Ipo.aspx merolagani - धमाधम बाहिरिन खाेज्दै विदेशी लगानीकर्ता, लगानी सम्मेलनलाई असर गर्न सक्ने

धमाधम बाहिरिन खाेज्दै विदेशी लगानीकर्ता, लगानी सम्मेलनलाई असर गर्न सक्ने

Nov 29, 2023 06:31 PM MeroLagani

सरकारले लगानी सम्मेलन गरेर विदेशी लगानीकर्ता भित्र्याउन कोशिस गरिरहेको बेला नेपालमा लगानी गरेको लगानीकर्ताहरु भने लगानीको प्रतिफल कम भएको भन्दै धमाधम बाहिरिन खाेजेका छन ।

बुधबार मात्रै निजी क्षेत्रका सञ्चालित ठूलो मोबाइल फोन अपरेटर एनसेलबाट यसको मुख्य लगानीकर्ता मलेसियाको एक्जियटा बाहिरिने निर्णय गरेको छ । एनसेलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सञ्चालक समितिले निर्णय गरेर एक्यिजियटाले आफ्नो शेयर बिक्रीमा राखेको जनाएको छ । एनसेलमा उक्त कम्पनीको ८० प्रतिशत लगानी रहेको छ । यसअघि एनसेलमा फिनल्यान्डको टेलियासोनेराकाे लगानी थियो ।

त्यस्तै हिमालयन बैंकमा पाकिस्तान हबिब बैंकको लगानी रहेको छ । हबिब बैंक पनि नेपालबाट बाहिरिन खोजिरहेको छ । हिमालयन बैंकमा हबिबको २० प्रतिशत लगानी रहेको थियो । सिभिल बैंकलाई हिमालयनमा गाभिएपछि भने हबिबको शेयर ११ प्रतिशतमा खुम्चिएको छ । हबिब नेपालबाट बाहिरिन खोजे पनि राष्ट्र बैंकको स्वीकृति नपाउँदा बाहिरिन सकेको छैन । पछिल्लो समय हबिबको शेयर किन्न निजी क्षेत्रबाट सञ्चालित हिमालयन रिइन्स्योरेन्स इच्छुक रहेको सूचना बाहिर आए पनि यथार्थ के हो अझै प्रष्ट छैन । नेपालको बैंकहरुले प्रतिफल घट्दै गएपछि विस्तारै बाहिर जाने मनस्थितिमा संयुक्त लगानीमा स्थापित बैंकका विदेशी साझेदार रहेका छन् ।

यसअघि नेपाल राष्ट्र बैंकले एकैपटक चार गुणाले बढाएर चुक्ता पुँजी ८ अर्ब पुर्याएपछि स्ट्यान्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंकका विदेशी साझेदारले चर्को विरोध गरेका थिए । स्ट्यान्डर्ड चार्टर्ड बैंकले त नेपाल छोड्ने समेत धम्की दिएकाे थियो तर त्यही बेला एभरेष्ट बैंकलाई रिजर्भमा रहेको पैसाबाट बोनस शेयर दिन लगाएर र स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई प्रिमियममा एफपीओ जारी गर्न लगाएर पुँजी वृद्धिको मार्ग प्रशस्त गरेका थिए । विदेशबाट पैसा नल्याइकनै पुँजी वृद्धि गर्ने उपाय अवलम्बन गरेपछि स्ट्यान्डर्ड चार्टर्ड बैंकको विदेशी साझेदार बाहिरिने प्रक्रिया रोकिएको थियो ।

नबिल बैंकले नेपाल बंगलोदश बैंकलाई एक्वायर गर्नुअघि उक्त बैंकमा बंगलोदशको आईएफआईसीको झन्डै ४१ प्रतिशत शेयर थियो । उक्त शेयर घुमाउरो बाटोमा चौधरी ग्रुपले नै खरिद गरेको थियो । बंगलादेश बैंकमा पनि एनबी समूहको बदमासीका कारण बैंक सफल रुपमा सञ्चालन हुन नसकेपछि बंगलादेशी साझेदार बाहिरिएका थिए । बंगलादेशी साझेदारको सम्पूर्ण शेयर चौधरीले खरिद गरेपछि नै नबिल बैकसँग गाभिन सजिलो भएको हो ।

त्यसैगरी काठमाडौं ताहाचलस्थित सोल्टी होटलमा रहेको विदेशी लगानी समेत केही वर्ष अगाडि बाहिरिएको थियो । हङकङको कम्पनी होलिडे इन्स इन्भेष्टमेन्ट लिमिटेडले सोल्टीमा रहेको १० प्रतिशत लगानी फिर्ता लगेको थियो ।

अर्थशास्त्री डा. चन्द्रमणि अधिकारी नेपालमा विदेशी लगानी चाहिएको बेला विदेशी साझेदारीमा स्थापित कम्पनीहरुले आफनो लगानी फिर्ता गर्दा नराम्रो असर पर्ने बताए । सरकारले लगानी सम्मेलन आयोजना गर्ने तयारी गर्दै गर्दा यसले मनोवैज्ञानिक असर भने नराम्रो हुने बताए । एनसेल, हिमालयन बैंक जस्ता स्थापित कम्पनीमा भएको पोर्टफोलियो लगानी फिर्ता हुँदा त्यसले नेपालको अर्थतन्त्रमा त्यति ठूलो असर नगर्ने उनको टिप्पणी थियो । सिमेन्ट, पूर्वाधारजस्ता क्षेत्रमा आएको प्रत्यक्ष वैदेशिक लगानी फिर्ता भयो भने चाँहि चिन्ताको विषय हुने उनको विश्लेषण थियो ।

comments powered by Disqus