Ipo.aspx merolagani - गौतम अदानी विरुद्धको अमेरिकी अदालतमा रहेको घूसखोरी मुद्दा खारेज

गौतम अदानी विरुद्धको अमेरिकी अदालतमा रहेको घूसखोरी मुद्दा खारेज

Aug 11, 2026 11:52 AM Merolagani

सोमबार एक अमेरिकी न्यायाधीशले भारतीय अर्बपति गौतम अदानी विरुद्धको घूसखोरीको मुद्दा खारेज गरेका छन्। 

मुद्दा खारेज गर्ने क्रममा न्यायाधीशले न्याय विभागका एक वरिष्ठ अधिकारीको मुद्दासँग सम्बन्धित आचरणलाई "चिन्ताजनक" भन्दै कडा आलोचनासमेत गरेका छन्।

सन् २०२४ को नोभेम्बरमा न्यूयोर्कको सङ्घीय अदालतमा अदानी र अन्य सात जना विरुद्ध कथित घूसखोरी र ठगीको योजनासँग सम्बन्धित आपराधिक अभियोग दर्ता गरिएको थियो। अभियोजकहरूले सौर्य ऊर्जा आपूर्ति सम्झौताहरू सुरक्षित गर्न भारतीय सरकारी अधिकारीहरूलाई २५ करोड डलरभन्दा बढी घूस दिएको, अर्बौँ डलर उठाउन अमेरिकी लगानीकर्ता र बैंकहरूलाई भ्रमित गरेको तथा न्यायमा अवरोध पुर्‍याएको आरोप लगाएका थिए।

अदानीले सामाजिक सञ्जाल 'एक्स' मा एक पोस्ट गर्दै अमेरिकी अदालतको निर्णयलाई "न्यायिक प्रक्रियाप्रतिको विनम्रता र गहिरो सम्मान" का साथ स्वागत गरेका छन्। उनले कानूनको शासनमा आफ्नो विश्वास अटल रहेको बताएका छन्।

४७ पृष्ठ लामो फैसलामा न्यायाधीश निकोलस गारोफिसले प्रमुख सहयोगी उप-महान्यायाधिवक्ता ट्रेन्ट म्याककोटरको आचरणको आलोचना गरेका छन्। न्यायाधीशका अनुसार म्याककोटरले विभिन्न सङ्घीय कार्यालयका असंख्य अधिकारीहरूको व्यावसायिक विचारलाई बेवास्ता गर्दै आफ्नो एकल निर्णय लादेका थिए। घूसखोरी र ठगीको आरोप अनुसन्धान गर्ने एजेन्सीहरूको राय विना नै प्रतिरक्षा वकिलसँगको सहकार्यमा अभियोग फिर्ता लिने निर्णय हुनुलाई न्यायाधीशले "अत्यन्त असामान्य" भनेका छन्।

म्याककोटरले मे १८ मा अदानी विरुद्धको अभियोग खारेज गर्न अनुरोध दायर गरेका थिए। जसमा न्याय विभागले मुद्दाको समीक्षा गरेको र अब थप स्रोत साधन यसमा खर्च नगर्ने निर्णय गरेको उल्लेख थियो। अदानीका वकिल रोबर्ट गिफ्राले म्याककोटरलाई मुद्दासँग परिचित गराउन ६०० पृष्ठको कागजात पेश गरेका थिए। न्यु योर्क टाइम्सका अनुसार गिफ्राले अदानी विरुद्धको अनुसन्धान अगाडि बढाउन अभियोजकहरूसँग "आधारभूत प्रमाण" नभएको तर्क गरेका थिए।

यसअघि धितोपत्र तथा विनिमय आयोग (SEC) ले गौतम अदानी र उनका भतिजा सागर अदानी विरुद्धको घूसखोरीको दिवाणी मुद्दा टुङ्ग्याउँदै दुवैलाई कुल १ करोड ८० लाख डलर जरिवाना तिर्न निर्देशन दिएको थियो।

अमेरिकामा कानुनी समस्या समाधान भएसँगै अदानीको सम्पत्तिमा ठूलो उछाल आएको छ। फोर्ब्सका अनुसार उनको सम्पत्ति २ अर्ब डलरले बढेको छ। यससँगै उनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई उछिन्दै पुनः एशियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन्। भारतको बन्दरगाह, सिमेन्ट, ऊर्जा र मिडिया जस्ता महत्त्वपूर्ण क्षेत्रमा अदानी समूहको ठूलो पूँजी र लगानी रहेको छ। शेयर बजारमा समेत यो समाचारको सकारात्मक प्रभाव देखिएको छ।

comments powered by Disqus