Ipo.aspx merolagani - स्थानीय र वैदेशिक कोटा सकिँदा पनि बेनी हाइड्रोको सर्वसाधारण आईपीओ किन रोकियो?

स्थानीय र वैदेशिक कोटा सकिँदा पनि बेनी हाइड्रोको सर्वसाधारण आईपीओ किन रोकियो?

Jul 02, 2026 05:30 PM Merolagani

बाबुकृष्ण महर्जन

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओ निष्कासन प्रक्रिया यतिबेला नेपालको धितोपत्र बजारमा विशेष चर्चाको विषय बनेको छ। आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि तोकिएको कोटामा सेयर बाँडफाँड गरिसकेको कम्पनीले सर्वसाधारणका लागि भने अपेक्षित समयमा आईपीओ जारी गर्न नसक्दा लगानीकर्तामा अन्यौलता छाएको हो।

धितोपत्र बोर्डका पूर्व अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिनु अगाडि स्वीकृति पाएका कम्पनीहरूमध्ये हालसम्म निष्कासन हुन बाँकी रहेको एकमात्र कम्पनीको रूपमा बेनी हाइड्रोपावर रहेको छ। कम्पनीले धितोपत्र बोर्डबाट २०८२ सालको माघ २९ गते नै आईपीओ निष्कासनको औपचारिक अनुमति प्राप्त गरेको थियो। धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका बमोजिम अनुमति पाएको दुई महिनाभित्रै सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ, तर तोकिएको समयसीमा भित्र कम्पनीले सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्न सकेन।

कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका प्रवक्ता सृष्टि महर्जनले ढिलाइको मुख्य कारणबारे जानकारी दिँदै आन्तरिक व्यवस्थापनमा आएको फेरबदललाई औंल्याएकी छन। आईपीओ प्रक्रिया अघि बढिरहेकै समयमा कम्पनीको सञ्चालक समितिका एक सञ्चालकको राजीनामा र नयाँ नियुक्तिका कारण संरचनात्मक परिवर्तन हुन पुग्यो। सञ्चालक समितिको संरचनामा फेरबदल भएपछि धितोपत्र बोर्डमा त्यसको जानकारी गराई पहिले स्वीकृत भएको विवरणपत्रमा परिमार्जन गर्नुपर्ने कानुनी बाध्यात्मक अवस्था सिर्जना भयो। बोर्डबाट पुनः स्वीकृति लिने प्रक्रियागत जटिलताका कारण तोकिएको दुई महिनाको समयसीमाभित्र काम सम्पन्न गर्न कठिन भएपछि सर्वसाधारणमा कम्पनीको आइपीओ निष्काशन प्रक्रियामा व्यवधान आएको उनले बताइन । यही बीचमा सेबोनमा अध्यक्ष पद समेत खाली हुँदा पनि यसले आइपीओ निष्काशन प्रक्रिया थप लम्बिएको हो ।

विश्लेषकहरूका अनुसार पछिल्लो समय नियामक निकायले विवरणपत्रको गुणस्तर, सञ्चालकहरूको योग्यता र जिम्मेवारीमा निकै कडाइ गरेको छ। बेनी हाइड्रोपावरको हकमा नियामकको यही कडाइ र कम्पनीको आन्तरिक व्यवस्थापनमा आएको संयोगका कारण प्रक्रिया लम्बिएको हो। यो ढिलाइ कम्पनीको वित्तीय स्वास्थ्यभन्दा पनि विशुद्ध प्रक्रियागत अनुपालनासँग सम्बन्धित रहेको देखिन्छ।

हाल एनएमबी क्यापिटलले परिमार्जित विवरणसहित बोर्डबाट अन्तिम स्वीकृतिको प्रक्रिया अघि बढाइरहेको छ। नियामकको पछिल्लो कडाइले प्रक्रियामा केही समय लिए पनि, यसले भविष्यमा हुने निष्कासनको पारदर्शिता र लगानीकर्ताको सुरक्षालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। सर्वसाधारण लगानीकर्ताले अब एनएमबी क्यापिटलले बोर्डबाट कति छिटो अन्तिम स्वीकृति ल्याउँछ, त्यही मितिका आधारमा आईपीओको नयाँ तालिका थाहा पाउनेछन्।

स्थानीय र वैदेशिक रोजगारी कोटातर्फको प्रक्रिया सफलतापूर्वक सम्पन्न गरिसकेको र बाँडफाँडसमेत भइसकेको अवस्थामा, अबको ध्यान सर्वसाधारणको निष्कासन मिति र नियामकको ‘ग्रिन सिग्नल’ मा केन्द्रित भएको छ। प्रक्रियागत जटिलता सुल्झिएसँगै कम्पनी छिट्टै सर्वसाधारणका लागि आईपीओ निष्कासनको मिति तय गर्ने तयारीमा रहेको छ। सेबोनमा नयाँ अध्यक्षको नियुक्ति समेत भइसकेको हुँदा अब चाँडै नै सञ्चालकहरुको अद्यावधिक विवरणसहित विवरणपत्र स्वीकृत गरेर आइपीओ निष्काशन गर्ने प्रक्रियामा रहेको प्रवक्ता महर्जनले जानकारी दिए ।

comments powered by Disqus

विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।