Ipo.aspx merolagani - बाढीको बीमा दाबीः कुन कम्पनीमा कति?

बाढीको बीमा दाबीः कुन कम्पनीमा कति?

Sep 02, 2026 12:25 PM Merolagani


भदौ १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण बीमा क्षेत्रमा ठूलो दायित्व आएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म ५८३ वटा दाबी परेका छन् ।

जसको प्रारम्भिक अनुमानित रकम करिब २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ पुगेको छ। प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा धेरै दाबी रकम दि ओरिएन्टल इन्स्योरेन्सको भागमा परेको छ। यस कम्पनीमा मात्रै आठ वटा दाबीमार्फत १३ अर्ब चार करोड २१ लाख रुपैयाँ माग गरिएको छ।

त्यस्तै, ३८ वटा दाबी परेको युनाइटेड अजोडमा चार अर्ब १७ करोड ४८ लाख र १०२ वटा दाबी परेको सानिमा जीआईसीमा दुई अर्ब १० करोड २८ लाख रुपैयाँको दाबी परेको छ। अन्य मुख्य कम्पनीहरूमा सिद्धार्थ प्रिमियरमा एक अर्ब ८८ करोड, शिखर इन्स्योरेन्समा एक अर्ब ८७ करोड, हिमालयन एभरेष्टमा ६४ करोड ३८ लाख र नेको इन्स्योरेन्समा ५१ करोड ७० लाख रुपैयाँ बराबरको दाबी परेको तथ्यांक छ।

क्षेत्रगत रूपमा हेर्दा बाढीले सबैभन्दा धेरै क्षति जलविद्युत आयोजना र ठूला पूर्वाधार (इन्जिनियरिङ क्षेत्र) मा पुर्याएको देखिन्छ। यस क्षेत्रमा मात्रै २० अर्ब ५० करोड रुपैयाँभन्दा बढीको दाबी परेको छ। यस्तै, घर तथा सम्पत्ति बीमातर्फ दुई अर्ब ३४ करोड र मोटर बीमातर्फ एक अर्ब ५५ करोड रुपैयाँको दाबी परेको प्राधिकरणले जनाएको छ।

यो अवस्थामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भुक्तानी प्रक्रियालाई सरल र सहज बनाउन निर्देशन दिइसकेका छन । अर्थमन्त्रीले बाढीले देश शोकमा छ यस्तो बेला बीमा कम्पनीहरूले पीडितको घाउमा मलम लगाउनुपर्छ। झन्झटिलो कागजी प्रक्रियामा अल्झाएर भुक्तानीमा ढिलाइ नगर्न समेत उनले आग्रह गरेका छन् ।

मन्त्री डा.वाग्लेले ठूला आयोजना र जलविद्युत् क्षेत्रको नगद प्रवाह सहज बनाउन तत्काल उचित रकम पेस्कीका रूपमा भुक्तानी दिन समेत आग्रह गरेका छन्। उनले बीमा कम्पनीहरूलाई कुनै समस्या परे सरकार सहयोग गर्न तयार रहेको समेत दावी गरेका छन् । साथै, दाबी भुक्तानीलाई प्रभावकारी बनाउन बीमा प्राधिकरणले एक विशेष कार्यदल नै गठन गरेको छ, जसले दैनिक रूपमा भुक्तानीको अनुगमन र सहजीकरण गर्नेछ।

comments powered by Disqus