Ipo.aspx merolagani - चैत २६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्दै यूनाइटेड अजोड इन्स्योरेन्स

चैत २६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्दै यूनाइटेड अजोड इन्स्योरेन्स

Mar 19, 2026 07:44 AM Merolagani

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (UAIL) ले चैत २६ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

अर्थात इन्स्योरेन्सले हाल कायम १०० कित्ता शेयर बराबर नयाँ १० कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार इन्स्योरेन्सले २३ करोड १० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १७ गते बुकक्लोज गरेको थियो। यस अनुसार फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको हकप्रद शेयरमा २०८३ बैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम मात्रामा सुरक्षित संकेत गर्दछ।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। शेयरधनीहरुले बिक्री प्रबन्धकका साथै लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ।

comments powered by Disqus