Ipo.aspx merolagani - राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

Jul 01, 2026 05:58 PM Merolagani

नेपाल राष्ट्र बैंकले मुलुकभरका वित्तीय सेवाको अवस्था मापन गर्ने उद्देश्यले ’वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३’ सञ्चालन गर्न लागेको छ। यस सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन तथा समग्र वित्तीय सेवाप्रतिको ग्राहकको धारणा र अनुभव संकलन गरिनेछ।

राष्ट्र बैंकले ७७ वटै जिल्लाका सबै प्रकारका स्थानीय तह समेटेर ’र्यान्डम स्याम्पलिङ’ विधिबाट कुल १० हजार ४०५ वटा नमुना संकलन गर्ने योजना बनाएको छ। सर्वेक्षणबाट प्राप्त हुने नतिजाले वित्तीय ग्राहक संरक्षण र वित्तीय सेवाको गुणस्तर अभिवृद्धि सम्बन्धी नीति, कार्यक्रम तथा नियामक व्यवस्थामा सुधार ल्याउन सहयोग पुग्ने बैंकको अपेक्षा छ।

सर्वेक्षणमा सहभागीहरूको सहभागिता पूर्णतया स्वेच्छिक रहनेछ र सहभागीहरूले आफूलाई असहज लागेका प्रश्नहरूको उत्तर दिन अस्वीकार गर्न सक्नेछन्। संकलित विवरण तथा जानकारीहरू ‘तथ्यांक ऐन, २०७९’ अनुसार गोप्य राखिने र केवल सामूहिक रूपमा तथ्यांकीय प्रयोजनका लागि मात्र प्रयोग गरिने बैंकले जनाएको छ। सर्वेक्षणलाई प्रभावकारी र विश्वसनीय बनाउन सम्बन्धित सबै सरोकारवाला निकाय तथा सर्वसाधारणलाई निष्पक्ष जानकारी उपलब्ध गराई सहयोग गर्न केन्द्रीय बै‌ंकले आग्रह गरेकाे छ।

comments powered by Disqus

के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।