Ipo.aspx merolagani - प्रचण्डले पुनलाई नै अर्थमन्त्रीमा ल्याउने अडान लिएपनि बजारकाे सेन्टिमेन्ट पाैडेलकै पक्षमा, अरुकाे नाम बजारले सुन्न चाहेन

प्रचण्डले पुनलाई नै अर्थमन्त्रीमा ल्याउने अडान लिएपनि बजारकाे सेन्टिमेन्ट पाैडेलकै पक्षमा, अरुकाे नाम बजारले सुन्न चाहेन

Mar 05, 2024 07:00 PM MeroLagani

बाबुकृष्ण महर्जन

माओवादी र काग्रेसलगायतको सत्ता समीकरण भंग भएर माओवादीकै नेतृत्वमा एमाले, रास्वपासहितको सत्ता समीकरण निर्माण भएपछि शेयर बजार समेत तरंगित भयो । एमाले सरकारमा जाने भएपछि अर्थमन्त्रीमा विष्णु पौडेल आउने आशामा सोमबार शेयर बजार मापक नेप्से परिसूचक १ सय १७ विन्दुले बढेर केही मिनेटमै सर्किटमा बन्द भयो ।

मंगलबार बजार खुल्दा नखुल्दै अर्थमन्त्रीमा पाैडेलकाे सम्भावना कम देखिएकाे समाचार बाहिरिएपछि बजारले प्रतिक्रिया दिइहाल्याे । सोमबार १ सय १७ विन्दुले बढेको बजार मंगलबार भने ७० अंकले घटेर बन्द भयो ।

राजनीतिक परिवर्तनको असर शेयर बजारमा पहिले पनि पर्ने गरेको थियाे । यसपटक भने विष्णु पौडेल अर्थमन्त्रीमा आउने र नआउने चर्चाले शेयर बजार प्रभावित भयो । नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले बजारमा हल्लाको पछि दौडिने अपरिपक्व लगानीकर्ताको जमातको कारण नै बजार ठूलो अंकले तलमाथि भएको बताए ।

नेपाली कांग्रेसको सरकारमा सहभागिता जनाएको अर्थशास्त्रमा विद्यावारिधी गरेका अर्थमन्त्री डा. प्रकाशशरण महतको सरकारबाट बाहिरिने समाचारले वास्तवमा बजारमा सकारात्मकता छाएको थियो । आफ्नो कार्यकालमा अर्थमन्त्री डा. महतले शेयर बजारको हित हुने एउटै काम नगरेको रौनियारले बताए । प्रधानमन्त्री प्रचण्ड अर्थमन्त्री डा. महतले सरकार सञ्चालनमा सहयोग नगरेको कारण उनीसँग असन्तुष्ट थिए । राज्यको ढुकुटीको साँचो अरु पार्टीलाई नदिने अडानमा नै प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन भत्काएर एमाले रास्वपासहितको नयाँ गठबन्धन बनाएका थिए जसमा अर्थमन्त्रीमा माओवादीबाट पहिला पनि अर्थ मन्त्रालयको बागडोर सम्हालिसकेका वर्षमान पुनलाई ल्याउने प्रचण्डको चाहना रहेको छ ।

सरकार सञ्चालनमा एमाले सहभागी भएपछि प्रधानमन्त्रीपछिको पावरफुल मानिने अर्थ मन्त्रालय र गृह मन्त्रालयमध्ये एकमा एमालेको दाबी हुनु स्वभाविकै हो । गृहमा राष्ट्रिय स्वतन्त्र पार्टीले दाबी गरेपछि एमालेले अर्थ मन्त्रालय दाबी गरिरहँदा माओवादी भने अर्थ बाहेकको अन्य मन्त्रालय दिने बार्गेनिङमा व्यस्त छ । यही घटनाक्रमका बीच नेप्से परिसूचक मंगलबार ७० अंकले घटेको हो ।

अर्थतन्त्रको औपचारिक विज्ञता खासै नभएपनि नेप्से परिसूचक १८८० हुँदा, नेप्से परिसूचक ३२ सय नजिक पुग्दा अर्थमन्त्रीमा विष्णु पौडेल नै थिए । पौडेल अर्थमन्त्रीमा बहाल रहेकै बेला नेप्से परिसूचक दुई पटक अल टाइम हाइमा पुगेकाले लगानीकर्ताको सेन्टिमेन्ट भनेको अर्थमन्त्रीमा विष्णु पौडेल नै आओस् भन्ने रहेको अग्रज लगानीकर्ता छोटेलाल रौनियारले बताए ।

‘एउटा व्यक्ति अर्थमन्त्रीमा नियुक्त हुँदैमा अर्थतन्त्रमा एकदमै ठूलो उथलपुथल आउने त होइन । बैंक तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैंकको गभर्नरमा पनि एमालेबाटै नियुक्त भएको महाप्रसाद अधिकारी छन् । एउटै पार्टीको अर्थमन्त्री र गभर्नर भएपछि ट्युनिङ मिल्छ भन्ने आशामा पनि विष्णु पौडेल रुचाइएका हुन ।’–लगानीकर्ता रौनियारले भने ।

एमाले सरकारमा हुँदा शेयर बजार मैत्री नीतीहरुसहितको मौद्रिक नीति ल्याएको गभर्नर अधिकारीले एमाले सरकारबाट हटेपछि भने मार्जिन लेन्डिङमा ४–१२ करोडको सीमा, मार्जिन कर्जामा जोखिम भारलाई १ सयबाट १ सय ५० प्रतिशत पुर्याउने, लघुवित्तले १५ प्रतिशतभन्दा बढी लाभांश दिन नपाउने, बैंकहरुले छोटो अवधिको लागि शेयर खरिद गर्न नपाउनेलगायतका शेयर बजार प्रतिकुल नीतिहरु ल्याए । एमालेकै अर्थमन्त्री आएपछि यी पुँजी बजारको लागि अलोकप्रिय नीतिहरु विस्तारै सच्चिँदै जाने आशामा पनि एमालेबाटै अर्थमन्त्रीको आशा लगानीकर्ताले गरेका हुन । एमालेबाहेक अन्य पार्टीबाट अर्थमन्त्री भएमा पूर्वअर्थमन्त्री जनार्दन शर्मा र निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतकै कार्यकालमा जस्तो साइडवेजमै चल्ने आशामा पनि लगानीकर्ताले एमालेबाटै अर्थमन्त्रीको आशा गरेको हुन सक्ने उनले बताए । ‘एमालेबाट विष्णु पौडेल बाहेक अन्य कुनै व्यक्ति आए पनि बजारमा सकारात्मक प्रभाव पर्छ ।’–उनले भने ।

‘निवर्तमान अर्थमन्त्री प्रकाशशरण महतले शेयर बजारका लागि आवश्यक कामहरु नगरेको धेरै लगानीकर्तालाई लागेको थियो । एमालेकै गभर्नर रहेको बेला एमालेकै अर्थमन्त्री आउने भन्ने हल्लाले सोमबारको बजार एकाएक तात्यो ।’–नेपाल इन्भेष्टर्स फोरमका महासचिव राजन लम्सालले भने –‘बटममै रहेकाे बजारले बढ्ने निहुँ खोजिरहेको बेला राजनीतिक परिवर्तनले निहुँ मात्रै पाएको हो ।’
बजार बेस्सरी बढेको हुँदा एक तहका लगानीकर्ताले प्रोफिट बुक गर्न खोज्दा सेलिङ प्रेसरका कारण बजार घटेको उनले बताए । ‘अर्को भनेको माओवादीले नै फेरि पनि अर्थ मन्त्रालय लियो भने फेरि पनि गभर्नर र अर्थमन्त्रीको ट्युनिङ नमिलेर अहिलेकै अवस्थाको निरन्तरता हुने आँकलन लगानीकर्ताले गरे । अकस्मात बजार बढ्दा सेलिङ प्रेसर परेर र माओवादीको पोर्टफोलियोमा अर्थ मन्त्रालय जाने हल्लाले नै बजार घटेको हो ।’–उनले भने ।

एउटै पार्टीको गभर्नर र अर्थमन्त्री हुँदा मार्जिन कर्जाको सीमा, जोखिम भारलगायतमा लगानीकर्ताले गर्दै आएको मागहरु सम्बोधन गर्न अर्थमन्त्री अग्रसर हुने आशामा लगानीकर्ताले एमालेबाटै अर्थमन्त्रीको आशा गरेको उनले बताए ।

comments powered by Disqus

अर्थमन्त्रालयमा पुन, गृहमा रवि र रक्षामा विष्णु पौडेल कन्फर्म !

Mar 05, 2024 11:31 AM

सरकार विस्तारमा सबैभन्दा पेचिलो मानिएका अर्थमन्त्रालय र गृहमन्त्रालय कस्ले लिने भन्ने बारेको असमन्जस्यता हटेको छ । प्रमुख सत्तारुढ घटक एमाले अध्यक्ष र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालबीच अर्थमन्त्रालय माओवादीले लिने र गृहमन्त्रालय रास्वपाले लिने आन्तरिक सहमती भएको ओली निकट एक नेताले मेरो लगानीलाई जानकारी दिए । यद्धपी यो सहमती औपचारिकरुपमा भने अझै गरिएको छैन ।