Ipo.aspx merolagani - बाढीको बहानामा बजारमा 'प्यानिक सेल', प्रभावकारी निगरानी गर्नुपर्नेमा जोड

बाढीको बहानामा बजारमा 'प्यानिक सेल', प्रभावकारी निगरानी गर्नुपर्नेमा जोड

Sep 01, 2026 03:50 PM Merolagani

सुधा देवकोटा
रसुवाको भोटेकोशी–त्रिशूली कोरिडोरमा आएको विनाशकारी बाढीले भौतिक संरचना र जनधनमा ठूलो क्षति पुर्याएको छ। यो विपद अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय चिन्ताको विषय बनेको छ। 

बाढीपीडितको उद्धार र पुनःस्थापनाका लागि विश्व समुदायबाट सहयोग रकम जुट्ने क्रम जारी छ। आम नागरिक बाढीपछिको परिस्थिति बिस्तारै सामान्य हुनेमा आशावादी रहेका छन्।

तर, यही बाढीलाई बहाना बनाएर पुँजी बजारमा भने अर्को विनाशकारी वित्तीय बाढी पसेको छ। बाढीका कारण जलविद्युत आयोजनाहरूमा क्षति पुगेको नाममा दोस्रो बजारमा दैनिक अर्बौंको पुँजीकरण गायब भइरहेको छ। बाढीको बहानामा शेयर बजारमा अप्राकृतिक गिरावट भएको शेयर बजार विश्लेषक सुबास चन्द्र ढुंगानाले बताए । विपत्तिको समयमा बजारले विपत्तिलाई मात्र हेर्दैन। यस्तो अवस्थामा लगानीकर्ताको आत्मविश्वास, समग्र बजारको ट्रेन्ड, विपत्तिको फैलावट, कम्पनीले बहन गर्नुपर्ने जोखिम, बजारको आफ्नै आधार–स्तर, ब्याजदर र तरलता लगायतका पक्षलाई एकसाथ जोखेर मूल्य निर्धारण गरिएको हुन्छ। कम्पनीहरूले बहन गर्नुपर्ने सम्भावित जोखिम बराबरको डिस्काउन्ट बजारले गरिसकेको छ कि छैन भन्ने कुरा विश्लेषण गरेर मात्र बजारले आफ्नो अर्को दिशा तय गर्ने ढुङ्गानाको भनाइ छ।

त्रासमा शेयर बेचिरहेका बेला ठूलो पुँजी भएका लगानीकर्ता भने परिस्थितिलाई फरक दृष्टिले हेरिरहेका हुन सक्छन्। उनीहरू बजारको डर, अनिश्चितता र मूल्यमा आएको गिरावटलाई जोखिम मात्र नभई अवसरका रूपमा पनि मूल्याङ्कन गर्छन्। यदि कम्पनीको आधारभूत अवस्था तुलनात्मक रूपमा बलियो छ र बजार मूल्यले सम्भावित जोखिमको ठूलो हिस्सा पहिल्यै समेटिसकेको छ भने, त्यस्तो अवस्थामा स्मार्ट मनीका लागि सस्तो मूल्यमा ठूलो परिमाणमा शेयर संकलन गर्ने अवसर सिर्जना हुन सक्ने उनको बुझाई छ । शेयर बजारमा डर आफैंमा अन्तिम सत्य होइन, डरले मूल्यलाई कहाँसम्म धकेल्यो र त्यस मूल्यमा वास्तविक जोखिम कति समेटिएको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। 'बजारमा डरको खेती भइरहेका बेला कसैले त्रासमा बिक्री गरिरहेको हुन्छ भने कसैले त्यही त्रासभित्र अवसर खोजिरहेको हुन्छ,' ढुङ्गानाले मेरोलागनीसँग भने।

लगानीकर्ताले बाढीपछिको पछिल्लो समयमा मात्रै बजारबाट सात खर्ब रुपैयाँ बढी पूँजीकरण गुमाइसकेका छन्। हुन त बाढी आउनुअघि नै बजार सुस्त अवस्थामा थियो। तर, बाढीलाई मुख्य हतियार बनाएर पछिल्ला दिनहरूमा बजारमा नियोजित रूपमा प्यानिक सेल गराइएको नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेको आरोप छ।

यस अवधिमा दोस्रो बजारमा सूचीकृत अधिकांश कम्पनीको शेयर मूल्यमा भारी गिरावट आएको छ। विशेषगरी हाइड्रोपावर क्षेत्रमा यसको बढी प्रभाव देखिएको छ। यथार्थमा, भोटेकोशी र त्रिशूली कोरिडोरको बाढीले नेप्सेमा सूचीकृत केही सीमित कम्पनीलाई मात्र असर गरेको छ। तर, बजारमा सबै हाइड्रोपावर कम्पनी टाट पल्टिए झैँ गरी प्रचार गरेर मूल्य घटाइएको छ। यो सामान्य बजार प्रक्रिया नभई लगानीकर्तालाई त्रसित बनाउने योजनाबद्ध खेल भएको पाण्डेको बुझाईछ।

 

 

नेपाल धितोपत्र बोर्डले बाढी प्रभावित क्षेत्रका जलविद्युत आयोजना र सूचीकृत कम्पनीहरूको कारोबारमा विशेष निगरानी राख्न निर्देशन दिएको छ। बजारमा पारदर्शिता कायम गर्न र लगानीकर्ताको हित रक्षा गर्न बोर्डले यो कदम चालेको हो। त्रिशूली र भोटेकोशी नदी प्रणालीका आयोजनामा भएको क्षतिलाई आधार मानेर गलत सूचना प्रवाह हुन नदिन यस्तो निगरानी आवश्यक थियो। तर, बजारमा हुने गरेको चलखेल र बजारमा सिर्जित प्यानिक सेल गराउनुमा कसको भुमिका छ भन्ने कुरामा पनि नियामकको ध्यान पुग्नु पर्ने लगानीकर्ताहरुको धारणा छ।

बाढीबाट उत्पन्न परिस्थितिको पुनरुत्थानका लागि वैदेशिक समुदायबाट सहयोग आइरहेको छ। सहयोग आउनु सकारात्मक छ। तर, यता पुँजी बजारबाट सिमित व्यक्तिहरुको सिमित स्वार्थको कारण खर्बौं रुपैयाँ खोला सरि बग्दा राज्यको ध्यान पुग्न नसक्नु चिन्ताको विषय भएको हो। यस्तो संवेदनशील समयमा सरकार र अर्थ मन्त्रालयको मौनतालाई लगानीकर्ताले रहस्यमय रहेको पाण्डेको बुझाईछ।

लगानीकर्ताहरुले बजारसँग सम्बन्धित गम्भीर प्रश्न उठाएका छन । बजारमा यो प्यानिक सेल गराउन कसले भूमिका खेलिरहेको छ? के यसमा बैंक, वित्तीय संस्था, ब्रोकर हाउस वा ठूला लगानीकर्ताको मिलेमतो छ? सामाजिक सञ्जालमा बजार अब यति अंकमा झर्छ भन्दै चार्ट कोर्ने प्रविधिक विश्लेषक (धर्केबाज)हरूले साना लगानीकर्तालाई मनोवैज्ञानिक रूपमा कमजोर बनाइरहेका छन्। यस्ता भ्रम फैलाउनेहरूलाई तत्काल छानबिन गरी कारबाहीको दायरामा ल्याउन सरकारले किन खुट्टा कमाइरहेको छ भन्ने प्रश्न लगानीकर्ता पाण्डेले उठाएका छन् ।

निकासका लागि लगानीकर्ताका माग

पुँजी बजार र समग्र अर्थतन्त्रको उत्थानका लागि तत्काल केही नीतिगत सुधारको जरुरी भएको लगानीकर्ताहरुको बुझाईछ । जसमा नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालयबीच समन्वय गरी निम्न बुँदाहरू कार्यान्वयन गर्न लगानीकर्ताहरुको जोड रहेको छ। लगानीकर्ताहरुले बजारको अहिलेको परिस्थितीलाई हेर्दा पुँजी बजारमा बैंकहरूलाई प्रत्यक्ष रूपमा कारोबार गर्न पाउने गरी बाटो खुला गरिर्नु पर्ने विषयलाई जोडदार रुपमा उठाएका छन् । जसले बैंक प्रणालीमा भएको तरलतालाई परिचालित गर्ने र बजारमा माग पक्ष बलियो बनाउने लगानीकर्ताहरुको तर्क छ।

त्यसैगरी, ब्रोकरहरूलाई मार्जिन कर्जा प्रवाहका लागि बैंकहरूबाट सस्तो दरमा व्यावसायिक कर्जा उपलब्ध गराइनुपर्ने पर्छ । साथै गैरआवासीय नेपालीहरू (एनआरएन) लाई पुँजी बजारमा लगानी गर्न देखिएका कानुनी र प्राविधिक बाधाहरू तत्काल हटाउनु पर्ने र राष्ट्र बैंकले सबल कम्पनीहरूको शेयर धितो कर्जा ८० प्रतिशतसम्म पुर्याउने व्यवस्थालाई अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्नेमा लगानीकर्ताहरु जोड दिएका छन्।

प्राकृतिक विपत्तिले भौतिक संरचना विस्तारै पुर्नउत्थान होला । तर गलत नीति र नकारात्मक हल्लाले राष्ट्रको पुँजी नै ध्वस्त पार्छ। अहिलेको अवस्थामा सरकार र नियामक निकाय मुकदर्शक बनेर बस्नु भन्दा बजारमा प्रभावकारी निगरानीको खाचो छ। बाढीको नाममा भइरहेको अप्राकृतिक प्यानिक सेल रोक्न र आम नागरिकको सम्पत्ति सुरक्षा गर्न सरकार चलाख हुन जरुरी भएको लगानीकर्ताहरुको बुझाई छ।

comments powered by Disqus

भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।