Ipo.aspx merolagani - पूँजी बजार सुधारका लागि १०–१२ बुँदे कार्यक्रम ल्याइँदै: अर्थमन्त्री डा. वाग्ले

पूँजी बजार सुधारका लागि १०–१२ बुँदे कार्यक्रम ल्याइँदै: अर्थमन्त्री डा. वाग्ले

Sep 11, 2026 11:20 AM Merolagani

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजी बजारमा देखिएका कमजोरी सुधार गर्दै यसको विकास र विस्तारका लागि सरकारले १० देखि १२ बुँदे विशेष सुधार कार्यक्रम ल्याउने बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले पछिल्लो समय पूँजी बजार सुस्त बनेको स्वीकार गरे। विगतमा भएका गैरजिम्मेवार गतिविधिका कारण बजारमा समस्या देखिएको उल्लेख गर्दै उनले अब अवस्थालाई थप बिग्रन नदिने गरी सरकारले नीतिगत सुधार अघि बढाउने स्पष्ट पारे।

‘विगतमा भएका गैरजिम्मेवार गतिविधिका कारण बिग्रिएको अवस्थालाई थप बिग्रन दिइने छैन,’ उनले भने, ‘लगानीकर्ताको विश्वास बढाउन र बजारलाई चलायमान बनाउन सरकारले आवश्यक सुधारका ठोस कार्यक्रमहरू अघि बढाउँदै छ।’

सो अवसरमा अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रमा थुप्रिएको पूँजी घरजग्गा र शेयर बजारमा मात्र केन्द्रित हुनुको सट्टा उत्पादनमूलक क्षेत्रतर्फ परिचालन हुन सकेको भए मुलुकको अर्थतन्त्र अझ सुदृढ हुने धारणा राखे। उनले निष्क्रिय पूँजीलाई उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रतर्फ आकर्षित गर्ने वातावरण निर्माण गर्नु सरकारको मुख्य प्राथमिकता रहेको बताए।

यसैगरी, अर्थमन्त्रीले सहकारी क्षेत्रको संकटले स्थानीय अर्थतन्त्रमा गम्भीर असर पारेको औँल्याए। सहकारीको समस्या समाधान नभएसम्म स्थानीय आर्थिक गतिविधि सहज नहुने उनको भनाइ थियो।

घरजग्गा कारोबारमा देखिएको मन्दी र पूँजी बजारको सुस्ततालाई सम्बोधन गर्दै समग्र अर्थतन्त्रलाई सही दिशामा डोर्‍याउन नीतिगत पहल भइरहेको जानकारी दिँदै अर्थमन्त्री वाग्लेले अर्थतन्त्र सुधारका लागि सरकार दृढ रहेको बताए।

comments powered by Disqus