Ipo.aspx merolagani - लुम्बिनी विकास बैंकको खुद नाफामा उछाल, वितरणयोग्य मुनाफ पनि उच्च बढ्यो

लुम्बिनी विकास बैंकको खुद नाफामा उछाल, वितरणयोग्य मुनाफ पनि उच्च बढ्यो

Aug 06, 2026 09:03 AM Merolagani

लुम्बिनी विकास बैंक लिमिटेड (LBBL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र प्रतिशेयर आम्दानीमा उल्लेख्य वृद्धि देखिएको छ।

गत आर्थिक वर्ष बैंकले नाफामा ठूलो फड्को मारेको छ। अघिल्लो आर्थिक वर्ष बैंकको खुद नाफा २४ करोड ११ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा २५२.९६ प्रतिशत बढेर ८५ करोड १० लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.५३ प्रतिशत बढेर १ अर्ब ९९ करोड ७२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १०८.५० प्रतिशतले वृद्धि भई १ अर्ब २१ करोड ७८ लाख रुपैयाँ पुगेको छ।

कर्जा असुलीमा आएको सुधारका कारण बैंकको इम्पेरमेन्ट चार्ज अघिल्लो वर्षको ७७ करोड ८७ लाख रुपैयाँबाट उल्लेख्य घटेर १३ करोड ५० लाख रुपैयाँमा झरेको छ। जसका कारण बैंकको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६५ पैसाबाट बढेर २३ रुपैयाँ ४८ पैसा पुगेकाे छ।

नियमनकारी समायोजनहरूपश्चात् बैंकले शेयरधनीहरूका लागि लाभांश वितरण गर्न सक्ने आधार बलियो बनाएको छ। गत आर्थिक वर्षको असार मसान्तसम्मको खुद वितरणयोग्य नाफा ४३ करोड १२ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको सञ्चित नाफासमेत जोड्दा गत असार मसान्तसम्मको कुल वितरणयोग्य नाफा ६१ करोड ५५ लाख रुपैयाँ कायम भएको छ। यस अनुसार बैंकको प्रतिशेयर वितरणयोग्य नाफा १६ रुपैयाँ ९९ पैसा रहेको छ, जुन अघिल्लो आर्थिक वर्ष ५ रुपैयाँ ९ प्रसा मात्र थियो।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ३ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ कायम छ। सञ्चित नाफा र जगेडा कोष गरी बैंकको कुल इक्विटी ७ अर्ब ७४ करोड ४७ लाख रुपैयाँ पुगेको छ। बैंकले ग्राहकहरूबाट ५७ अर्ब ४४ करोड ३३ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने ग्राहकहरूलाई प्रवाह गरिएको कुल कर्जा ४७ अर्ब ५ करोड ६२ लाख रुपैयाँ रहेको छ। सो अवधिसम्ममा बैंकको कुल सम्पत्तिको आकार ६७ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ रहेको छ।

comments powered by Disqus

नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।