Ipo.aspx merolagani - चुनावी माहोलले ततायो शेयर बजार, नेप्से र काराेबार रकम दुबै उच्च बढ्याे

चुनावी माहोलले ततायो शेयर बजार, नेप्से र काराेबार रकम दुबै उच्च बढ्याे

Jan 20, 2026 03:09 PM Merolagani

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

मुलुकमा चुनावी माहोल बढेसँगै यस दिन शेयर बजार तातेको हो। फागुन २१ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने दिन हो। मुलुकको राजनीतिक सरगर्मी उत्कर्षमा पुगिरहेको बेला यसको प्रत्यक्ष र सकारात्मक प्रभाव नेप्सेमा पनि देखिएको हो। ऐतिहासिक रुपमा निर्वाचनको समयमा बजारमा तरलता बढ्ने र लगानीकर्ताहरुको मनोबल उच्च हुने अपेक्षा गरिएझै यस दिन बजारले उत्साहजनक गति समातेको हो।

मंगलबार नेप्से परिसूचक ४२.२६ अंक बढेर २७१४.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ७.८२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ। आइतबार ८ अर्ब ४० करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३९ स्टकको १ लाख १५ हजार १८१ पटकको कारोबारमा ११ अर्ब ८५ करोड ८४ लाख २१ हजार रुपैयाँबराबरको २ करोड ५१ लाख ८५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन गोर्खाज फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो फाइनान्सको शेयरमूल्य यस दिन ५६ रुपैयाँ २० पैसा बढेर ६१८ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन आँखु खोला जलविद्युत कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। कारोबारमा आएको १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को मूल्य यस दिन ४.२३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४० करोड ७९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको ३९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम ३७ करोड रुपैयाँ नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.३६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक साढे २ प्रतिशत बढेको छ भने बैंकिङ्ग, विकास बैंक, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

comments powered by Disqus

सस्तो शेयरमा किन झुम्मिए साना लगानीकर्ता ? कारण ५० अर्बको खेल, के हो ५० अर्बको खेल ?

Jan 22, 2026 05:39 PM

सुवास निरौला 

पछिल्लो समय दोस्रो बजारमा एउटा रोचक दृश्य देखिन थालेको छ। लगानीकर्ताहरूको ध्यान ठूला र महँगा कम्पनीभन्दा साना र सस्ता मूल्य भएका कम्पनीहरूतर्फ ह्वात्तै मोडिएको छ।