिजालले बताए। ‘बजार लामो समयदेखि साइडवेजमा छ। यो अवस्थामा लगानीकर्ताहरू 'डिस्क्याउन्ट' मूल्यको पर्खाइमा रहेका छन्। यसले गर्दा पनि बजारले अपेक्षा गरे अनुसार गति लिन सकेको छैन,’ रिजालले मेरो लगानीसँग भने।

अहिलेको बजारको अवस्थालाई हेर्ने हो भने बाह्य वातावरण निकै सकारात्मक बन्दै गरेको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले देखाउँछ। बैंकहरूमा पर्याप्त तरलता छ। तर, कर्जा प्रवाह हुन नसकेको बैंकहरूको भनाइ छ। निरन्तर घटेको ब्याजदरले समेत कर्जा परिचालनलाई बढाउन सकेको छैन। यस्तो हुनमा लगानीकर्ताको आत्मविश्वासमा आएको ह्रास नै मुख्य कारण हो। बजार धेरै समयदेखि नबढेका कारण लगानीकर्ताहरूमा बजार अझै घट्छ भन्ने त्रास भन्दा पनि अझै न्यून मूल्यमा शेयर पाइन्छ भन्ने ‘माइन्डसेट’ रहेको रिजालको बुझाइ छ।

त्यसैगरी, लगानीकर्ता कृष्ण रेग्मीले पनि बजार घटेर भन्दा पनि आफूले चाहेको मूल्यको पर्खाइमा रहेको बताए। अहिले शेयर खरिद गर्न हतार गरिँदैन। आफ्नो मूल्यमा आएपछि मात्र बजार प्रवेश गर्ने हो, उनले भने। पछिल्लो समय शेयर बजारमा लगानीकर्ताको उत्साह कम देखिनुको कारण अवसरको कमी मात्र नभई मानसिक अन्योल पनि भएको रेग्मीको भनाइ छ। बढ्न नसकेको बजारमा निराश हुनु भन्दा अझै राम्रो अवसरको पर्खाइ गर्नु उचित भएको उनी बताउँछन्।

लगानीकर्ता बजारमा टिकाइराख्ने आधारहरू:

लामो समयको साइडवेजले शेयर बजारबाट लगानीकर्ताहरूले लाभ लिन सकिरहेका छैनन्। यस्तो अवस्थामा लगानीकर्तालाई बजारमा टिकाइराख्ने सबैभन्दा उत्तम अस्त्र भनेको नै भविष्यप्रतिको आशा भएको बजार विश्लेषक रामहरी नेपालले बताए। ब्याजदर घट्दो क्रममा रहनु, बैंकिङ प्रणालीमा तरलता सुधारिनु, अर्थतन्त्र बिस्तारै चलायमान हुन थाल्नु तथा सूचीकृत कम्पनीहरूको नाफामा सुधार आउन सक्ने अपेक्षा बजारको छ।

अहिले लगानीकर्ताहरू तत्काल प्रतिफलसँगै दीर्घकालीन अवसरको पनि खोजीमा रहेको नेपालको बुझाइ छ। बजारमा ठूलो वृद्धि आउनुअघि लामो समयसम्म मूल्य स्थिर रहने इतिहासलाई आधार मान्दै आएको पाइन्छ। लगानीकर्ताले अहिलेको अवस्थालाई ‘एकुमुलेसन फेज’ को रूपमा समेत व्याख्या गरिरहेका छन्। घरजग्गा कारोबार सुस्त हुँदा र अन्य क्षेत्रमा अपेक्षित प्रतिफल नदेखिँदा शेयर बजार अझै सम्भावनायुक्त क्षेत्रका रूपमा हेरिएको छ। केही लगानीकर्ताले लाभांश प्राप्त गर्ने उद्देश्यले पनि आफ्नो लगानी निरन्तर कायम राखेका छन्।

अर्कोतर्फ, विगतमा उच्च मूल्यमा शेयर खरिद गरेका धेरै लगानीकर्ता घाटा बोकिरहेका कारण बजारबाट बाहिरिन चाहँदैनन्। ‘एकपटक पुरानो मूल्यमा पुगेपछि बेचौँला’ भन्ने सोचले लगानीकर्ताहरूलाई बजारमा टिकाइराखेको छ। साथै, कम्पनीहरूले वितरण गर्ने लाभांशले पनि लगानीकर्ताहरूलाई बजारमा टिकाइराख्नका लागि मुख्य भूमिका निर्वाह गर्ने लगानीकर्ताहरूको बुझाइ छ।

comments powered by Disqus