Ipo.aspx merolagani - लघुवित्त क्षेत्रमा क्रमिक सुधारः ऋणी र सदस्य संख्या बढ्दा लघुवित्तको संख्या र शाखा भने घट्दै

लघुवित्त क्षेत्रमा क्रमिक सुधारः ऋणी र सदस्य संख्या बढ्दा लघुवित्तको संख्या र शाखा भने घट्दै

Mar 31, 2026 05:52 PM MeroLagani

नेपालका लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय अवस्थामा मिश्रित सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले मंंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार, समीक्षा अवधिमा लघुवित्तका सदस्य र ऋणीहरूको संख्यामा वृद्धि भएको छ भने संस्थाहरूको संख्या र शाखाहरूमा भने केही गिरावट आएको छ ।

२०८२ पुस मसान्तसम्म नेपालमा ५१ वटा लघुवित्त वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् । अघिल्लो वर्ष ५२ वटा संस्था रहेकामा ग्रामीण लघुवित्तले समाज लघुवित्तलाई प्राप्ति गरेपछि यो संख्या ५१ मा झरेको हो । कुल ५१ संस्थाहरू मध्ये ३ वटा थोक कर्जा प्रदायक र ४८ वटा खुद्रा कर्जा प्रवाह गर्ने संस्थाहरू छन् । पहुँचका आधारमा लुम्बिनी प्रदेश सबैभन्दा अगाडि देखिएको छ, जहाँ कुल शाखाको २२.०५ प्रतिशत (१०९३ शाखा) रहेका छन् । यता कर्णाली प्रदेशमा भने पहुँच सबैभन्दा न्यून (मात्र ४.८ प्रतिशत वा २३८ शाखा) रहेको प्रतिवेदनले औँल्याएको छ ।

बढ्दो सदस्य र ऋणी संख्या

समीक्षा अवधिमा लघुवित्तमा आबद्ध सदस्यहरूको संख्या ३.३६ प्रतिशतले बढेर ६४ लाख ३० हजार पुगेको छ । त्यसैगरी, ऋणीहरूको संख्या पनि ०.५९ प्रतिशतले वृद्धि भई २७ लाख २३ हजार पुगेको प्रतिवेदनमा उल्लेख छ । तर, शाखा संख्यामा भने ०.२४ प्रतिशतले ह्रास आई ४,९४९ कायम भएको छ ।

पुँजीकोष र वित्तीय स्थिति

लघुवित्त संस्थाहरूको पुँजीकोषको स्थिति समग्रमा सन्तोषजनक देखिएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार न्यूनतम ८ प्रतिशत पुँजीकोष कायम गर्नुपर्नेमा समग्रमा यो १२ प्रतिशत रहेको पाइएको छ । संस्थाहरूको चुक्ता पुँजी असार मसान्तको तुलनामा ६.११ प्रतिशतले बढेर ४० अर्ब ७७ करोड पुगेको छ ।

कर्जा प्रवाह र निष्क्रिय कर्जाको चुनौती

लघुवित्त संस्थाहरूले प्रवाह गरेको कुल कर्जामध्ये ठुलो हिस्सा (५६.८२ प्रतिशत) कृषि क्षेत्रमा रहेको छ । यस्तै, सेवा व्यवसायमा २१.५७ प्रतिशत र थोक कर्जा शीर्षकमा ८.५७ प्रतिशत कर्जा प्रवाह भएको छ ।यद्यपि, निष्क्रिय कर्जाको बढ्दो अनुपात भने चुनौतीपूर्ण देखिएको छ । खुद्रा कर्जा प्रदायक लघुवित्तहरूको निष्क्रिय कर्जा ७ प्रतिशतबाट बढेर १०.५६ प्रतिशत (४८ अर्ब ६२ करोड) पुगेको छ । निष्क्रिय कर्जा बढ्दा कर्जा नोक्सानी व्यवस्थामा पनि २०.०२ प्रतिशतले वृद्धि भई ३१ अर्ब ३६ करोड पुगेको छ ।

लघुवित्तकाे खुद नाफा ४ अर्ब माथि

खुद्रा कर्जा प्रदायक संस्थाहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ। अघिल्लो वर्षको दोस्रो त्रैमासमा १ अर्ब ४४ करोड रहेको खुद नाफा चालु आवको दोस्रो त्रैमासमा पुग्दा ४ अर्ब २ करोड पुगेको छ । यद्यपि, संचालनमा रहेका ४८ खुद्रा कर्जा प्रदायक मध्ये ६ वटा संस्थाहरू अझै पनि खुद नोक्सानीमा रहेका छन् । बचत तथा निक्षेप संकलनतर्फ भने ७.३५ प्रतिशतको वृद्धि भई २ खर्ब १० अर्ब ११ करोड पुगेको प्रतिवेदनले देखाएको छ ।


comments powered by Disqus

भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।