Ipo.aspx merolagani - दुई कारणले सुनको भाउ आकासियाे, व्यावसायी भन्छन्- एक लाख ३५ हजारसम्म पुग्न सक्ने सम्भावना देखियाे

दुई कारणले सुनको भाउ आकासियाे, व्यावसायी भन्छन्- एक लाख ३५ हजारसम्म पुग्न सक्ने सम्भावना देखियाे

Mar 29, 2024 05:05 PM Merolagani

सुनकाे मुल्यले ऐतिहासिक रेकर्ड कायम गरिरहेकाे छ । शुक्रबार सुनकाे भाउ हालसम्मकै उच्च मुल्यमा काराेबार भइरहेकाे छ । शुक्रबार सुनको भाउ एकैदिन तोलामा २ हजार १०० रुपैयाँले बढेर प्रतिताेला एक लाख ३० हजार रूपैयाँ पुगेको छ।

गत साता जस्तै यो साता पनि सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको हाे । साताको तेस्रो दिन सामान्य घटेको मुल्य त्यसपछिका दिनमा क्रमशः बढेर साताको पछिल्लो कारोबार भएको दिन अर्थात शुक्रबार भने हालसम्मकै उच्च मुल्य कायम भयो । पछिल्लाे तीन दिनमा नै सुन ताेलामा ३ हजार ६०० रूपैयाँले महंगिएकाे हाे ।

किन महंगिदैछ सुन ?

विश्व बजारमा सुनकाे भाउ आकाशिएसँगै नेपाली बजारमा पनि यसकाे प्रभाव परेकाे हाे । अमेरिकी डलरको मुल्यमा देखिएको मजवुतिसँगै त्यसको प्रभाव सुनको मुल्यमा पर्दै गएको बिश्लेषकहरुले बताएका छन्।

विश्व बजारमा यतिबेला अमेरिकन फेडरल बैंकले पटक पटक ब्याजदर घटाउने भनेका कारण पनि सुनकाे भाउ बढ्न सहयाेग पुगेकाे छ । लगानीकर्ताहरूले बैंकबाट रकम निकाल्दै सुनमा लगानी गरेकाे हुँदा पनि सुनकाे माग बढेकाे छ । जसकारण सुनकाे भाउ ह्वात्तै बढेकाे विश्लेषकहरूले बताइरहेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनकाे भाउ बढ्नुकाे अर्काे कारण रूसका राष्ट्रपति पदमा भ्लादिमिर पुटिन पुनः निर्वाचित हुँदा आणविक हमला हुने संकेत देखिएकाले हाे। साेहि त्रासका कारण अन्तरराष्ट्रिय बजारमा सुनलाई सुरक्षित लगानीका रूपमा मानिएकाे छ र लगानी सुनमाथि नै थुप्रि रहेकाे छ । महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले आणविक आक्रमण गरिने भनिएकाले लगानीकर्ताहरूले सुनमा नै लगानी गरिरहेकाे बताए। उनले भने, "एकातिर बैंकले ब्याज कम गर्दैछ, अर्काेतिर आणविक आक्रमण हाेला जस्ताे छ । यसरी सुरक्षित लगानी त सुन नै हुने हाे भन्ने उनीहरूलाई लागेकाे छ । मानिसहरू बजारमा दाैडिनासाथ बजारमा प्रेसर बढ्दछ । यसरी सुनकाे माग बढ्छ र भाउ पनि बढ्दै जान्छ ।" 

सुनकाे भाउ एक लाख ३५ हजारसम्म पुग्न सक्ने

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनकाे भाउ थप बढ्न सक्ने संकेत देखिएकाे छ । महासंघका महासचिव बज्राचार्य भन्छन्, "सुनकाे भाउ अझै २/४ दिन बढ्न सक्छ । सुन ताेलाकाे एक लाख ३५ हजार रूपैयाँसम्म पुग्ने अनुमान गर्न सकिन्छ ।" 

तर रूस र युक्रेनबीचकाे युद्ध केहि साम्य हुने भएमा भने सुनकाे भाउ घट्ने पनि उनकाे अनुमान रहेकाे छ । "युद्ध विरामकाे सहमति हुने जस्ताे भएमा भाउ घट्न सक्छ । तर अमेरिकी फेडरल बैंककाे ब्याजदर घटाउने प्रेसरका कारण पनि घट्न नदिन सक्छ । सुनकाे भाउ घटेमा एक लाख १५ हजारसम्म झर्नसक्छ । तर यदि भएन भने सुनकाे भाउमा अस्थिरता देखिने र भाउमा सामान्य उतारचढाव देखिन सक्ने उनकाे भनाइ छ। लङ टर्ममा भने २ लाखसम्म पुग्न सक्ने सम्भावना देखिएकाे छ," उनले थपे ।

नेपाली बजारमा पनि यो साता सुनको मुल्य बढेको छ । साताको पहिलो दिन आइतबार सार्वजनिक विदाका कारण मुल्य निर्धारण भएन ।

दोस्रो दिन प्रतिताेला एक लाख २६ हजार ७०० रुपैयाँ रहेको सुनको मुल्य तेस्रोदिन सामान्य घटेकाे थियाे । मंगलबार सुन प्रतिताेला एक लाख २६ हजार ४०० रूपैयाँमा काराेबार भएकाे थियाे । त्यसपछि भने बुधबार सुनकाे मूल्य पुनः बृद्धि भई प्रतिताेला एक लाख २६ हजार ८०० रूपैयाँमा पुगेकाे थियाे । तर बिहीबार भने सुनकाे मूल्यमा फेरि नयाँ रेकर्ड बन्याे । हिजाे सुन प्रतिताेला एक लाख २७ हजार ९०० रूपैयाँकाे उच्चस्तरमा खरिदबिक्री भएकाे थियाे ।

तर साताको पछिल्लो कारोबार दिन शुक्रबार पनि सुन हालसम्मकै उच्च अर्थात प्रतिताेला एक लाख ३० हजार रूपैयाँ पुग्यो । यो मूल्य साताको पहिलो दिनको तुलनामा अन्तिम दिनसम्म प्रतिताेला  ३ हजार ३०० रुपैयाँले बढी हो ।

यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको दोस्रो दिन साेमबार प्रतिताेला एक हजार ५१५ रूपैयाँ कायम रहेको थियो । साताको तेस्रो र चौथो दिनमा सामान्य घटेकाे थियाे । तर पाँचौं र छैटौ दिन भने फेरि उकालो लागेर प्रतिताेला एक हजार ५१० रूपैयाँसम्म पुगेकाे थियाे । साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रतिताेला एक हजार ५२५ रुपैयाँ कायम भयो । यसरी याे साता चाँदी ताेलामा नै १५ रूपैयाँले बढेकाे देखिन्छ ।

comments powered by Disqus

दुर्गा प्रसाईंले अदालतबाट ‘न्याय’ पाउंँदा बैंकिङ क्षेत्र तरगिंत, अब डा. गोविन्द केसी के गर्लान्?

Mar 26, 2024 08:11 AM

सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।