फेब्रुअरी महिनामा कुल कारोबारुको ४३.२५ प्रतिशत कारोबार हाइड्रोपावर क्षेत्रको थियो। त्यस बाहेकका अन्य क्षेत्रको कारोबार १० प्रतिशतभन्दा कम थियाे। तर मार्चमा लगानीकर्ता हाइड्रोपावर क्षेत्रबाट मोडिन थालेको देखिएको छ। किनभने मार्च १९ सम्ममा कुल कारोबारको २९ प्रतिशत कारोबार मात्रै हाइड्रोपावर सेक्टरको छ। मार्चमा १३ प्रतिशत पैसा अन्य क्षेत्रमा डाइभर्ट भइसकेको छ।
फेब्रुअरी महिनामा कुल ५७ अर्ब ९३ करोड रुपैयाँको शेयर कारोबार भएको थियो जसमा २५ अर्ब ५ करोड रुपैयाँको कारोबार हाइड्रोपावर कम्पनीको मात्रै थियो। मार्च महिनाको १९ तारीकसम्ममा कुल ३७ अर्ब ९३ करोड रुपैयाँको शेयर कारोबार भएकोमा हाइड्रोपावर कम्पनीको ११ अर्ब १४ करोड रुपैयाँको शेयर कारोबार भएको छ।
मार्च महिनामा हाइड्रोपावर बाहेक अन्य उपसमूह, बैंकिङ्ग उपसमूह र लगानी उपसमूहको पनि कारोबार घटेको छ। कारोबार रकम घट्नुले लगानीकर्ताको आकर्षण घट्न थालेको र लगानीकर्ताले लगानी अन्य क्षेत्रमा डाइभर्ट गर्न थालेको संकेत गर्छ।
- कुन क्षेत्रमा बढाउँदैछन् लगानी?
लगानीकर्ताले उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, फाइनान्स र लाइफ इन्स्योरेन्समा लगानी डाइभर्ट गर्न थालेको देखिएको छ।
तथ्याँक अनुसार मार्च महिनामा उत्पादन तथा प्रशोधन उपसमूमा लगानीकर्ताले सबैभन्दा धेरै लगानी बढाएका छन्। फेब्रुअरी महिनाको तुलनामा मार्च महिनामा लगानीकर्ताले उत्पादन तथा प्रशोधन समूहमा करिब १२ प्रतिशतले लगानी बढाएका छन्।
मुख्य गरी पछिल्लो समय सिमेन्ट कम्पनीहरुमा लगानीकर्ताको आकषर्ण उच्च छ। तीनवटै कम्पनीहरु कारोबारका आधारमा शिर्ष स्थानमा पर्दै आएका छन्। नयाँ सिमेन्ट कम्पनी सर्बोत्तम सिमेन्ट बजारमा आएपछि त्यसले अन्य सिमेन्ट कम्पनीलाई थप तान्न सक्ने आँकलन गरेर पनि लगानीकर्ताले यस क्षेत्रमा लगानी बढाएका थिए। त्यस्तै केहि समय अघि सोहि समूहको बोटलर्स नेपालमा पनि लगानीकर्ताको राम्रो आकर्षण देखिएको थियो।
यसैगरी लघुवित्त उसमूहमा पनि लगानी बढाउन थालेको देखिएको छ। फेब्रुअरी महिनाको तुलनामा मार्चमा लघुवित्त उपसमूहमा लगानीकर्ताले करिब ५ प्रतिशतले लगानी बढाएका छन्। फेब्रुअरीमा कुल कारोबारको ३.६६ प्रतिशत कारोबार लघुवित्त क्षेत्रको थियो। तर मार्च महिनामा कुल कारोबारको ८.४६ प्रतिशत कारोबार लघुवित्त क्षेत्रको छ।
हाइड्रोपावर क्षेत्रका कम्पनीहरुको शेयरमूल्य बढेर उच्च हुन पुगेपछि लगानीकर्ताले नाफा बुक गरेर त्यो पैसा अन्य क्षेत्रका कम्पनीहरुमा लगानी गर्न थालेको तथ्याँकले देखाएको छ। पछिल्लो समय शेयर बजारमा लगानीकर्ताले सेक्टर परिवर्तन गर्दै लगानी गरीरहेका छन्। यसले गर्दा हरेक हप्ता फरक फरक क्षेत्रमा आकर्षण बढीरहेको देखिन्छ।
शेयर बजारमा सबैभन्दा ठूलो हिस्सा रहेको बैंकिङ्ग क्षेत्रमा भने लगानीकर्ताले अझै लगानी बढाउन नसकेको देखिन्छ। मार्चमा बैंकिङ्ग क्षेत्रको कारोबार झनै घटेको छ।