Ipo.aspx merolagani - पाइपलाइनबाट हटाइएका मध्ये ८ कम्पनीले आइपीओका लागि दिए पुनः आवेदन, प्रिमियममा शेयर निष्काशन गर्दै १० कम्पनी

पाइपलाइनबाट हटाइएका मध्ये ८ कम्पनीले आइपीओका लागि दिए पुनः आवेदन, प्रिमियममा शेयर निष्काशन गर्दै १० कम्पनी

Feb 07, 2026 05:22 PM Merolagani

नेपाल धितोपत्र बोर्डको पाइपलाइबाट हटाइएका मध्ये ८ वटा कम्पनीहरुले बोर्डमा पुनः आवेदन दिएका छन् । एपेक्स हस्पिटालिटी, रिचेत जलविद्युत, बेनी हाइड्रोपावर, पुवा खोला–१, प्रभु हेलिकोप्टर, अन्नपूर्ण केबुलकार, सोपान फर्मास्युटिल्स र ठमेल प्लाजाले बोर्डमा आइपीओ अनुमति माग्दै पुनः आवेदन दिएका हुन् ।

धितोपत्र बोर्डले गएको जेठमा मापदण्ड नपुगेको र प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ भन्दा कम भएका १४ वटा कम्पनीहरुलाई पाइपलाइबाट हटाएको थियो । अहिले प्रतिशेयर नेटवर्थ ९० रुपैयाँ भन्दा धेरै र वित्तीय अवस्था सुधार भएपछि ८ वटा कम्पनीहरुले पुनः आवेदन दिएका छन् । कम्पनीहरुले प्रायः हकप्रद शेयर जारी गरेर र नबिकेको शेयर प्रिमियममा बिक्री गरेर नेटवर्थ वृद्धि गरेर सेबोनमा आवेदन दिएको हो ।

गत जेठमा हाइड्रोपावर समूहबाट लाफिङ बुद्ध पावर नेपाल, युनिक हाइडेल कम्पनी, सानिमा हाइड्रोपावर, रिचेत जलविद्युत कमपनी, पुवाखोला वान हाइड्रोपावर, बेनी हाइड्रोपावर गरी ७ वटा कम्पनी, होटल तथा पर्यटन समूहबाट अर्किड होल्डिङ्स, ठमेल प्लाजा होटल एन्ड स्वीट्स, अन्नपूर्ण केबलकार, एपेक्स हस्पिटालीलगायत ५ वटा कम्पनी, उत्पादन तथा प्रशोधन समूह अन्तर्गत सोपान फर्मास्युटिकल्स र एक्कर्ड फर्मास्युटिकल्स गरी दुइ वटा कम्पनी तथा अन्य समूहबाट कान्तिपुर टेलिभिजन नेटवर्क गरी कुल १४ वटा कम्पनीलाई आइपीओ पाइपलाइनको सूचीबाट हटाएको थियो ।

यता, यसअघि पाइपलाइबाट हटाइएका ६ वटा कम्पनीहरुले पनि वित्तीय अवस्था सुधार गरेर पुनः आवेदन दिन सक्ने सेबोनले जनाएको छ । लाफिङ बुद्ध पावर, कान्तिपुर टिभी, युनिक हाइड्रोपावर, अर्किड होल्डिङ्स, एक्कर्ड फर्मायूटिकल्स, सानिमा हाइड्रोपावरले पनि वित्तीय अवस्थामा सुधार गरेर बोर्डमा फेरि आवेदन दिन सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डले वित्तीय अवस्था कमजोर भएका कम्पनीहरुलाई आइपीओ अनुमति दिएको भन्दै सार्वजनिक लेखा समितिले वास्तविक प्रतिशेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आइपीओ अनुमति नदिन निर्देशन दिएको थियो। बोर्डले लेखा समितिकै निर्देशन अनुरुप सूचीबाट हटाएको जनाएको थियो । पछिल्लो समय बजारमा टिक्न नसकेपछि सर्वसाधारणलाई शेयर जारी गरेर पुराना संस्थापक उम्कने दाउको रुपमा आइपीओलाई प्रगोग गरेको आरोप नयाँ आइपीओ निष्काशन गर्न लागेका कम्पनीहरुलाई लाग्ने गरेका छ । वित्तीय अवस्था राम्रो भएका र भविष्यमा आकर्षक देखिने कम्पनीलाई मात्रै आइपीओ निष्काशन गर्न दिनुपर्ने माग लगानीकर्ताको छ ।

आइपीओका लागि पुनः आवेदन दिनेहरुमा एपेक्स हस्पिटालिटीले १०० रुपैयाँ अंकित दरमा २२ लाख ५० हजार कित्ता शेयर बिक्रीका लागि अनुमति मागेको छ । त्यस्तै, अन्नपूर्ण केवलकारले ४३ लाख ४० हजार कित्ता, ठमेल प्लाजाले २२ लाख ५० हजार कित्ता, रिचेतले १६ लाख ८९ हजार ५०० कित्ता, बेनी हाइड्रोपावरले २० लाख ८० हजार, पुवा खोला– १ ले २० लाख ७० हजार, सोपान फर्मास्युटिकल्स लिमिटेडले ४२ लाख ९० हजार कित्ता र प्रभु हेलिकप्टरले ६१ लाख २५ हजार कित्ता शेयर बिक्रीका लागि अनुमति मागेका छन् ।

१० कम्पनीले दिए प्रिमियममा आइपीओ निष्काशन गर्न आवेदन

हाल बोर्डको पाइपलाइनमा ५९ अर्ब ६९ करोड ९४ लाख रुपैयाँ भन्दा धेरैको आइपीओ बिक्रीका लागि आवेदन परेको छ । ८६ वटा कम्पनीले सेयर बिक्री गर्ने अनुमति मागेका छन् ।

होटल तथा पर्यटन समूहको १२ वटा, हाइड्रोपावरको समूहको ३४, लगानी समूहको ४, उत्पादन तथा प्रशोधन समूहको २५, लघु बीमा समूहको ३, अन्य समूहको ११ गरी कुल ८९ वटा कम्पनीले आइपीओ निष्काशनको लागि पाइपलाइनमा छन् ।

त्यसमध्ये हाइड्रोपावरका दुई, लगानी समूहका १ तथा उत्पादन तथा प्रशोधन समूहका ७ कम्पनी गरी १० वटा कम्पनीले प्रिमियममा शेयर निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन दिएका छन् । हाइड्रोपावरमा नुम्बुर हिमालयन हाइड्रोपावरले २१८ रुपैयाँमा ३० लाख ६ हजार २ सय २ कित्ता, सेञ्चुरी इनर्जीले २७५।११ रुपैयाँमा ३ लाख कित्ता, लगानी समूहतर्फ शिवम होल्डिङ्स लिमिटेडले २१० रुपैयाँमा १ करोड १६ लाख कित्ता शेयर प्रिमियममा निष्काशन गर्न सेबोनमा आवेदन दिएका छन् । त्यस्तै उत्पादन तथा प्रशोधन समूहतर्फ जगदम्बा स्टिल्स लिमिटेडले ३ सय रुपैयाँमा २ करोड ७० हजार कित्ता, शौर्य सिमेन्ट इण्डष्ट्रिजले २६४.५१ रुपैयाँमा १ करोड ५९ लाख ८१ हजार ५ सय कित्ता, मारुती सिमेन्ट्स लिमिटेडले ३७७ रुपैयाँमा १ करोड १६ लाख कित्ता, रिद्धिसिद्धि सिमेन्टले २१४.१० रुपैयाँको प्रिमियमको मूल्यमा १ करोड २१ लाख ७१ हजार ५ सय कित्ता, अम्बे स्टिल्स लिमिटेडले ३०३ रुपैयाँको प्रिमियम मूल्यमा १ करोड ११ लाख ९२ हजार ७२७ कित्ता, हुलास इन्फ्राले ३३३.५६ रुपैयाँमा ३५ लाख ४७ हजार १८८ कित्ता र हुलास आइरन इन्डष्ट्रिजले २५५ रुपैयाँमा ९७ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न आवेदन दिएका छन । सेबोन पूर्वअध्यक्ष रमेश हमालले प्रियियम तथा बुक बिल्डिङमा आइपीओ निष्काशन गर्न धमाधम अनुमति दिए पनि वर्तमान सेबोन अध्यक्ष सन्तोष नारायण श्रेष्ठले अंकित मूल्य १ सय रुपैयाँ बाहेकका कम्पनीको आइपीओ निष्काशन अनुमति अहिलेसम्म दिएको छैनन् । चालु आवमा मात्रै १५ वटा कम्पनीलाई आइपीओ निष्काशन अनुमति दिइसकिएको छ ।

comments powered by Disqus

सुन र चाँदीकाे मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

Feb 06, 2026 11:04 AM

माघ २३ गते, शुक्रबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेकाे छ।