Ipo.aspx merolagani - सर्किट ब्रेकरमा फेरबदल: अब ५ प्रतिशतमा पहिलो ब्रेक, ८ प्रतिशत पुगे दिनभरका लागि बजार बन्द हुने

सर्किट ब्रेकरमा फेरबदल: अब ५ प्रतिशतमा पहिलो ब्रेक, ८ प्रतिशत पुगे दिनभरका लागि बजार बन्द हुने

Apr 07, 2026 11:20 AM Merolagani

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको उतारचढाव नियन्त्रणका लागि प्रयोग गर्दै आएको ‘सर्किट ब्रेकर’ प्रणालीमा परिवर्तन गर्ने भएको छ। नेप्सेले 'धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५' लाई संशोधन गर्दै विद्यमान सर्किट ब्रेकरको सीमा र समय हेरफेर गर्ने भएको हो।

नेप्सेले तयार पारेको उक्त संशोधन प्रस्तावलाई नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को सञ्चालक समितिले स्वीकृत गरिसकेको छ। बोर्डबाट नयाँ विनियमावली स्वीकृत भएसँगै अब बजारमा सर्किट ब्रेकरको नयाँ मापदण्ड लागू हुने  छ।

के छ नयाँ व्यवस्थामा ?
संशोधित विनियमावली अनुसार अब नेप्से सूचकमा हुने वृद्धि वा गिरावटको सीमालाई परिमार्जन गरिएको छ। प्रस्तावित नयाँ व्यवस्था अनुसार  ५ प्रतिशतको पहिलो सर्किट ब्रेक लाग्ने छ। नियमित कारोबार सुरु भएको पहिलो दुई घण्टाभित्र नेप्से सूचक ५ प्रतिशतले बढे वा घटेमा कारोबार १५ मिनेटका लागि स्थगित गरिनेछ। यसअघि ४ प्रतिशतको वृद्धि वा गिरावटमा २० मिनेटको लागि कारोबार रोक्ने व्यवस्था थियो। यसैगरी  ८ प्रतिशत घट/बढ भएमा त्यस दिनको लागि  सम्पूर्ण कारोबार पूर्ण रुपमा बन्द हुने छ। ५ प्रतिशतको पहिलो सर्किट ब्रेक लागेर पुनः खुलेको बजारमा यदि सूचक ८ प्रतिशतले घटबढ भएमा उक्त दिनको बाँकी समयका लागि कारोबार पूर्ण रूपमा बन्द गरिनेछ। हालको व्यवस्थामा ६ प्रतिशतको उतारचढाव भएमा दिनभरका लागि कारोबार बन्द हुने प्रावधान छ।

यसअघि नेप्सेमा ४ प्रतिशत, ५ प्रतिशत र ६ प्रतिशतको तीन तहको सर्किट ब्रेकर व्यवस्था थियो। नयाँ संशोधनले ४ प्रतिशतको व्यवस्थालाई हटाएर सिधै ५ प्रतिशत कायम गरेको छ भने अन्तिम सीमालाई ६ बाट बढाएर ८ प्रतिशत पुर्‍याएको छ। यसले बजारलाई थप चलायमान बनाउने र लगानीकर्ताले कारोबारका लागि बढी समय पाउने अपेक्षा गरिएको छ।

समग्र बजार सूचक (नेप्से इन्डेक्स) को नियममा परिवर्तन गरिए पनि व्यक्तिगत कम्पनीहरूको शेयर कारोबारमा हुने मूल्य सीमा (Price Limit) मा भने कुनै फेरबदल गरिएको छैन। सूचीकृत कम्पनीहरूको हकमा विद्यमान १० प्रतिशतकै सर्किट सीमा यथावत राखिएको छ। अर्थात्, कुनै पनि कम्पनीको शेयर मूल्य एकै दिनमा बढीमा १० प्रतिशतसम्म बढ्न वा घट्न पाउने साविककै व्यवस्था कायम रहनेछ।

धितोपत्र बोर्डले विनियमावली संशोधनको प्रस्ताव पारित गरिसकेको भए पनि यो तत्कालै लागू भइसकेको छैन। बोर्डबाट संशोधित विनियमावलीको आधिकारिक पत्र नेप्सेमा पुगेपछि नेप्से सञ्चालक समितिको बैठक बस्नेछ। सोही बैठकले यो नयाँ व्यवस्था कुन मितिदेखि कार्यान्वयनमा ल्याउने भन्ने निर्णय गर्नेछ। नेप्से स्रोतका अनुसार बोर्डबाट पत्र प्राप्त हुनासाथ प्राविधिक तयारी पुरा गरी सम्भवतः छिट्टै यो नयाँ प्रणाली लागू गरिनेछ। बजारमा बढ्दो कारोबार रकम र लगानीकर्ताको संख्यालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय अभ्यास अनुरूप सर्किट ब्रेकरको सीमा परिमार्जन गर्न लागिएको हो।

comments powered by Disqus

सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।