Ipo.aspx merolagani - पूँजी बजारमा गैर-आवासीय नेपाली भित्र्याउन धितोपत्र बोर्डको सक्रियता: पूर्वाधार विकासमा लगानी गर्ने एनआरएनको योजना

पूँजी बजारमा गैर-आवासीय नेपाली भित्र्याउन धितोपत्र बोर्डको सक्रियता: पूर्वाधार विकासमा लगानी गर्ने एनआरएनको योजना

Jul 30, 2026 06:52 AM Merolagani

नेपाल धितोपत्र बोर्ड र गैर-आवासीय नेपाली (एनआरएन) का प्रतिनिधिहरू बीच धितोपत्र बजारमा एनआरएनको सहभागिता र लगानीका विषयमा आज बोर्डमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टले नेपाल सरकारले बजेट वक्तव्य मार्फत गैर-आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन कानूनी व्यवस्थामा सुधार गर्ने लक्ष्य राखेको बताए। सोही बमोजिम बोर्डले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीतिमा समेत यसलाई समावेश गरी आवश्यक कार्य अघि बढाउने उनले जानकारी दिए।

अध्यक्ष डा. भट्टले गैर-आवासीय नेपालीहरूले विदेशमा आर्जन गरेको सीप, ज्ञान र पूँजीलाई नेपालको पूर्वाधार विकासमा जोड्नका लागि बोर्डले आवश्यक कानूनी तथा प्रक्रियागत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे। छलफलका क्रममा गैर-आवासीय नेपालीका प्रतिनिधिहरूले नेपाल सरकार र धितोपत्र बोर्डको पहलले लगानीका लागि सकारात्मक वातावरण निर्माण हुँदै गएको भन्दै खुसी व्यक्त गरे। सो अवसरमा उनीहरूले नेपाल सरकार र गैर-आवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको 'इन्भेष्टमेन्ट कम्पनी' मार्फत सार्वजनिक निष्काशन (IPO) जारी गर्ने योजना रहेको खुलासा गरे। उक्त कम्पनीले विदेशमा रहेका नेपाली र एनआरएनहरूबाट साधारण शेयर मार्फत रकम संकलन गरी नेपालको भौतिक पूर्वाधारका परियोजनाहरूमा लगानी गर्ने लक्ष्य राखेको छ। साथै, भविष्यमा विशिष्ट परियोजनाहरूका लागि ऋणपत्र (बण्ड तथा डिबेन्चर) जारी गरी थप पूँजी संकलन गर्ने योजना समेत रहेको प्रतिनिधिहरूले बताए।

एनआरएन प्रतिनिधिहरूले यी योजनाहरूलाई कार्यान्वयनमा ल्याउन विद्यमान कानूनी जटिलताहरूलाई हटाउन र आवश्यक सुधारका लागि बोर्डसँग विशेष अनुरोध समेत गरेका छन्। कार्यक्रममा बोर्डका उच्च पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

comments powered by Disqus

नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।