तर, गत वर्षको बाढीले भत्काएको तातोपानी नाका र उक्त नाका जोड्ने अरनिको राजमार्गलाई पूर्णरुपमा पुनर्निमाण सम्पन्न भैनसकेकोले रसुवा नाकाको विकल्प तातोपानी बन्न सक्नेमा स्वंय सरकारी अधिकारीहरु नै सशंकित छन् । ‘ती कण्टेनरहरु त ढिलो चाँडो आउलान् तर गत वर्षको बाढीले अरनिको राजमार्ग नै क्षतिग्रस्त रहेको र पूर्णरुपमा पुननिर्माणकै क्रममा रहेकोले रसुवागढीको विकल्प बन्ने कुरामा ढुक्क हुने अवस्था छैन’ भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका एक सहसचिवले मेरो लगानीसंग भने ।
उनकाअनुसार कतिपय सरकारी अधिकारीहरुले तथ्य नबुझी वा जानाजान तातोपानी नाकापूर्णरुपमा संचालन हुनसक्छ भन्ने जस्तो प्रतिकृया दिइरहेका छन्, जुन गलत हो । यसपालिको मनसुन सुरु हुनासाथ ठाउँठाउँमा पहिरो जाँदा बाह्रबिसे–तातोपानी सडकखण्ड झन्डै एक साता अवरुद्ध हुन पुगेको थियो । अहिले पनि सानो पानी आउंदा पनि सो सडक खण्डमा पहिरो जाने र अवरुद्ध हुने गरेको छ । भूबनोटको हिसाबले असुरक्षित उक्त सडकखण्ड भुइँचालोपछि जीर्ण बनेको थियो भने गत वर्षको बाढीपछि त अस्तव्यस्त नै बनेको छ । त्यस्तो सडकलाई अत्यधिक चापसहित संचालन गर्नु अर्काे दुर्घटनालाई निम्त्याउनु हो । नियमितरुपमा ठूला मालबाहक कण्टेनर चलाउनु त झनै जोखिमपूर्ण हुन्छ ।
भन्सार विभागका अनुसार नेपाल र चीनबिच वार्षिक करिब सबा तीन खर्ब रुपैयाँको व्यापार हुँदै आएको छ । चालू आवको जेठ मसान्तसम्म नेपालमा चीनबाट तीन खर्ब १४ अर्ब ५७ करोड ५६ लाख रुपैयाँबराबरको आयात भएको छ भने दुई अर्ब ४८ करोड १७ लाख रुपैयाँबराबरको आयात भएको छ ।
नेपाल र चीनबिच सबैभन्दा बढी आयात निर्यात हुने प्रमुख व्यापारिक नाका रसुवागढी–केरुङ हो । चालू आर्थिक वर्षको ११ महिना अर्थात् जेठ मसान्तसम्ममा रसुवा नाका हुँदै ९१ अर्ब २५ करोड ४८ लाखबराबरको आयात र एक अर्ब ९६ करोड १४ लाखबराबरको निर्यात भएको छ ।
अर्को नाका तातोपानीबाट भने अहिले आयात भइरहे पनि निर्यात ठप्प छ । चालू आवको ११ महिनामा तातोपानी नाकाबाट ४६ अर्ब ८९ करोड ३५ लाखबराबरको आयात भएको छ ।