Ipo.aspx merolagani - प्रतिरोध परीक्षणमा आँखुखोला जलविद्युत कम्पनी, हेरौँ कम्पनी विश्लेषण

प्रतिरोध परीक्षणमा आँखुखोला जलविद्युत कम्पनी, हेरौँ कम्पनी विश्लेषण

Feb 15, 2026 06:33 PM Merolagani

यस साता जलविद्युत उपसमूहको परिसूचक ०.३२ प्रतिशत बढेको छ। गत साता ३५८१.४३ विन्दुमा रहेको सो उपसमूहको परिसूचक यस साता ११.६२ अंक बढेर ३५९३.०५ विन्दुमा पुगेको छ।

सोही उपसमूहमध्येको एक कम्पनीको हो, आँखुखोला जलविद्युत कम्पनी लिमिटेड (AKJCL)।

यस साता कम्पनीको शेयरमूल्य २२ रुपैयाँ २० पैसा बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३५२ रुपैयाँ ८० पैसामा कारोबार भएको यस कम्पनीको शेयर, यस साता ३७५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

 

प्रतिरोध परीक्षणमा

साताको अन्तिम दुई कारोबार दिन कम्पनीको शेयरमूल्य प्रतिरोध परीक्षणमा रहेको देखिन्छ। हाल कम्पनीको प्रतिरोध क्षेत्र ३८५ देखि ३९५ सम्म रहेको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले सो क्षेत्र परीक्षण गरी तल झरेको छ। आगामी कारोबार दिनमा कम्पनीको शेयरमूल्य ओरालो लागेमा ३३० देखि ३४० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

रिभर्सलको संकेत

साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले बियरिश पिन बार बनाएको छ। मूल्य बढीरहेको बेला बनेको यस्तो मैनबत्तीले रिभर्सलको संकेत गर्दछ। अर्थात आगामी दिनहरुमा कम्पनीको शेयरमूल्य घट्न सक्ने संकेत गर्दछ। यद्यपि, साप्ताहिक रुपमा कम्पनीको शेयरमूल्यले लामो टुप्पी र छोटो पुच्छर भएको हरियो मैनबत्ती बनाएको छ। यस साता कम्पनीको शेयरमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ।

एआई सिग्नल

मेरोलगानी चार्टले हालसम्म कम्पनीको शेयरमा ७ पटक बाई सिग्नल दिइसकेको छ। जसमध्ये ६ सिग्नलबाट लगानीकर्ताहरुले नाफा कमाएका थिए भने एक सिग्नलमा स्टप लस गर्नु परेको थियो। हाल मेरोलगानी एआई चार्टले कम्पनीको शेयरमा कुनै सिग्नल दिएको छैन।

कमजोर भोल्युम

यस साता कम्पनीको भोल्यूम कमजोर रहेको छ। यस साता दैनिक औषतमा कम्पनीको १३ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम १४ लाख ५७ हजार रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ९.७४ प्रतिशत कम हो।

बुलिश प्रवृत्ति

यस साता कम्पनीको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यस्तै, एमएसिडी रेखा, सिग्नल रेखा र हिस्टोग्राम सबै सकारात्मक क्षेत्रमा रहेको छ। यसले यस साता कम्पनीको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्त्यतिर एमएसिडी रेखा र सिग्नल रेखा बीचको दूरी र हिस्टोग्रामको उचाइ घटेको छ।

खरिदचाप बढी

स्टकास्टिक आरएसआई अनुसार कम्पनीको शेयर अहिले ओभरबट जोनमा रहेको छ। यसले बजारमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४७.९३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा पनि बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ९ करोड २१ लाख रुपैयाँबाट बढेर १३ करोड ४४ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको कुल नाफा ७ करोड ३९ लाख रुपैयाँबाट बढेर ११ करोड ३० लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ६ करोड २५ लाख रुपैयाँबाट बढेर ६ करोड ९५ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा ४ करोड ६८ लाख रुपैयाँबाट घटेर ३ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ।

२ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने १४ करोड ३५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६३ पैसा रहेको छ भने बुकभ्यालु ९२ रुपैयाँ ८२ पैसा रहेको छ। साताको अन्तिम कारोबार दिनको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात ८०.९९ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ४.०४ गुणा रहेको छ। कम्पनीको आरओई ४.९९ प्रतिशत रहेको छ।

आधारभूत अवस्था

हाल नेप्सेमा कम्पनीको २ करोड कित्ता शेयर सूचीकृत छ। गत बिहीबार कम्पनीको शेयर प्रतिकित्ता ३७५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यस अनुसार कम्पनीको कुल बजार पूँजीकरण ७ अर्ब ५० करोड रुपैयाँ रहेको छ।

कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ३९२ रुपैयाँ रहेको छ भने न्यून मूल्य १७२ रुपैयाँ ९० पैसा रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य २१३ रुपैयाँ ४१ पैसा रहेको छ।

ब्रोकर ५८ बाट सर्वाधिक कारोबार

यस साता ब्रोकर नम्बर ५८ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ भने सर्वाधिक बिक्री गर्नेमा पनि ५८ नै रहेको छ। ५८ ले यस साता १२ लाख १५ हजार २२२ कित्ता खरिद गरी ८ लाख ८३ हजार ९६५ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, ब्रोकर नम्बर ६४ ले ५ लाख कित्ताभन्दा बढी खरिद गरेको छ भने ब्रोकर नम्बर २९ ले साढे ३ लाख कित्ताभन्दा बढी बिक्री गरेको छ।

मूल्य बढ्ने अपेक्षामा लगानीकर्ता

फियर एण्ड ग्रीड मिटरमा कम्पनी अहिले ग्रीड जोनमा छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य बढ्छ भन्ने अपेक्षामा रहेको संकेत गर्दछ। यद्यपि, यो विस्तारै घट्न थालेको छ।

(यस समाचारको प्राविधक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus