Ipo.aspx merolagani - सञ्चय कोष, नागरिक लगानी कोष र बीमा प्राधिकरणसँग धितोपत्र बोर्डको उच्चस्तरीय छलफल, मुख्य एजेण्डा के ?

सञ्चय कोष, नागरिक लगानी कोष र बीमा प्राधिकरणसँग धितोपत्र बोर्डको उच्चस्तरीय छलफल, मुख्य एजेण्डा के ?

Jul 17, 2026 05:43 PM Merolagani

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्षले शुक्रबार कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष र बीमा कम्पनीहरूको नियामक निकाय 'नेपाल बीमा प्राधिकरण' का प्रमुख तथा प्रतिनिधिहरूलाई बोलाएर विशेष छलफल गरेका छन्।

बोर्डले पूँजी बजारलाई थप चलायमान र स्थिर बनाउन ठूला संस्थागत लगानीकर्ताहरूसँग रहेको करिब २० खर्ब रुपैयाँ बराबरको विशाल कोषलाई शेयर बजारमा भित्र्याउने प्रक्रियाका लागि आज छलफल गरेको बोर्ड अध्यक्ष गोपाल भट्टले बताए। 

सरकारी तथा अर्ध-सरकारी संस्थाहरूसँग भएको विशाल फण्डलाई पूँजी बजारको विकासमा लगानी गर्नुपर्नेमा भन्दै छलफलमा बोर्ड अध्यक्षले जोड दिएका बताए। "आज हामीले मुख्य संस्थागत लगानीकर्ताहरूलाई बोलाएर छलफल गरेका छौँ। उनीहरूसँग झन्डै २० खर्ब रुपैयाँको ठूलो कोष छ। यो कोषलाई पूँजी बजारको विकासमा कहाँ-कहाँ र कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा हामीले प्रारम्भिक सन्देश दिने काम गरेका छौँ," उनले भने। नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिनमा नै बजारमा सकारात्मक ऊर्जा देखिएका बेला बोर्डले यो महत्त्वपूर्ण पहल थालेको हो।  

बीमा कम्पनीहरू स्वयम् ठूला लगानीकर्ता भए तापनि बोर्डले सबै कम्पनीलाई छुट्टाछुट्टै भेट्नुको सट्टा उनीहरूको नियामक निकाय 'बीमा प्राधिकरण' सँग छलफल गरेको हो। प्राधिकरणमार्फत बीमा क्षेत्रको लगानीलाई शेयर बजारमा थप आकर्षित गर्ने बोर्डको योजना छ। संस्थागत लगानीकर्ताहरूलाई शेयर बजारमा सक्रिय गराउँदा बजारमा तरलता (Liquidity) बढ्ने र उतारचढावलाई कम गरी स्थिरता ल्याउन मद्दत पुग्ने बोर्डको विश्वास छ। 

अध्यक्षका अनुसार, साउन १ गतेदेखि नै बोर्डले आफ्नो १० वर्षे पूँजी बजार रणनीतिक मार्गचित्र कार्यान्वयन गर्न सुरु गरिसकेको छ। सोही मार्गचित्रको एक मुख्य हिस्साका रूपमा यी ठूला कोषहरूलाई बजारमा प्रवेश गराउन लागिएको हो।

बिहीबार शेयर बजार ७९.७४ अंकले बढेर २,६७७.५४ विन्दुमा पुगेको छ। यो वृद्धिलाई बोर्डले आफ्नो नीतिगत सुधार र मार्गचित्रप्रतिको लगानीकर्ताको भरोसाका रूपमा लिएको छ। अध्यक्षले थपे, "मार्गचित्र आएदेखि बजारमा सकारात्मक प्रभाव देखिएको छ। यहाँ नेगेटिभ स्टोरी केही छैन, जम्मै पोजिटिभ छ। हामीले नयाँ-नयाँ इन्स्ट्रुमेन्टहरू र नयाँ किसिमले मार्केटलाई ड्राइभ गर्न खोजिरहेका छौँ।"

आगामी हप्तादेखि विदेशी लगानीकर्ताहरूसँग पनि भेटघाट र छलफल गरी पूँजी बजारमा वैदेशिक लगानीको सम्भावना खोजी गर्ने बोर्डको तयारी छ। २० खर्बको संस्थागत कोष परिचालन गर्ने बोर्डको यो कदमले शेयर बजारमा दीर्घकालीन र भरपर्दो लगानीको सुनिश्चितता गर्ने अपेक्षा गरिएको छ।

comments powered by Disqus

यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।