Ipo.aspx merolagani - सर्वोत्तम सिमेन्टको आधा कारोबार ‘अड लट’ बाट, डिम्याटमा शेयर हुँदा ‘अड लट’ मा कारोबार गर्न नपाइने निर्देशन कार्यान्वयन भएन

सर्वोत्तम सिमेन्टको आधा कारोबार ‘अड लट’ बाट, डिम्याटमा शेयर हुँदा ‘अड लट’ मा कारोबार गर्न नपाइने निर्देशन कार्यान्वयन भएन

Mar 20, 2024 06:00 AM MeroLagani

बाबुकृष्ण महर्जन

डिम्याट खातामा पर्याप्त शेयर भएमा अडलटमा कारोबार गर्न नपाइने व्यवस्था भए पनि नेप्सेको टीएमएसमा भने निर्वाध अडलट कारोबार हुने गरेको छ । मंगलबारदेखि मात्रै कारोबारमा आएको सर्वोत्तम सिमेन्टको शेयर भने झन्डै आधा कारोबार अडलटमा भएको देखिएको छ ।

सर्वोत्तम सिमेन्ट (SARBTM) को शेयर पहिलोपटक बुक बिल्डिङ विधिमार्फत निष्काशन गरिएको थियो । यो विधि अनुसार शेयर निष्काशन गर्दा प्रत्येक लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयर प्राप्त गरेका छन । बुक बिल्डिङमा सर्वसाधारण लगानीकर्ताभन्दा १० प्रतिशत महंगो अर्थात न्यूनतम ४ सय २ रुपैयाँमा शेयर किनेका योग्य संस्थागत लगानीकर्ताले किनेको २४ लाख कित्ता शेयर ६ महिनासम्म होल्ड हुने प्रावधान रहेको छ । म्युचुएल फन्डले प्रत्येक आइपीओको कोटामा पाउने शेयरलाई पहिलो कारोबार दिन नै ठूलो मात्रामा बिक्रीमा राखेर बजार झार्ने गरेको आरोप लागेपछि धितोपत्र बोर्डले म्युचुएल फन्डको शेयर ६ महिनासम्म बेच्न नपाउने प्रावधान लगाएको थियो । सर्वोत्तम सिमेन्टको स्थानीय आयोजना प्रभावितले पाएको शेयर, कम्पनीका कर्मचारीले पाएको शेयर र कम्पनीकै संस्थापक शेयरको लकिङ पिरियड साधारण शेयर बाँडफाँट भएको मितिले ३ वर्षसम्म बिक्री गर्न नपाइने प्रावधान यथावत छँदैछ । अब सर्बोत्तमको सिमेन्टको कारोबारमा आउने शेयर भनेको वैदेशिक रोजगारमा गएका कामदारले पाएको शेयर र सर्वसाधारणले पाएको शेयर मात्रै हो । सर्वसाधारणलाई निष्काशन गरेको शेयर आवेदनकर्ता मध्येबाट ५५ हजार र वैदेशिक रोजगारमा गएका कामदारमध्येबाट १ हजार जति आवेदनकर्ताले मात्रै शेयर पाएका छन् ।

हरेक आवेदकले न्यूनतम ५० कित्ता शेयर पाएको भए पनि सर्वोत्तम सिमेन्टको पहिलो दिनको कारोबारमा झन्डै आधा कारोबार अड लटको कारोबार भएको छ । न्यूनतम ५० कित्ता शेयर पाएको भए पनि मंगलबार सर्वोत्तम सिमेन्टको १ कित्ता कारोबार ११ पटक, २ कित्ता २ पटक, ३ कित्ता ७ पटक, ४ कित्ता २१ पटक, ५ कित्ता ४ पटक, ७ कित्ता ५ पटक, ८ कित्ता २ पटक र ९ कित्ता १४ पटक कारोबार भएको छ । नेप्सेमा १० कित्ता भन्दा कम कित्ताको शेयर कारोबार अड लट समूहमा रहेर गर्नुपर्छ ।
नेपाल स्टक एक्सचेन्जले २०७९ साल बैशाख २५ गते सम्पूर्ण दलाल कम्पनी र सरोकारवाला पक्षलाई सम्बोधन गर्दै एक निर्देशन जारी गरेको थियो । निर्देशनमा लगानीकर्ताको डिम्याट खातामा १० कित्ता भन्दा बढी कित्ता शेयर भएमा अडलट कारोबार गर्न निषेध गरिएको थियो । नेप्सेको नियमित कारोबार सेसनमा १० कित्ता भन्दा बढीको शेयर मात्रै कारोबार हुन्छ भने सो भन्दा तलको शेयर कारोबार गर्नुपर्दा अड लट सेसनमा गर्नुपर्छ । अडलट सेसनमा कारोबार गर्दा शेयर किन्ने र बेच्नेले राखेको मूल्य देखिंदैन । नेप्से टीएमएसको यही लुपहोललाई प्रयोग गरेर बोरे लगानीकर्ताले अन्य व्यक्तिको नाममा परेको आइपीओको शेयर आफ्नो नाममा रुपान्तरण गर्दै आएका थिए ।

अर्काको नाममा परेको शेयर आफ्नो नाममा ल्याउन धेरै बोरे लगानीकर्ताले यही अड लट सेसनको प्रयोग गरेको देखेपछि नेप्सेले अड लट कारोबार निषेध गरेको थियो । नेप्सेले एउटा सूचना जारी गरेर अड लट कारोबार नगर्न बन्देज लगाए पनि निर्वाध रुपमा अड लट कारोबार भइरहेको छ। नेप्सेका अधिकारी डिम्याटमा पर्याप्त शेयर हुँदा हुँदै पनि अडलट कारोबार गरेको पाइएमा सो कारोबार गर्ने लगानीकर्ताको ब्रोकरलाई सचेत गराइने बताए । ‘डीपी चेक गरेर १० कित्ता भन्दा कम भएमा मात्रै अड लटमा कारोबार गर्न दिने प्रणाली भने अझै विकास गरिसकिएको छैन ।’–उनले भने ।

धितोपत्र बोर्डले शेयर बाँडफाँट नीति परिवर्तन गरेर हरेक आवेदकले १० कित्ता शेयर पाउने प्रावधान ल्याएपछि अर्काको नाममा पनि शेयर भर्ने प्रवृत्ति मौलाउँदै गयो। माग भन्दा धेरै आवेदन परेपछि पछिल्लो समय हरेक आइपीओ गोलाप्रथाबाट १० कित्ता मात्र बाँडफाँट हुने गरेको छ । नियमित आइपीओमा यो प्रक्रियाबाट बाँडफाँट भए पनि बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन हुँदा भने आवेदनकर्ताले न्यूनतम ५० कित्ताको लागि आवेदन दिनुपर्ने र बाँडफाँट गर्दा पनि न्यूनतम ५० कित्ता नै गर्नुपर्ने नियम रहेको छ । सर्वोत्तम सिमेन्टको सवालमा करिब ५५ हजार लगानीकर्तालाई मात्रै शेयर परेकाले बजारमा शेयरको सप्लाई कम हुन्छ भन्ने आँकलन गरिएको छ । सर्वोत्तमको शेयरको लागि करिब १० लाख लगानीकर्ताले निवेदन दिएका थिए ।

सर्वोत्तम सिमेन्टको सञ्चालकले अन्य कम्पनीले जस्तो बोनस शेयर र हकप्रद शेयर दिएर पुँजी वृद्धि नगर्ने सार्वजनिक अभिव्यक्ति दिएका कारण कम्पनीबाट नगद लाभांश मात्रै आशा गर्न सकिन्छ । नेपालको पुँजी बजारमा न्यून चुक्ता पुँजी र नगद लाभांश मात्रै दिएर पुँजी वृद्धि नगर्ने कम्पनीको शेयर मूल्य अत्यधिक रहेको छ । युनिलिभर नेपाल लिमिटेडको चुक्ता पुँजी साढे ९ करोड रुपैयाँ मात्रै छ भने कम्पनीको शेयर मूल्य ४० हजार रुपैयाँको हाराहारीमा छ । कम्पनीको रिजर्भमा चुक्तापुँजी भन्दा हजारौं गुणा बढी रकम छ । सिमित रुपमा नगद मात्रै दिने कम्पनीको रिजर्भ बलियो हुने प्रक्षेपणसहित भविष्यमा कम्पनीको शेयर मूल्य बढ्ने अपेक्षा गर्न सकिन्छ । यद्यपि अहिले हेर्दा समकक्षी सिमेन्ट कम्पनीकै हाराहारीमा सर्वोत्तम सिमेन्टको पनि नेटवर्थ रहेको छ तर पहिलो कारोबारमै सर्वोत्तमको शेयर मूल्यले पुरानो सुचीकृत शिवम, घोराही र सोना भन्दा माथि रहेर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जले सामान्य निर्देशन मात्रै दिएर यसबाट पन्छिन नमिल्ने एक लगानीकर्ताले बताए । अड लट कारोबारमा नेप्से गम्भिर हुनुपर्ने उनले सुझाव दिए । ‘टीएमएसमा सामान्य कोडिङ परिवर्तन गरेर रोक्न सकिने विषयमा पनि नेप्से अगाडि बढ्दैन । लगानीकर्ताको डीपी चेक गर्ने प्रणाली विकास गरेर त्यसमा शेयर कित्ता १० भन्दा कम भए मात्रै अड लटमा कारोबार गर्न दिने नत्र अड लटमा कारोबार गर्ने विकल्प नै डिसेबल गर्नुपर्छ । प्रोग्रामिङको ज्ञान भएको सामान्य प्रोग्रामरले पनि यो सजिलै बनाउन सक्छ।’–उनले भने ।

comments powered by Disqus

महरा पक्राउपछि माओवादी नेता लेखनाथ न्यौपानेले उठाएको प्रश्न प्रचण्ड कसरी चोख्खै?

Mar 18, 2024 06:25 PM

पूर्वअर्थमन्त्री, सभामुख तथा माओवादी नेता कृष्णबहादुर महरा फेरि पक्राउ परे । ३ वर्ष अघि सभामुख हुँदा जवर्जस्ती करणी अभियोगमा पक्राउ परेपछि उनी सभामुखबाट वर्खास्त भएका थिए ।