Ipo.aspx merolagani - लघु जीवन बीमामा बढ्यो नागरिकको आकर्षणः ८२ लाखभन्दा बढी सक्रिय पोलिसी र साढे ३ अर्बको व्यवसाय

लघु जीवन बीमामा बढ्यो नागरिकको आकर्षणः ८२ लाखभन्दा बढी सक्रिय पोलिसी र साढे ३ अर्बको व्यवसाय

Aug 09, 2026 10:58 AM Merolagani

वित्तीय पहुँचबाट टाढा रहेका सीमान्तकृत, न्यून आय भएका र पिछडिएका वर्गलाई लक्षित गरी सञ्चालन गरिएको लघु जीवन बीमा व्यवसायले पछिल्लो समय निकै ठूलो फड्को मारेको छ।

नेपाल बीमा प्राधिकरणबाट प्राप्त तथ्यांक अनुसार जीवन बीमा कारोबार गर्ने परम्परागत बीमक तथा समर्पित लघु जीवन बीमा कम्पनीहरूले ग्रामीण तथा सहरी क्षेत्रका विपन्न परिवारसम्म बीमाको पहुँच विस्तार गर्न आक्रामक रूपमा काम गरिरहेका छन्।

प्राधिकरणको विवरण अनुसार असार मसान्तसम्ममा नेपालमा कुल ८२ लाख ६० हजार ८ सय ६८ वटा लघु जीवन बीमा पोलिसीहरू सक्रिय अवस्थामा रहेका छन्। यसबाट बीमा क्षेत्रमा लघु बीमाको हिस्सा सुदृढ हुँदै गएको र लाखौं दूरदराजका नागरिकले वित्तीय सुरक्षाको अनुभव गरिरहेको प्रष्ट हुन्छ। यस अवधिमा लघु जीवन बीमा बापत कुल ३ अर्ब ५४ करोड १९ लाख ४७ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन भएको छ।

परम्परागत जीवन बीमा कम्पनीहरूमध्ये रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २३ लाख २८ हजार ४ सय ६४ वटा पोलिसी सक्रिय राखी बजारमा सबैभन्दा अग्रस्थान ओगटेको छ। त्यसैगरी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ९ लाख १७ हजार ९ सय ४५ वटा र राष्ट्रिय जीवन बीमा कम्पनीले ७ लाख ९७ हजार १ सय ४८ वटा पोलिसी सक्रिय राखेका छन्। बीमाशुल्क संकलनको आधारमा हेर्दा, राष्ट्रिय जीवन बीमा कम्पनीले ८३ करोड ३६ लाख ९५ हजार र सिटिजन लाइफले ४७ करोड ५४ लाख ११ हजार रुपैयाँ संकलन गरेका छन्।

यसैगरी, पूर्ण रूपमा लघु जीवन बीमाको कारोबार गर्ने समर्पित बीमकहरूमध्ये गार्डियन माईक्रो लाइफ इन्स्योरेन्स कम्पनीले १५ लाख १२ हजार ८ सय ५७ वटा लघु जीवन बीमा पोलिसी सक्रिय राखी ४२ करोड ६९ लाख ८० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। साथै, क्रेष्ट माईक्रो लाइफ इन्स्योरेन्स कम्पनीले ५ लाख ६४ हजार १ सय २१ वटा पोलिसी मार्फत ४१ करोड ८० लाख ८९ हजार र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले ४ लाख १६ हजार ३ सय ६९ वटा पोलिसी मार्फत ३६ करोड ५८ लाख २६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

अन्य बीमकहरूको सक्रिय पोलिसी र शुल्कको स्थिति हेर्दा सिटिजन लाइफले ४ लाख ६३ हजार १ सय ६६, सन नेपाल लाइफले ३ लाख ३ हजार ५ सय ८९, सानीमा रिलायन्स लाइफले ३ लाख २ हजार २ सय ६७, र सूर्यज्योति लाइफले २ लाख ७० हजार ७ सय २३ वटा पोलिसी सञ्चालनमा ल्याएका छन्। त्यसैगरी मेट लाइफको २ लाख ४२ हजार ८ सय २९, प्रभु महालक्ष्मी लाइफको १ लाख ३८ हजार ४ सय ५३, एशियन लाइफको १ हजार ५ सय १६, एलआईसी नेपालको १ हजार २ सय ८६, र हिमालयन लाइफको १ सय ३५ वटा लघु बीमा पोलिसी सक्रिय रहेको देखिएको छ।

लघु जीवन बीमाको यो बढ्दो दायराले नेपालका बीमा कम्पनीहरू व्यावसायिक लाभभन्दा पनि सामाजिक उत्तरदायित्व र वित्तीय समावेशीकरणतर्फ उन्मुख भएको संकेत गर्दछ। न्यून आय भएका परिवारमा आइपर्ने आकस्मिक आर्थिक जोखिमलाई न्यूनीकरण गर्न लघु जीवन बीमा एक भरपर्दो आधार बन्दै गएको छ। आगामी दिनमा बीमाको पहुँच अझै दूरदराजका बस्तीहरूमा पुर्याउन र यसको प्रभावकारिता बढाउन बीमा कम्पनीहरूले स्थानीय तह तथा लघुवित्त संस्थाहरूसँगको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको छ।

comments powered by Disqus