Ipo.aspx merolagani - नयाँ सत्ता गठबन्धनप्रति भारतको आक्रामक नीति, सम्झौता भन्दा ३ गुना महंगो विजुली खरिद गर्न दबाब, चैत्र अन्त्यदेखि लोडसेडिङको सम्भावना

नयाँ सत्ता गठबन्धनप्रति भारतको आक्रामक नीति, सम्झौता भन्दा ३ गुना महंगो विजुली खरिद गर्न दबाब, चैत्र अन्त्यदेखि लोडसेडिङको सम्भावना

Mar 26, 2024 03:19 PM Merolagani

नेपालमा चीन पक्षधर मानिएको वामपन्थी वाहुल्य भएको नयाँ गठबन्धन सरकार बनेपछि रिसाएको भारतले विद्युत खरिद विक्री सम्झौता नविकरणमा आनाकानी गरेको छ । यसले गर्दा नेपालमा चैत्रको अन्तिमदेखि लोडसेडिङ हुने सम्भावना बढेको छ ।

इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) बाट नेपालले २०७८ वैशाखदेखि बिजुली खरिद गर्दै आएको छ । पाँच वर्षको यो अनुमति हरेक वर्ष नवीकरण गर्नुपर्ने सर्त छ । गत वर्ष नवीकरण गरिएको म्याद १८ चैत (३१ मार्च) मा सकिँदै छ । तर अब एकसाता पनि बाँकी नरहँदासमेत नवीकरण नभएकाले नेपाल विद्युत् प्राधिकरण दबाबमा परेको छ ।

भारतले प्रतिस्पर्धी बजारबाट विद्यूत् ल्याउने अनुमति नवीकरण गर्नुको सट्टा ग्याँस प्लान्टको बिजुली खरिद गर्न अनौपचारिकरुपमा प्रस्ताव गरेको उर्जा मन्त्रालयका एक अधिकारीले मेरो लगानीलाई जानकारी दिए । तर, नेपाली अधिकारीहरु सम्झौता भन्दा झण्डै ३ गुना महंगो ग्याँस प्लाण्टबाट उत्पादित विजुली खरिद गर्न सम्भव नभइरहेको बताइरहेका छन् । ‘ग्यास प्लान्टबाट उत्पादित विद्युतको मूल्य प्रतियुनिट झन्डै १० भारु (१६ रुपैयाँ) पर्छ । जबकि २०७८ बाट नेपालले भारतको प्रतिस्पर्धी बजारबाट औसतमा प्रतियुनिट ३ भारुमा विद्युत् खरिद गरिरहेको छ ।’ मन्त्रालयका अधिकारीले भने ।

भारतीय पक्षले सम्झौता नविकरणमा चासो नदिनुलाई कुनै स्पष्ट जवाफ दिएको छैन । केही अधिकारीहरुले नेपाली पक्षसँग अप्रिलदेखि जुनसम्म हुने भारतीय संसद, लोकसभा चुनावपछि नविकरण गर्न सकिने बताएका छन् । जबकि नेपालमा विद्युतको माग हुने समय नै त्यही हो । र, भारतले चाहेमा लोकसभा चुनावकै कारण यो सम्झौता नविकरण हुन नसक्ने अवस्था छैन । तर, नेपालले पटक पटक ताकेता गर्दा पनि भारतले नवीकरण गरेको छैन ।

भारतीय अधिकारीहरुले नेपाली अधिकारीहरुसँग लोकसभा चुनावलाई कारण देखाए पनि यथार्थ भने नेपालमा परिवर्तन भएको राजनीतिक घटनाक्रम हुन सक्ने आशंका सरकारी अधिकारीहरुले गरिरहेका छन् । किनकी नेपालमा यस अघि सत्तामा रहेको कांग्रेस, माओवादी गठबन्धनलाई भारत परस्त रहेको मानिन्थ्यो । भारतीय संस्थापन पक्षले उक्त गठबन्धनमार्फत नेपालमा आफ्नो स्वार्थ अनुसारका कामहरु गराइरहेको चर्चा व्याप्त थियो । तर, अचानक चीन पक्षीय मानिएको एमालेसहितको गठबन्धन बनेर भारत परस्त मानिएको नेपाली कांग्रेस सत्ताबाट बाहिरिएपछि भारतीय संस्थापन पक्ष आक्रोशित भएको नेपाल र भारतका कुटनीतिज्ञहरु बीच चर्चा चलिरहेको छ । तर, उस्ले सोझै विरोध वा कुनै प्रतिकृया जनाउनु भन्दा घुमाउरो पाराले बर्तमान गठबन्धनलाई तह लगाउने अस्त्रहरुको उपयोग गर्न थालेको कुटनीतिक क्षेत्रका व्यक्तिहरु बताउँछन् । त्यहीक्रममा अहिले विद्युत खरिद सम्झौता नविकरणबाट पछि हटेको आशंका नेपाली पक्षले गरेको छ ।

नेपालले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतसँग ६५० मेगावाटसम्म विद्युत् आयात वा निर्यात गर्न सक्छ । सुक्खायाममा भारतबाट अधिकतम ४५० मेगावाट विद्युत् आयात गर्छ भने वर्षामा नेपालले भारतलाई निर्यात गर्दै आएको छ । प्राधिकरणकाअनुसार बैशाख र जेठमा नेपालमा विद्युतको कुल माग करिब २ हजार मेगावाट पुग्नेछ जबकि आन्तरिक उत्पादन क्षमता भने करिब १४ सय मेगावाट मात्रै हुनेछ । ६ सय मेगावाट अपुग हुने अवस्थामा प्राधिकरणले भारतबाट आयात गरी माग सन्तुलन गर्दै आएको थियो । तर भारतले विद्युत् आयात अनुमतिमा नवीकरण नगरे लोडसेडिङ गर्नुको विकल्प छैन।

प्राधिकरण र उर्जा मन्त्री शक्ति बस्नेतले गरेको प्रयास असफल भएपछि उर्जा मन्त्रालयले राजनीतिक तवरबाटै समाधान गर्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएको छ । तर, प्रधानमन्त्री दाहालले भने अहिलेसम्म भारतीय समकक्षी नरेन्द्र मोदीसँग यसबारेमा कुरा गरेका छैनन्।

comments powered by Disqus

दुर्गा प्रसाईंले अदालतबाट ‘न्याय’ पाउंँदा बैंकिङ क्षेत्र तरगिंत, अब डा. गोविन्द केसी के गर्लान्?

Mar 26, 2024 08:11 AM

सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।