Ipo.aspx merolagani - गत साता करिब १ प्रतिशत घटेको नेप्से, यस साता के होला?

गत साता करिब १ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Aug 25, 2024 06:40 AM Merolagani

गत साता नेप्से परिसूचक करिब १ प्रतिशत घटेर बन्द भएको थियो। अघिल्लो साता ३०००.८१ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.८८ प्रतिशत अर्थात २६.३५ अंक घटेर २९७४.४६ विन्दुमा झरेको छ।

गत साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन मात्र बजार खुलेको थियो। जसमध्ये १ कारोबार दिन बजार घटेको थियो भने दुई कारोबार दिन सामान्य अंक बढेको थियो।

 

प्रतिरोध परीक्षणमा

गत साता नेप्से प्रतिरोध परीक्षणमा देखिएको छ। हाल नेप्सेको प्रतिरोध क्षेत्र २९३० देखि ३००५ सम्म रहेको छ। गत साता नेप्सेले सोही क्षेत्र परीक्षण गरेको हो। यस साता सो प्रतिरोधलाई तोडेर उकालो लागेमा ३१७० देखि ३२३० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। तर सो क्षेत्रबाट ओरालो लागेमा भने २६०० देखि २६६० को क्षेत्रमा टेवा पाउन देखिन्छ।

बिक्रीकर्ता हाबी

गत साता साप्ताहिक रुपमा नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा खरिदकर्ताको तुलनामा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ। साताको अन्तिम कारोबार दिन भने नेप्सेले ग्रेभस्टोन डोजी मैनबत्ती बनाएको छ। यसले आगामी दिनमा बजार घट्न सक्ने संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता घटेपनि भोल्यूम भने बलियो रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा २२ अर्ब ३० करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम २० अर्ब ९६ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ६.३९ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यस्तै, नेप्सेको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा रहेको छ। यसले गत साता बजार बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन एमएसिडी रेखा र सिग्नल रेखा बिचको दूरी साँघुरिएको छ भने हिस्टोग्रामको उचाई घटेको छ। आगामी दिनमा एमएसिडी रेखाले सिग्नल रेखालाई माथिबाट काटेर तल लागेमा बियरिश क्रशओभर बन्नेछ जसले बजार घट्ने संकेत गर्दछ।

खरिदचाप बढी

साताको अन्तिम कारोबार दिन नेप्सेको स्टकास्टिक आरएसआई ओभरबट जोनमा रहेको छ। यसले सो साता बजारमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus