तर, अहिले अर्थमन्त्रीले जुन टीम सेट गरेका छन्, त्यसमध्येका केही नाम देख्दा भने अर्थमन्त्रालयकै अधिकारीहरु पनि आश्चर्यमा परेका छन् भने माओवादी नजिकका अर्थविद्हरु चाँहि ‘असमान्य घटना’ भन्दै अर्थमन्त्री ‘लिक’ बाहिर गैसकेको ठहर गरेका छन् । यस्ले गर्दा अगामी बजेट मात्रै होइन, देशको समग्र अर्थतन्त्रले सही दिशा लिन नसक्ने उनीहरुको ठम्याई छ ।
खासगरि आफूलाई निजामती कर्मचारी भन्दा पनि नेपाली कांग्रेसको कार्यकर्ता हुँ भन्नेमा गर्व गर्ने बजेट महाशाखाका तत्कालिन प्रमुख उत्तरकुमार खत्रीलाई अर्थमन्त्रालयबाट अरु नै मन्त्रालयमा सरुवा गरिने र उनको ठाउँमा माओवादीका ‘क्याडर’ रहेका शिवलाल तिवारीलाई लगिनेमा अर्थ मन्त्रालयका कर्मचारीहरु ढुक्क थिए । तर, मन्त्री पुनले खत्रीलाई बजेट महाशाखाको प्रमुखबाट हटाए पनि आफ्नो ‘कोर टीम’ को हिस्सा बनाउँदै योजना, अनुगमन तथा मूल्याँकन महाशाखाको प्रमुख बनाएका छन् । यो महाशाखा बजेट महाशाखा पछि अर्थमन्त्रालयको सबैभन्दा प्रभावकारी महाशाखा मानिन्छ । अर्थमन्त्रालयका सहसचिवहरु बजेट महाशाखा वा योजना, अनुगमन तथा मूल्याँकन महाशाखा प्रमुखमा सरुवा हुनुलाई ‘प्रमोसन’ कै रुपमा लिने गर्छन् । र, अर्थमन्त्रीको ‘कोर टीम’ को एउटा महत्वपूर्ण सदस्यको रुपमा उक्त महाशाखा प्रमुखलाई लिने गरिन्छ ।
यसरी अर्थमन्त्री पुनले खत्रीलाई बजेट महाशाखाबाट योजना तथा अनुगमन र मूल्याँकन महाशाखामा सरुवा गर्नुलाई अर्थमन्त्रालयका अधिकारीहरु ‘खतरनाक सेटिङ’ को रुपमा लिइरहेका छन् । किनकी खत्री राजनीतिकरुपमा अति नै पूर्वाग्रही र खासगरि वामपन्थी हौं भन्नेहरुलाई देखि नसहने व्यक्ति हुन् । आफ्ना खाँट्टी कार्यकर्ता भएकैले यस अघिका अर्थमन्त्री डा. प्रकाश शरण महतले श्रम तथा रोजगार मन्त्रालयमा रहेका खत्रीलाई मन्त्रालय नै परिवर्तन गरेर अर्थमन्त्रालयमा मात्रै ल्याएका थिएनन्, सबैभन्दा महत्वपूर्ण बजेट महाशाखाको प्रमुख नै बनाएका थिए ।
त्यस्ता विवादास्पद सहसचिवलाई योजना माहाशाखाको प्रमुख बनाउनु सामान्य घटना नभएको माओवादीको वुद्धिजिवी संगठनका एक पदाधिकारीले बताए । ‘वामपन्थीहरु, त्यसमा पनि माओवादीप्रति खत्रीको व्यवहार कति संकिर्ण छ भन्ने निजामती प्रशासनका लगभग हरेक जसोलाई थाहा छ । तर, त्यस्ता व्यक्तिलाई अर्थमन्त्रीले कोर टीममा राख्नु सामान्य कुरा होइन, होइन सक्दैन । यस्को बारेमा हामी प्रधानमन्त्रीसँगै कुरा गर्ने तयारीमा छौं’ ती पदाधिकारीले नाम उल्लेख नगरिदिन अनुरोध गर्दै भने ।
यता खत्रीको ठाउँमा बजेट महाशाखा प्रमुख बनाइएका रितेशकुमार शाक्य ‘खाँट्टी माओवादी क्याडर’ हुन् । यसअघि अर्थमन्त्रालयकै राजश्व व्यवस्थान महाशाखा प्रमुख थिए । उनी गत वर्ष आन्तरिक राजश्व विभागको महानिर्देशक रहँदा विवादास्पद ठेकेदार दीपक भट्टसँगको मिलेमतोमा राम्रै ‘हात चाटेको’ कारण चर्चामा थिए । त्यतिबेला शाक्यले केही विवादास्पद व्यापारिक घरानाका व्यक्तिहरुले तिर्नु पर्ने कर घटाएर तिराएको आरोप लाग्दै आएको छ । खाँदबारी संखुवासभाका शाक्य क्रान्तीकारी कम्युनिष्ट नेता बासु शाक्यका नातेदार हुन् । त्यही वाहानामा माओवादीसँग जोडिएका शाक्य कृष्णबहादुर महरा अर्थमन्त्री हुँदा टीम सेट गर्ने क्रममा भैरहवा भन्सार कार्यालयको प्रमुख बनाइएको थियो ।
यसअघि योजना तथा अनुगमन र मूल्याँकन महाशाखा प्रमुख रहेका धनीराम शर्मालाई राजश्व व्यवस्थापन महाशाखा प्रमुख बनाइएको छ । बजेट निर्माणमा सबैभन्दा महत्वपूर्ण भूमिका बजेट महाशाखा, योजना तथा अनुगमन र मूल्याँकन महाशाखा र राजश्व व्यवस्थापन माहाशाखाको रहने गरेको छ । धेरैले अर्थमन्त्री पुन नियुक्त भएपछि बजेट महाशाखाको प्रमुख शिवलाल तिवारीलाई बनाउने अनुमान गरेका थिए । माओवादीका ‘क्याडर’ रहेका तिवारी तुलनात्मकरुपमा इमान्दार सहसचिवहरु मध्येमा गनिन्छन् । तर, पुन वन तथा वातावरण मन्त्रालय अन्तरगतको वातावरण विभाग प्रमुख रहेका तिवारीलाई अर्थमन्त्रालयमा ताने भने बजेट माहाशाखा प्रमुख बनाएनन्, आन्तरिक राजश्व विभागको महानिर्देशक बनाएका छन् । सो विभागमा तत्कालिन अर्थमन्त्री महतले करिब दुई महिना अगाडि महानिर्देशक बनाएका भूपाल बराललाई भने मन्त्रालय नै परिवर्तन गरि तिवारीको ठाउँमा पठाइएको छ ।
मन्त्री पुनले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र प्रमुखमा सरुवा गरेर उनको ठाउँमा ढुण्डिप्रसाद निरौलालाई महानिर्देशक बनाएका छन् ।