Ipo.aspx merolagani - आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, ५ प्रतिशत नगद लाभांश पारित

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, ५ प्रतिशत नगद लाभांश पारित

Jan 09, 2026 09:43 AM Merolagani

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड (IGI) को २८औँ बार्षिक साधारण सभा पुस २४ गते बिहीबार आम्रपाली बैङ्क्वेट, भाटभटेनी, नक्शाल, काठमाडौँमा सम्पन्न भएको छ।

साधारण सभामा सम्पूर्ण शेयरधनीहरुलाई र्हािर्दक स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले बीमाले व्यक्तिको जीवन, सम्पत्ति, व्यवसाय तथा दायित्वको संरक्षण गर्दै प्राकृतिक तथा मानव सिर्जित विभिन्न जोखिमबाट उत्पन्न हुन सक्ने आर्थिक संकट र सो को विरुद्ध सुरक्षा कवचको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। कुनै पनि राष्ट्रको अर्थतन्त्रको समग्र अवस्था, व्यवसायको विस्तार र दिगोपनको मूल्यांकन गर्दा बीमा बजारको विकास, पहुंच र विश्वसनीयतालाई एक प्रमुख सूचकको रुपमा लिने गरिन्छ। यही मान्यतालाई आत्मसाथ गर्दै बीमा बजारको स्थायित्व कायम राख्ने र विश्वसनीयता अभिवृद्धि गर्ने तथा यसको दायरा र प्रभाव विस्तार गर्ने उद्देश्यका साथ यस कम्पनीले आफ्नो स्थापनाको २८औं बर्ष सफलतापूर्वक पूरा गरिसकेको छ। बीमा बजारलाई स्वच्छ, पारदर्शी र भरपर्दो बनाउंदै बीमितको हकहितको संरक्षण गर्दै आफ्नो दायित्वप्रति कम्पनी सदैव प्रतिबद्ध रहंदै आएको जानकारी गराए।

समीक्षा वर्षमा कम्पनीले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूंजीको ५ प्रतिशत नगद लाभांश दिने सम्बन्धि प्रस्ताव शेयरधनीहरुद्वारा सभामा सर्वसम्मतीबाट स्वीकृत भयो। त्यसैगरी कम्पनीको पानीपोखरी स्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटमा २ तल्ला पार्किङ्ग सहित ११ तल्लाको भवन निर्माणको कार्य सम्पन्न भई ठेकेदार कम्पनीबाट कम्पनीलाई हस्तान्तरण प्राप्त भई २०८२ माघ महिना भित्रमा कम्पनीको प्रधान कार्यालय नारायणचौर, नक्शालबाट पानीपोखरी स्थित आफ्नै भवनमा सर्ने र कम्पनीलाई आवश्यक पर्ने ४ तल्लासम्म प्रयोग गरी अन्य तल्लाहरु भाडामा लगाई आम्दानी गरिने व्यहोरा समेत सभालाई जानकारी गराए।

यसै गरी चालु आर्थिक वर्षको भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा निर्जीवन बीमा क्षेत्रमा करिब २३ अर्ब ४४ करोडको दावी परेको छ भने असोज १८ गते देखिको अविरल वर्षा, बाढी पहिरोबाट करिब ४ अर्ब बराबरको दाबी परेको छ। यद्यपी, सरकाले अघि बढाइरहेका नीतिगत पहलकदमी, आर्थिक सूचकांकहरुमा देखिन थालेको र क्रमिक सुधार तथा शेयर बजारमा देखिएको सकारात्मक संकेतले समग्र आर्थिक गतिविधि क्रमशः सुदृढ हुंदै जाने अपेक्षा गर्दै दीर्घकालिन रुपमा व्यवसायिक वातावरणमा पनि सकारात्मक प्रभाव पार्ने विचार व्यक्त गरे।

सभामा ढकालले विश्व बजारमा तीव्र आर्थिक प्रतिस्पर्धा रहेको वर्तमान परिवेशमा सूचना प्रविधिको माध्यामबाट छरितो, सुरक्षित र प्रभावकारी सेवा प्रदान गर्नु अपरिहार्य बन्दै गएको र यही आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले प्रविधिमैत्री सेवामा जोड दिंदै आएको र चालु आर्थिक वर्षमा अझै बढी डिजिटल, सरल र ग्राहक मैत्री बनाउने लक्ष्य रहेको पनि सभालार्ई जानकारी गराए।
त्यसैगरी सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २८औँ वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई स्वागत गर्दै कम्पनीले देशको सातै वटै प्रदेशमा रहेका ९० वटा शाखा सञ्जालबाट आफ्नो बलियो उपस्थिती सहित ५३१ जना कर्मचारीहरु, ४३० अभिकर्ताहरु र १९२ सर्भेयरहरु मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको र २०८२ साल माघ महिनाको अन्तसम्ममा कम्पनीको प्रधान कार्यालयबाट प्रदान गरिने सेवाहरु पानीपोखरी स्थित आफ्नै भवनबाट प्रदान गरिने व्यहोरा सभालाई जानकारी गराए।

चुक्ता पूंजी ३ अर्ब २ करोड सहित निर्जीवन बीमा कम्पनीहरुमा सबभन्दा ठूलो बीमा कम्पनीको रुपमा यो कम्पनी रहेको छ। कम्पनीको व्यवसायमा पनि क्रमिक रुपमा वृद्धि हुंदै गएको छ। समीक्षा आर्थिक वर्षमा बैकिङ्ग क्षेत्रमा देखिएको तरलता र ब्याजदरमा आएको कमीका कारण व्यवसाय वृद्धि हुने अपेक्षा गरिएको थियो तर बैंकको कर्जाको ब्याज एकल अंकमा आउंदा समेत अपेक्षाकृत ऋण लगानीमा वृद्धि हुन सकेन जसको वावजुत आशातित व्यवसाय समेत वृद्धि हुन सकेन। त्यसैगरी नेपाल सरकारको विकास खर्च न्यून भएबाट देशमा ठूला ठूला आयोजनाहरु प्रत्यक्ष रुपमा प्रभावित भएको पनि श्रेष्ठले सभालाई जानकारी गराए।

गत आर्थिक वर्षमा निर्जीवन बीमा क्षेत्रको कूल बीमा प्रिमियम आर्जन ४१ अर्ब १७ करोड रुपैयाँ रहेकोमा समीक्षा वर्षमा ६.७७ प्रतिशतले वृद्धि भई ४३ अर्ब ९५ करोड रुपैयाँ रहेको छ। त्यसैगरी, कम्पनीले गत आर्थिक वर्ष २०८०।०८१ मा हासिल गरेको बीमा प्रिमियम ३ अर्ब ६३ करोड ६१ लाख रुपैयाँमा ६.३२ प्रतिशतले वृद्धि गरी समीक्षा वर्षमा ३ अर्ब ८६ करोड ५९ लाख बीमा प्रिमियम संकलन गर्न सफल भएको छ। त्यसैगरी समीक्षा वर्षमा कम्पनीले कूल दाबी संख्या १८ हजार ५०० को लागि २ अर्ब ४६ करोड ३३ लाख बराबरको दाबी भुक्तानी गरेको छ भने नेपाल सरकारलाई विभिन्न कर बापत कूल ७९ करोड ८७ लाख रुपैयाँ भुक्तानी गरी राष्ट्र निर्माणमा ठूलो योगदान पु¥याएको पनि सभालाई जानकारी गराए।

 
comments powered by Disqus

सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।