Ipo.aspx merolagani - सुनको मूल्य किन घटिरहेको छ ? भन्सार दर घटाइए एक लाख ५० हजारसम्म झर्ने प्रक्षेपण, यसकारण तेजाबीकाे मूल्य तय गर्ने काम बन्द

सुनको मूल्य किन घटिरहेको छ ? भन्सार दर घटाइए एक लाख ५० हजारसम्म झर्ने प्रक्षेपण, यसकारण तेजाबीकाे मूल्य तय गर्ने काम बन्द

Nov 12, 2024 03:16 PM merolagani

सुवास निरौला

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार घट्दो क्रममा देखिएको छ। त्यसको असर नेपाली सुन बजारमा समेत पर्दै गइरहेको छ। यस अघि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य २७ सय ८६ डलरसम्म उक्लियो। त्यस दिन नेपाली बजारमा सुनको मूल्य एक लाख ७१ हजारसम्म उक्लियो। त्यसपछि भने सुनको मूल्य घट्दो क्रममा छ। 

मंगलबार सुनको मूल्य घटेर एक लाख ६२ हजार ६ सय रुपैयाँ कायम भएको छ। जुन सरदर ८ हजार रुपैयाँ कम हो। बुधवार सुनको मूल्य थप घट्दै छ। किनकि मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औस २६ सय डलर भन्दा तल ओर्लिएको छ। २६ सय डलर नै कायम भएपनि बुधवार नेपालमा सुनको मूल्य प्रति तोला एक लाख ६० हजारसम्म झर्ने अनुमान व्यवसायीको छ। “बुधवार सुनको मूल्य थप घट्न सक्छ। किनकि मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य २६ सय डलर भन्दा तल झरेको छ। २६ सय नै कायम भए नेपालमा सुनको मूल्य प्रति तोला एक लाख ६० हजारसम्म झर्न सक्छ,” नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेज रत्न शाक्यले भने।

शाक्यका अनुसार यो मूल्य अझै तल झर्न सक्छ। किनकि भन्सार दर घटाउने कुरा चलिरहेको छ। यदि सरकारले भन्सार दर घटाए सुनको मूल्य प्रति तोला १० हजारसम्म तल झर्न सक्छ। यदि अहिले कै अवस्थामा भन्सार दर घटाइए १० हजार रुपैयाँ प्रतितोलासम्म सुनको मूल्य घट्न सक्छ। भन्सार दर घटाउनै पर्ने आवश्यकता पनि छ। किनकि नेपालमा भन्दा भारतमा सुन सस्तो भएको छ। भारतले सुनमा लाग्ने भन्सार दर घटाए सँगै सुनको मूल्य नेपालमा भन्दा भारतमा सस्तो भएको हो। भारतमा सुन सस्तो भएका कारण नेपालमा सुन आयात हुन छाडेको छ। साउन यता बैंकले सुन आयात गरेका छैनन्। तर तिहार अघि बैंकहरुले ३८ किलो सुन आयात गरेका थिए। तर त्यो सुन समेत बैंकहरुले बिक्री गर्न सकेका छैनन्। भारत र नेपालमा सुनको मूल्यमा आएको अन्तर कै कारण बैंकहरुले सुन आयात नगरेका हुन्। तर नेपाली बजारमा सुनको कमी भने छैन। सबै जसो सुन भारतीय बजारबाट तस्करी भएर नेपाल आइरहेका छन्। सोही कारण नेपालमा सुन अभाव नभएको हो। यस्तो अवस्थामा सुन आयातबाट आउने राजस्व अहिले ठप्प छ। राज्यले यो क्षेत्रबाट आउने राजस्व आम्दानी गएको तीन महिना यता गुमाउँदै आएको छ। यता महासंघले पनि लगातार भन्सार दर घटाउनु पर्ने माग गरिरहेको छ भने बैंकले पनि सोही कुरा भनिरहेका छन्। जसले गर्दा राज्यले आज नभए भोलि भन्सार दरमा फेर बदल गर्नै पर्छ। नगरे यसबाट आउने राजस्व माया मार्नु पर्ने हुन्छ। त्यसकारण पनि राज्यले सुनको भन्सार दरमा ढिलो चाँडो परिवर्तन गर्छ भन्ने अनुमान गर्न सकिन्छ। अहिले २० प्रतिशत भन्सार लिने गरिएको छ।  

 सुनको मूल्य किन घटिरहेको छ ?

नेपालमा मात्रै नभएर सुनको मूल्य संसारभरि नै घटिरहेको छ। संसारभरि सुनको मूल्य घट्नुको एउटै प्रमुख कारण हो अमेरिकी राष्ट्रपति निर्वाचन र त्यसले ल्याएको नतिजा। सोही कारण संसारभरि नै सुनको मूल्य घटिरहेको बताइएको छ। “अमेरिकी राष्ट्रपति निर्वाचन अघि नै डोनाल्ड ट्रम्पले आफू राष्ट्रपति निर्वाचित भए अमेरिकी डलरलाई रिजर्भ करेन्सीको रुपमा विकास गर्ने  घोषणा गरेका थिए। सोही कारण नतिजा आए यता डलर मजबुत हुँदै गएको छ भने सुनको मूल्य घटिरहेको छ। विश्व बजारमा मानिसहरूले सुन बिक्री गरेर डलर जोहो गर्न थालेका कारण मूल्य घट्न पुगेको हो। डलरको माग बढ्दो छ भने सुनको माग घट्दो छ,” शाक्यले भने।

मूल्य घटे पनि विवाह सिजनमा समेत सुनको माग छैन

सुनको मूल्य घट्दो क्रममा छ। तर पनि बजारमा सुनको माग भने छैन। आम सर्वसाधारण उपभोक्ताले अझै मूल्य घट्छ भन्ने अनुमान गरिरहेका छन्। सोही कारण विवाहको सिजनमा समेत सुनको माग छैन। “अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य यसै घटिरहेको छ। अर्को तर्फ नेपालमा भन्सार दर समेत परिवर्तन हुन्छ भन्ने अनुमान भइरहेको छ। जस कारण सुनको मूल्य थप घट्छ भन्ने अनुमानका कारण उपभोक्ता 'वेट एण्ड सी' मा छन्। अहिले विवाहको सिजनमा समेत सुनको माग छैन। बाध्यता हुनेले मात्रै सुन किनिरहेका छन्,” शाक्यले भने।

यसकारण तेजाबी सुनको मूल्य तय गर्ने काम बन्द गरियो

सुनचाँदी व्यवसायी महासंघले हरेक दिन सुनको मूल्य तय गर्ने गर्छ। कोभिड अघिसम्म दुई थरी सुनको मूल्य तय हुने गरेको थियो। जसमा छापावाला सुन र तेजाबी हुने गरेका थिए। मूल्यको आधारमा छापावाला सुन अलि महँगो र तेजाबी सुन अलिकति सस्तो हुने गरेको थियो। तर अहिले तेजाबी सुन उत्पादन र मूल्य तय गर्ने काम दुवै बन्द गरिएको छ। तेजाबी सुनको उत्पादन बन्द हुनुको कारण भनेको सरकारको नीति नै रहेको बताइएको छ।

“पहिले पुरानो सुन गालेर तेजाबी सुन बनाउने गरिएको थियो। अन्तर्राष्ट्रिय मान्यता अनुसार सुनको मापदण्ड हुने गर्छ। जसमा १०  हजार युनिट हुनु पर्छ। तर १० हजार युनिट कै सुन उत्पादन कम मात्रै हुन्छ। त्यसकारण सुनमा ९ हजार ९ सय ९९ युनिट हुनु पर्ने मान्यता छ। सरकारले अहिले अत्याधुनिक मेसिन प्रयोग गरेर भएपनि ९ हजार ९ सय ९९ युनिटकै सुन हुनु पर्ने भनेपछि व्यवसायीले तेजाबी सुन उत्पादन बन्द गरेका हुन्। किनकि त्यसको अब आवश्यकता नै भएन। अब जति पनि सुन बिक्रीमा आउने छन्। ती सबै सुन छापावाल नै हुने छ,” शाक्यले भने।  

comments powered by Disqus

अमेरिका ‘वस्न लायक देश नरहेको’ भन्दै एलन मस्ककी छोरीद्धारा देश छोड्ने घोषणा

Nov 10, 2024 02:38 PM

अमेरिकामा राष्ट्रपतिको चुनाव परिणाम पछि सबैभन्दा धेरै खुसी हुने कोही छ भने त्यो एलन मस्क हुन् । संसारकै सबैभन्दा धनी मस्कले राष्ट्रपतिमा डोनाल्ड ट्रम्पलाई जिताउने के मात्रै गरेनन् ? उनकै दह्रो सहयोग पाएका ट्रम्पले चुनाव जिते र अब निर्वाचित राष्ट्रपति ट्रम्पले उनकै ‘रबर स्टाम्प’ जस्तो भएर काम गर्ने सम्भावना देखिदैंछ ।