Ipo.aspx merolagani - धमाधम एफपीओ जारी गर्दै माइक्रोफाइनान्सहरु, ४ ले अनुमति पाउँदा ३ वटा पाइपलाइनमा

धमाधम एफपीओ जारी गर्दै माइक्रोफाइनान्सहरु, ४ ले अनुमति पाउँदा ३ वटा पाइपलाइनमा

Mar 17, 2025 06:26 PM MeroLagani

आक्रामक मर्जरमा गएका लघुवित्तहरु अब शेयर संरचना मिलाउन धमाधम एफपीओ निष्काशनमा लागेका छन् । चालु आर्थिक वर्षको पहिलो ७ महिनामा ४ वटा कम्पनीले एफपीओ निष्काशनको अनुमति पाएको छ भने अझै ३ वटा कम्पनीहरु एफपीओ निष्काशनको अनुमति कुरेर बसेका छन् ।

नेपाल राष्ट्र बैंकको दबाब पछि माइक्रोफाइनान्सहरु धमाधम मर्जरमा गए । करिब १ सयको हाराहारीमा रहेका माइक्रोफाइनान्सहरु अहिले ५५ वटाको हाराहारीमा छन् । अझै केही जोडी माइक्रोफाइनान्स मर्जरको तयारीमा बसेका छन् । यस वर्ष साधारण सभा गर्ने अधिकांश माइक्रोफाइनान्सले मर्जर तथा एक्विजिसनको एजेन्डा राखेका छन् । हालै मात्रै ग्रामिण विकास लघुवित्त र समाज लघुवित्त मर्जरमा जाने सैद्धान्तिक सहमतिमा हस्ताक्षर गरेका छन् ।

साधारणतया बैंक तथा वित्तीय संस्थाले संस्थापक र साधारणको शेयर संरचना ७०ः३० को अनुपातमा हुनुपर्छ । साधारण शेयर संरचना मिलान गर्न लघुवित्तले एफपीओ विधिबाट शेयर निष्काशन गर्न लागेका हुन । हुन त एफपीओ निष्काशन गर्दा नेटवर्थको दुई गुणासम्म मूल्यमा निष्काशन गर्न अनुमति प्राप्त गर्न सकिने भए पनि अधिकांश माइक्रोफाइनान्सले भने १ सय रुपैयाँमै एफपीओ निष्काशनको अनुमति मागेका छन् । प्रिमियममा एफपीओ निष्काशन गर्न लगातार ३ वर्ष नाफा गरेको हुनुपर्ने लगायतका प्रावधान रहेकाले पनि लघुवित्तहरुले १ सय रुपैयाँमै शेयर निष्काशन गर्न अनुमति मागेका हुन । गत वर्ष अधिकांश लघुवित्तको वित्तीय विवरण सकारात्मक छैन । शेयर संरचना मिलानको लागि मात्रै एफपीओ निष्काशन गरेको हुँदा यिनीहरुले शेयर निष्काशन गरेको कित्ता एकदमै न्यून छ ।

चालु आवमा समता घरेलु, माहुली, स्वरोजगार र विन नेपाल लघुवित्तले एफपीओ निस्कासन गर्न अनुमति पाएका छन् । समता घरेलुले ३ लाख ५० हजार ९ सय ४ दशमलब २५ कित्ता, महुलीले ४ लाख ७५ हजार ४ सय ४९ दशमलब १५ कित्ता, स्वरोजगार लघुवित्तले १ लाख ९५ हजार ७ सय ७३ कित्ता र विन नेपाल लघुवित्तले ५६१ हजार २ सय ९२ दशमलब ५० कित्ता शेयर निष्काशन गर्न अनुमति पाएका छन् । स्वरोजगार लघुवित्तले हालै मात्रै एफपीओ निष्काशन गरेर सर्वसाधारणमा बाँडफाँट समेत भइसकेको छ भने अब विन नेपाल लघुवित्तको मात्रै एफपीओ निष्काशन हुन बाँकी छ ।

समता घरेलु र मनकामना स्मार्ट मर्ज भएर समता घरेलु लघुवित्त, माहुली सामुदायिक र नवकिरण लघुवित्त मर्जर मएर माहुली लघुवित्त, स्वरोजगार र जनकपुर मर्जर भएर स्वरोजगार लघुवित्त तथा विन लघुवित्त र नेपाल सभा लघुवित्त मर्जर भएर विन नेपाल लघुवित्तको नाममा एकिकृत कारोबार भएको थियो ।

त्यसैगरी अहिले सेबोनको एफपीओको पाइपलाइनमा चार कम्पनी रहेका छन् । चार कम्पनीमध्ये तीन कम्पनी लघुवित्त वित्तीय संस्था रहेको छ भने एक वटा हाइड्रोपवार कम्पनी रहेको छ जसमा बुटवल पावर कम्पनी लिमिटेड, नेशनल लघुवित्त बित्तीय संस्था लिमिटेड, विजय लघुवित्त बित्तीय संस्था लिमिटेड र किसन लघुवित्त बित्तीय संस्था रहेको छ । यी कम्पनीहरु नेपाल धितोपत्र बोर्ड (सेबोन) को एफपीओ निस्कासनको अनुमति पर्खिरहेका छन् ।

कुनको कति कित्ता ?

नेसनल लघुवित्त

नेसनलले ६ लाख ६९ हजार ९ कित्ता एफपीओ निस्कासनको लागि २०८१ साल भदौ ७ गते सेबोनमा निवेदन दिएको छ । संस्थाले प्रतिकित्ता एक सय रुपैयाँमा दरले एफपीओ निस्कासन गर्नेछ । शेयर बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । नेसनलले समित लघुवित्तसँग मर्जर गरेर नेसनल लघुवित्तको नाममा एकिकृत कारोबार गरेको थियो ।

विजय लघुवित्त

विजयले प्रतिकित्ता एक सय रुपैयाँको दरले ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निस्कासनको लागि २०८१ साल असोज २३ गते सेबोनमा निवेदन दिएको छ । शेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ । विजयले नयाँ सारथी लघुवित्तसँग मर्जर गरेर विजय लघुवित्तको रुपमा एकिकृत कारोबार गरेको थियो ।

तत्कालीन किसान लघुवित्त

किसानले प्रतिकित्ता एक सय रुपैयाँको दरले १६ लाख ६६ हजार ९६५ कित्ता एफपीओ निस्कासनको लागि २०७८ साल असार २९ गते सेवोनमा निवेदन दिएको छ। शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । किसान र जाल्पा सामुदायिक लघुवित्त मर्जर भएर मातृभुमी लघुवित्तको रुपमा एकिकृत कारोबार गरेको थियो ।

बुटवल पावर कम्पनी

बुटवल पावरले प्रतिकित्ता २०६.२९ रुपैयाँमा १ करोड कित्ता एफपीओ निस्कासनको लागि सेवोनमा निवेदन दिएर अनुमतिको पर्खाइमा रहेको छ । कम्पनीले २०८० साल फागुन २७ गते सेवोनमा निवेदन दिएको हो । शेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले यसअघि पनि ४ सय १ रुपैयाँ प्रिमियम थपेर ५ सय १ रुपैयाँमा ४० लाख ९० हजार कित्ता शेयर निस्कासन गरेको थियो ।

 

१२ बीमा कम्पनीको लाभांश घोषणा, अझै १२ कम्पनीको घोषणा हुन बाँकी

Mar 17, 2025 05:59 AM

आर्थिक वर्ष २०८०/८१ का लागि हालसम्म १२ वटा बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् जसमध्ये ६ वटा जीवन बीमा कम्पनी र ६ वटा निर्जीवन बीमा कम्पनी छन्।