Ipo.aspx merolagani - जलविद्युतमा ‘हाइड्रोलोजी पेनाल्टी’ को बोझः निजी क्षेत्रको दबाबले साना आयोजनामा हट्यो, ठूलामा नीतिगत अन्योलता कायमै

जलविद्युतमा ‘हाइड्रोलोजी पेनाल्टी’ को बोझः निजी क्षेत्रको दबाबले साना आयोजनामा हट्यो, ठूलामा नीतिगत अन्योलता कायमै

Jun 28, 2026 03:22 PM Merolagani

हरिप्रसाद शर्मा
लामो समयदेखि नेपाल निजी जलविद्युत प्रवर्द्धकहरुले उठाउँदै आएको ‘हाइड्रोलोजी पेनाल्टी’ खारेजीको मुद्दा फेरि चर्चामा आएको छ ।

जलवायु परिवर्तनका कारण खोलानालामा पानीको बहाव अनपेक्षित रुपमा घट्दा आयोजनाहरुले लक्ष्यअनुसार विद्युत् उत्पादन गर्न नसक्दा जरिवाना तिर्नुपर्ने व्यवस्था खारेज गर्नुपर्ने निजी क्षेत्रका ऊर्जा व्यवसायीको विगत देखिकै माग छ ।

विगतमा ऊर्जा व्यवसायीहरुको दबाबमा परेर सरकारले दश मेगावाटसम्मका साना जलविद्युत् आयोजनाका हकमा यो व्यवस्था खारेज गरे पनि अन्यको हकमा भने समस्या ज्यूँका त्यूँ देखिएको हो । हिउँद र सुख्खायामका बेला खोलानालाहरुमा पानीको बहाब घट्ने हुन्छ ।

जसका कारण, प्रवर्द्धकहरुले विद्युत् खरिद बिक्री सम्झौता(पीपीए) गर्दा नै लक्ष्यअनुसार विद्युत् उत्पादन नगरे पेनाल्टी लाग्ने गरी सम्झौता गरिएको हुन्छ । यो व्यवस्थालाई निजी क्षेत्रका ऊर्जा व्यवसायीहरुले ‘अन्यायपूर्ण’ कदमको संज्ञा दिएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले यो व्यवस्थाले जलविद्युतमा लगानीको वातावरण बिगारेको दाबी गरेको छ । इप्पानका अध्यक्ष मोहन डाँगीका अनुसार, प्रकृतिमा आधारित स्रोत (पानी) को उपलब्धतामा प्रवर्द्धकको कुनै भूमिका नहुने हुँदा सजाय भोग्नु तर्कसंगत छैन ।

‘जलवायु परिवर्तन हाम्रो नियन्त्रणमा छैन । आकाशबाट पानी नपरेर खोलामा पानी घट्यो भने त्यसमा व्यवसायी वा प्रवर्द्धकले किन जरिवाना तिर्ने ?’ अध्यक्ष डाँगीले प्रश्न गर्दै भने, ‘हामीले १० मेगावाटसम्मका आयोजनामा यो व्यवस्था हटाउन सफल भएका छौं । अब सबै क्षमताका आयोजनामा यो विभेदकारी व्यवस्था हटाउनुपर्छ भनेर लागिरहेका छौं ।’

के हो हाइड्रोलोजी पेनाल्टी ?

नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) गर्दा प्रवर्द्धकहरुले वर्षभरि उपलब्ध गराउने ऊर्जाको परिमाण घोषणा गर्नुपर्छ । यदि कुनै वर्ष खोलामा पानी कम भएर घोषित ऊर्जा उपलब्ध गराउन नसकेमा प्राधिकरणले प्रवर्द्धकलाई जरिवाना गराउँछ, जसलाई ‘हाइड्रोलोजी पेनाल्टी’ भनिन्छ । तर, खोलामा पानी बढी भएर उत्पादित बिजुली प्राधिकरणले लिन नसकेमा भने उसले क्षतिपूर्ति तिर्नु नपर्ने ’टेक अर पे’ को सर्त कतिपय अवस्थामा एकपक्षीय भएको व्यवसायीको गुनासो छ ।

नीतिगत अन्योलता कायमै

दश मेगावाटभन्दा माथिका ठूला जलविद्युत् आयोजनामा हाइड्रोलोजिक पेनाल्टीको व्यवस्था हटाउने वा नहटाउने भन्ने ठोस् निर्णय सरकारले अहिलेसम्म गर्न सकेको छैन् । खासगरी, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले पनि यो विषयमा ठोस निर्णय नभएको बताउँदै आएको छ । यद्यपि, मन्त्रालयका उच्च अधिकारीहरुका अनुसार यसबारे आन्तरिक छलफल र अध्ययन भइरहेको छ । मन्त्रालयले नयाँ बन्न लागेको ’विद्युत विधेयक’ मार्फत केही नीतिगत सुधार गर्ने आश्वासन भने दिएको छ ।

ऊर्जा मन्त्रालयका एक अधिकारीले भने, ‘निजी क्षेत्रका गुनासोप्रति मन्त्रालय सकारात्मक छ । साना आयोजनामा यो हटिसकेको छ, ठूला आयोजनाको हकमा नेपाल विद्युत प्राधिकरणको वित्तीय दायित्व र प्रणाली सन्तुलनलाई हेरेर मात्रै निर्णय लिनुपर्ने हुन्छ ।’

मन्त्रालयले पछिल्लो समय ऊर्जा दशक (२०८१-२०९१) को कार्ययोजना ल्याएको छ, जसमा लगानीकर्तालाई प्रोत्साहित गर्ने भनिए पनि पेनाल्टी खारेजीबारे स्पष्ट कार्यदिशा अझै सार्वजनिक भइसकेको छैन ।

विद्युत् प्राधिकरण भिन्न मत

यस विषयमा विद्युत प्राधिकरणको धारणा भने अलि भिन्न छ । प्राधिकरणले प्रणाली व्यवस्थापन (लोड डिस्प्याच) को लागि आयोजनाहरुको ऊर्जा उत्पादनको प्रक्षेपण विश्वसनीय हुनुपर्ने तर्क गर्दै आएको छ । प्राधिकरणका अधिकारीहरुका अनुसार, पेनाल्टी पूर्णरुपमा हटाउँदा प्रवर्द्धकहरुले पीपीएका बेला बढी ऊर्जा देखाउने र वास्तविक उत्पादनमा गैरजिम्मेवार बन्ने जोखिम रहन्छ । यद्यपि, जलवायु परिवर्तनका कारण सिर्जित समस्यामा व्यावहारिक समाधान खोज्न प्राधिकरण लचिलो हुन तयार छ ।

कहाँ अड्किएको छ गाँठो ?

खासगरी, सरकारले १० मेगावाटसम्मका आयोजनालाई यो व्यवस्थाबाट मुक्ति दिए पनि त्योभन्दा माथिका आयोजनामा अझै यो व्यवस्था हटेको छैन् । यो व्यवस्थाका कारण आयोजनाको आम्दानी घट्दा बैंकको ब्याज र किस्ता तिर्न समस्या परेको र आयोजनाहरु टाट पल्टिने अवस्थामा पुगेको निजी क्षेत्रको दाबी छ । हाल संसदमा विचाराधीन विद्युत विधेयकमा यस्ता जोखिमहरुलाई ‘फोर्स मेजर’ अन्तर्गत राख्न व्यवसायीले लबिइङ गरिरहेका छन् ।

नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाउने लक्ष्य लिएको सरकारले प्रकृतिप्रदत्त जोखिमको भार निजी क्षेत्रमा मात्र थोपर्नु न्यायपूर्ण देखिँदैन । १० मेगावाटसम्म सफल भइसकेको यो प्रयोगलाई सबै आयोजनामा लागू गर्न मन्त्रालय र प्राधिकरणले नीतिगत साहस देखाउनुपर्ने माग ऊर्जा क्षेत्रमा टड्कारो बनेको छ ।

जलविद्युतमा स्वदेशी र विदेशी लगानी आकर्षित गर्न पनि ’हाइड्रोलोजी पेनाल्टी’ जस्ता व्यवस्थाहरुको पुनरावलोकन अनिवार्य देखिएको छ ।

comments powered by Disqus

विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।