Ipo.aspx merolagani - ‘टयाँकर युद्ध’ दाेहाेरिन सक्ने डरले इरानसँग आतंकित छन् अमेरिकासहितका धनी देशहरु,‘होर्मुज स्ट्रेट’ बन्द भए विश्वभर हाहाकार हुने

‘टयाँकर युद्ध’ दाेहाेरिन सक्ने डरले इरानसँग आतंकित छन् अमेरिकासहितका धनी देशहरु,‘होर्मुज स्ट्रेट’ बन्द भए विश्वभर हाहाकार हुने

Jun 17, 2025 06:37 PM mero lagani

इरान, इजरायल युद्ध चर्केको छ । युद्धको क्रममा के भइरहेको छ त्यो आफ्नो ठाउँमा छ । 

तर, विश्वभरका सरकार र विश्लेषकहरुको ध्यान भने ‘होर्मुज स्ट्रेट’ माथि छ । किनकी ‘होर्मुज स्ट्रेट’ बन्द भयो भने त्यसले विश्वभर हाहाकार मच्चाउनेछ । युरोपदेखि, अमेरिकासम्म र एशियादेखि अफ्रिकासम्म ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहितका विकसित देशका नेताहरु, सरकार यो युद्धबाट चिन्तित हुनुको मुख्य कारण ‘होर्मुज स्ट्रेट’ हो । लडाईका कारण भएको धनजनको क्षतिप्रति उनीहरुलाई चिन्ता हुँदो हो त गाजाको नर संहार रोक्न, रुस र युक्रेनको युद्ध रोक्न वा अफ्रिकी महादेशका धेरै मुलुकहरुमा भइरहेका नरसंहार र गृहयुद्ध रोक्नको लागि दवाव दिने थिए, प्रयास गर्ने थिए । ती युद्धहरु र त्यसक्रममा भएका नरसंहारहरुलाई रोक्नको लागि प्रयास गरे जस्तो गरे पनि उनीहरु खासै चिन्तित देखिदैनन् । बरु, विभिन्न बाहानामा युद्धलाई चर्काउनको लागि सहयोग गरिरहेका छन् । तर, इजरायल-इरान युद्धको प्रसंग फरक छ । किनकी त्यहाँ ‘होर्मुज स्ट्रेट’ छ । ‘होर्मुज स्ट्रेट’ बन्द भयो भने त्यसको असर निकै भयावह हुन सक्छ ।

‘होर्मुज स्ट्रेट’ के हो ? र, यो किन यति महत्वपूर्ण छ ?

फारसको खाडी र ओमानको खाडीको बीचमा रहेको जलमार्ग नै ‘होर्मुज स्ट्रेट’ हो । जम्मा जम्मी ९९० किलो मिटर लामो र करिब ३३ किलो मिटर चौडाई भएको ‘होर्मुज स्ट्रेट’ को सम्पूर्ण क्षेत्र इरान, ओमान र युनाईटेड अरब इमिरेट्समा पर्छ ।

यो त्यस्तो जलमार्ग हो, जस्को प्रयोग विना एक महादेशका जहाजहरु अर्काे महादेशमा आवत जावत गर्न असम्भव प्रायः छ वा सम्भव भए पनि त्यो अहिलेको तुलनामा कैयौं गुणा महंगो पर्छ ।

त्यसको असर केवल पेट्रोलियम पदार्थको ओसार पसारमा मात्र पर्ने छैन, सामुद्रिक जहाजहरु भएर आवत जावत गर्ने सबै समानहरुको ढुवानीमा पर्नेछ । अर्थात् अहिलेको तुलनामा विश्वव्यापीरुपमा हरेक समानको मूल्यवृद्धि अत्यधिक मात्रामा हुनेछ, जस्ले विश्व अर्थतन्त्रलाई डामाडोल बनाउन सक्छ । नुनदेखि सुनसम्म, पेट्रोलियम पदार्थदेखि कृषि उपजहरुको मूल्य समेत आकासिनेछ ।

‘होर्मुज स्ट्रेट’ विश्व अर्थतन्त्रको लागि कति महत्वपूर्ण छ भन्ने कुरा विगतमा भएका ‘टयाँकर युद्ध’ले पनि स्पष्ट पार्छ । ‘टयाँकर युद्ध’ त्यस्तो युद्ध हो, जस्ले इरानका छिमेकीहरुलाई मात्र होइन, अमेरिकालाई समेत आतंकित बनाउने गरेको छ । इरानले आवश्यक पर्दा कसरी ‘होर्मुज स्ट्रेट’ लाई नियन्त्रणमा लिएर अमेरिका जस्ता देशहरुलाई पनि अत्याउन सक्छ भन्ने दृष्टान्त पनि हो । अमेरिकाले चर्काे नाकावन्दी गर्दा पनि इरान पछि नहट्नु वा अमेरिकाले इरानमाथि सिधै आक्रमण गर्न नसक्नुको कारण पनि त्यही हो ।

सन् १९८० देखि १९८८ सम्म चलेको इरान–इराक युद्ध उत्कर्षमा पुगेकै बेला अमेरिकाले इरानी जहाजमाथि आक्रमण गरेको थियो र त्यसक्रममा २९० जना यात्रु मृत्यु भएको थियो । त्यसको जवाफमा इरानले ‘होर्मुज स्ट्रेट’ कब्जा गर्ने र अमेरिकाका कुनै पनि पानी जहाजहरुलाई त्यहाँबाट ओहोर दोहोर गर्न नदिने घोषणा गर्यो । त्यस लगत्तै अमेरिकाले ‘सैन्य गल्ती’का कारण त्यो घटना भएको भन्दै माफी मागेपछि त्यतिबेलाको विवाद सुल्टिएको थियो ।

‘होर्मुज स्ट्रेट’को रणनैतिक महत्वको कारण विगतमा आतँककारी संगठन अलकायदाले पनि त्यसलाई कब्जामा लिने प्रयास गरेको थियो । त्यसक्रममा उस्ले सन् २०१० मा जापानी तेल ट्यांकरमाथि हमला गरेको थियो, जस्लाई इरानले निस्तेज बनाइदिएको थियो । अमेरिका इरानलाई आतँककारीलाई प्रश्रय दिएको आरोप लगाउँदै आएको छ । तर इरानले नै आतँककारीहरुबाट ‘होर्मुज स्ट्रेट’लाई जोगाएर विश्व व्यापारमा सहजीकरण गरिरहेको छ ।

अहिले इजरायलसँगको युद्ध चर्किदैं गएपछि इरानले ‘अन्तिम विकल्प’को रुपमा ‘होर्मुज स्ट्रेट’ माथि नियन्त्रण गरेको घोषणा गर्दै आवात जावत ठप्प गरिदिन सक्छ । उस्को त्यो निर्णय बांकी विश्वको लागि कुनै आणविक हतियार प्रयोग गरे भन्दा धेरै खतरनाक हुन सक्छ, जस्ले विश्वकै अर्थतन्त्रलाई गम्भिर संकटमा पार्न सक्छ । त्यहीकारण पनि अमेरिका लगायत विश्वका शक्तिशाली देशहरु इरानसंग डराइरहेका छन् र अहिलेको युद्ध जतिसक्दो छिटो अन्त्य गराउनको लागि प्रयास गरिरहेका छन् । त्यो भन्दा बाहेक उनीहरुसँग अर्काे विकल्प छैन ।

comments powered by Disqus

सुनको मूल्यमा भारि गिरावट

Jun 17, 2025 10:42 AM

असार ३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले घटेको हो ।