Ipo.aspx merolagani - दोर्दी खोला जलविद्युत् कम्पनीः जलदेखि सौर्य ऊर्जासम्म मार्दैछ फड्को, यस्तो छ कम्पनीको भावी मार्गचित्र

दोर्दी खोला जलविद्युत् कम्पनीः जलदेखि सौर्य ऊर्जासम्म मार्दैछ फड्को, यस्तो छ कम्पनीको भावी मार्गचित्र

Jul 19, 2026 11:04 AM Merolagani

हरिप्रसाद शर्मा

लमजुङको पहाडी खोँचबाट बग्ने दोर्दी खोलाको कलकल आवाजले अहिले केवल पहाडका कन्दरा मात्र गुञ्जायमान बनाउँदैन, यसले त हजारौँ घरमा उज्यालोको आशा पनि सञ्चार गरिरहेको छ । 

झन्डै १५ वर्षअघि एउटा सानो सपनाको रूपमा स्थापना भएको दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेड (DORDI) अहिले नेपालको निजी क्षेत्रको ऊर्जा विकासमा एउटा दरिलो खम्बा बनेर उभिइरहेको छ । कम्पनी जलविद्युत् (पानी)मात्र सीमित छैन्, निकट भविष्यमा यसले विशाल सौर्य(घाम)को ऊर्जामार्फत आफुलाई अब्बल संस्थाका रुपमा अघि बढाउँदै गइरहेको छ ।

स्थापना र विकास

दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेड (डीकेजीसीएल) को स्थापना २०६६ साल फागुन १४ गते पब्लिक लिमिटेड कम्पनीको रूपमा भएको थियो । कम्पनीको मुख्य उद्देश्य देशको जलस्रोतको उपयोग गरी दिगो ऊर्जा उत्पादन गर्नु र शेयरधनीहरूलाई उचित प्रतिफल दिनु हो ।

कम्पनीको पहिलो र मुख्य गौरवको आयोजना दोर्दी–१ जलविद्युत् आयोजना हो । लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा अवस्थित यो आयोजना १२ मेगावाट क्षमताको छ । यसले गत २०७९ साल असोज १७ गतेबाट आफ्नो व्यापारिक विद्युत् उत्पादन सुरु गरेको थियो ।

वित्तीय अवस्था र पूँजी संरचना

कम्पनीको आर्थिक वर्ष २०८१/०८२ को पछिल्लो प्रतिवेदन अनुसार कम्पनीको वित्तीय संरचना सुदृढ देखिए तापनि केही चुनौतीहरू विद्यमान छन् । सो आवसम्म कम्पनीको अधिकृत पूँजी ४ अर्ब ५० करोड रुपैयाँ छ भने चुक्ता पूँजी २ अर्ब ९ करोड ९१ लाख ५७ हजार ९०० रुपैयाँ पुगेको छ । उक्त आवसम्म कम्पनीको कुल सम्पत्ति ३ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ बराबर रहेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड ३१ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ३ करोड ८९ लाख १३ हजार रुपैयाँ नोक्सानीमा थियो। विद्युत बिक्री आम्दानी घटेपनि वित्तीय खर्च घटेका कारण कम्पनी नाफामा पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २३ करोड ४४ लाख रुपैयाँबाट घटेर २० करोड ५८ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, कम्पनीको वित्तयि खर्च १४ करोड ६१ लाख रुपैयाँबाट घटेर ७ करोड ११ लाख रुपैयाँ झरेको छ।

सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ८३ पैसा रहेको छ भने बुकभ्यालु ३०८ रुपैयाँ ४३ पैसा रहेको छ।

यो कम्पनी सन २०२२ जुलाइ १३ तारिखबाट नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचीकृत भई सक्रिय रूपमा कारोबार भइरहेको छ । कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग १२ मेगावाट को विद्युत् खरिद बिक्री सम्झौता(पीपीए) गरेर व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु गरेको हो । उक्त आयोजनाबाट वार्षिक ६५.२२२ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने लक्ष्य राखिएको थियो ।

तर, प्रसारण लाइनको समस्याका कारण प्राधिकरणले पूर्ण रूपमा विद्युत् ‘डिस्प्याच’ नगर्दा केही ऊर्जा खेर गइरहेको र त्यसको क्षतिपूर्तिका लागि कम्पनीले पहल गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

कम्पनीको नेतृत्व र व्यवस्थापनमा को–को ?

कम्पनीको रणनीतिक मार्गदर्शन र नेतृत्व अनुभवी सञ्चालकहरूले गरिरहेका छन् । कम्पनीको सञ्चालक समिति ४ सदस्यीय रहेको छ । जसमा कम्पनीको अध्यक्षको नेतृत्व दीपेन्द्र लाल कर्णले गरिरहेका छन् भने सञ्चालकहरुमा विवेक कार्की, सोनु खड्का,मनिष शंकर रौनियार(स्वतन्त्र सञ्चालक) रहेका छन् ।

1000

लगानी विविधिकरण र भावी मार्गचित्र

दोर्दी खोला जलविद्युत् कम्पनी केवल एउटा आयोजनामा मात्र सीमित छैन। यसले आफ्नो व्यावसायिक पोर्टफोलियोलाई आक्रामक रूपमा विस्तार गर्दैछ । कम्पनीका एक सञ्चालकका अनुसार, सोलुखुम्बुमा सुपर इन्खु खोला (२४.४१ मेगावाट) र म्याग्दीमा म्याग्दी खोला ए (३० मेगावाट) जलविद्युत् आयोजनाहरूमा ठूलो लगानी गरेको छ । यी आयोजनाहरू हाल निर्माण र पीपीए प्रक्रियामा छन् । त्यस्तै, कम्पनीले माउन्टेन इन्फ्रासँग मिलेर १०५ मेगावाटको विशाल ग्रिड जडित सोलार पीभी आयोजना विकास गर्न अनुमति पाएको ती सञ्चालकले बताए । यसले कम्पनीलाई बहु–आयामिक ऊर्जा उत्पादकको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।

त्यस्तैगरी, कम्पनीले भविष्यको ऊर्जा मानिएको ‘हाइड्रोजन पावर’ को अध्ययन र उत्पादनमा समेत क्षमता वृद्धि गर्ने कम्पनीको दीर्घकालीन योजना रहेको छ । कम्पनीले आफ्नो नाफाबाट एक प्रतिशत स्थानीय शिक्षा, स्वास्थ्य र पूर्वाधारमा खर्च गर्ने नीति लिएको छ ।

निष्कर्षमा, दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेड हाल वित्तीय रूपमा केही नोक्सानमा देखिए पनि यसको भविष्य उज्ज्वल देखिन्छ । १२ मेगावाटको चालु आयोजनासँगै पाइपलाइनमा रहेका थप ५४ मेगावाटभन्दा बढीका जलविद्युत् आयोजना र १०५ मेगावाटको सौर्य ऊर्जाले कम्पनीलाई आगामी केही वर्षमै नेपालको निजी क्षेत्रको ठूलो ऊर्जा उत्पादक कम्पनीको रूपमा उभ्याउने सुनिश्चित छ ।

comments powered by Disqus