Ipo.aspx merolagani - मार्जिन लेन्डिङमा नेप्से र ब्रोकरबीच फेरि ‘जुहारी’: वैशाख २ को घोषणा ४ गतेसम्म अलपत्र, कहाँ अड्कियो गाँठो ?

मार्जिन लेन्डिङमा नेप्से र ब्रोकरबीच फेरि ‘जुहारी’: वैशाख २ को घोषणा ४ गतेसम्म अलपत्र, कहाँ अड्कियो गाँठो ?

Apr 17, 2026 05:51 PM Merolagani

सुवास निरौला 
नेपाली पूँजी बजारमा लामो समयदेखि प्रतीक्षा गरिएको मार्जिन लेन्डिङ (मार्जिन कारोबार) सुरु हुने विषय फेरि एक पटक अन्योलमा परेको छ। 

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले गत चैतको अन्तिम साता एक विज्ञप्ति जारी गर्दै आगामी वैशाख २ गतेदेखि व्यावसायिक रूपमा मार्जिन कारोबार सुरु गर्ने घोषणा गरेको थियो। तर, उक्त घोषणा भएको दुई दिन बितिसक्दा अर्थात वैशाख ४ गते भइसक्दा पनि बजारमा एक बाहेक अरू ब्रोकर कम्पनीले मार्जिन कारोबार सुरु गर्न सकेका छैनन्।

ब्रोकरहरूले तामझामका साथ सुरु गर्ने भनेको यो सेवा प्राविधिक तयारी र नियामक निकाय नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँगको समन्वय अभावका कारण कार्यान्वयनमा आउन नसकेको पाइएको छ। यस विषयमा नेप्से र ब्रोकर प्रतिनिधिबीच एक-अर्कालाई आरोप लगाउने क्रम सुरु भएको छ। जसले लगानीकर्तामाझ थप अन्योल सिर्जना गरेको छ।

ब्रोकरको आरोप: नेप्सेले प्राविधिक पूर्वाधार बनाइदिएन

मार्जिन कारोबार सुरु हुन नसक्नुको मुख्य कारण नेप्सेले आवश्यक प्राविधिक 'मेकानिजम' तयार नगर्नु रहेको दाबी ब्रोकरहरूको छ। भिजन सेक्युरिटिज (ब्रोकर नम्बर ३४) का सञ्चालक राजकुमार तिम्सिनाले नेप्सेले रिपोर्टिङ संयन्त्रमा ढिलाइ गरेकोले काम अघि बढ्न नसकेको बताए। तिम्सिनाका अनुसार मार्जिन कारोबारका लागि एउटै लगानीकर्ताको दुई वटा डिम्याट खाता र छुट्टै 'क्लाइन्ट आईडी' (TMS Code) आवश्यक पर्छ। जुन अहिलेसम्म पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन। 'रिपोर्टिङ गर्ने सिस्टम मेकानिजम नेप्सेले बनाएको छैन। दुई वटा डिम्याट खोल्न अझै मिल्दैन, यस्तो अवस्थामा कसरी कारोबार सुरु गर्ने?' तिम्सिनाले प्रश्न गरे।

उनले थप स्पष्ट पार्दै भने, 'अहिले केही ब्रोकरले (जस्तै नासा सेक्युरिटिजले) म्यानुअल रूपमा रिपोर्टिङ गरेर सुरु गरेँ भनेकाे छ। तर  लाखौँ क्लाइन्टलाई म्यानुअल रूपमा सेवा दिन असहज हुने देखिन्छ । जबसम्म सिस्टमबाटै रिपोर्टिङ गर्ने मेकानिजम बन्दैन र मार्जिनको छुट्टै क्लाइन्ट आईडी हुँदैन, तबसम्म वास्तविक मार्जिन कारोबार प्रभावकारी हुँदैन।' तिम्सिनाका अनुसार ब्रोकरहरूले आफ्नै आन्तरिक कार्यविधि बनाएर बसे पनि नेप्से र सीडीएससी (CDSC) ले ट्रेडिङ र सेटलमेन्ट प्रणालीमा गर्नुपर्ने सुधारहरू नगरेका कारण वैशाख २ गतेको लक्ष्य पूरा हुन नसकेको हो।

नेप्सेको जवाफ: प्रविधि तयार छ, ब्रोकरले कार्यान्वयन गर्ने हो

ब्रोकरहरूको आरोपलाई नेप्सेले भने अस्वीकार गरेको छ। नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले प्रविधि र प्रणालीको विषयमा ब्रोकरहरूले नै अग्रसरता लिनुपर्ने बताए। पराजुलीका अनुसार भेन्डर कम्पनीहरूलाई सिस्टम अपडेट गर्न भनिसकिएको छ र यो ब्रोकरहरूकै जिम्मेवारीभित्र पर्ने विषय हो।

'प्रणालीमा गर्नुपर्ने सुधारका लागि भेन्डरहरू (YCO लगायत)लाई निर्देशन दिइसकिएको छ। कतिपय ब्रोकरले म्यानुअल रूपमा काम सुरु गरिसकेका छन्,' प्रवक्ता पराजुलीले भने, 'रिपोर्टिङ गर्ने माध्यम कसले बनाउने भन्नेमा ब्रोकरहरू अलमलमा परेको देखिन्छ। हामीले सिस्टम बनाएर रिपोर्टिङ गर्ने होइन, उहाँहरूले गरेको कारोबारको विवरण हामीलाई पठाउने माध्यम उहाँहरू आफैँले व्यवस्था गर्ने हो।' पराजुलीले नेप्सेले कार्य प्रक्रिया जारी गरिसकेको र ब्रोकर एसोसिएसनले २ गतेदेखि सुरु गर्छौँ भनेर गरेको घोषणा उनीहरूकै तयारीमा आधारित हुनुपर्ने जिकिर गरे। 'नेप्सेले रोकेको छैन। तर प्राविधिक रूपमा कुन तहको स्वचालित प्रणाली खोजिएको हो। त्यसमा ब्रोकरहरू नै स्पष्ट हुनुपर्छ,' उनले थपे।

कहाँ छ त वास्तविक समस्या ?

दुवै पक्षको भनाइलाई विश्लेषण गर्दा मार्जिन कारोबार तीन वटा मुख्य बुँदामा अड्किएको देखिन्छ।

१. स्वचालित रिपोर्टिङ प्रणाली: ब्रोकरहरू नेप्सेको टिएमएस (TMS) भित्रै मार्जिन कारोबारको छुट्टै 'विन्डो' र स्वचालित रिपोर्टिङ प्रणाली चाहन्छन्। तर, नेप्से अहिलेकै प्रणालीबाट म्यानुअल वा अर्ध-स्वचालित रूपमा काम सुरु गर्न सकिने अडानमा छ।

२. दुई वटा डिम्याट र टीएमएस कोड: एउटै व्यक्तिको मार्जिन र नन-मार्जिन कारोबार छुट्ट्याउन दुई वटा खाता अनिवार्य छ। यो प्रणाली प्राविधिक रूपमा सबै ब्रोकर र लगानीकर्ताका लागि सहज भइसकेको छैन।

३. जिम्मेवारीको द्वन्द्व: रिपोर्टिङ मेकानिजम कसले बनाउने ? नेप्से भन्छ- 'ब्रोकरले रिपोर्ट गर्ने हो, माध्यम उनीहरूले नै मिलाउनुपर्छ।' ब्रोकर भन्छन्- 'रिपोर्टिङ गर्ने प्लेटफर्म नेप्सेले उपलब्ध गराउनुपर्छ।'

विज्ञप्तिको साखमाथि प्रश्न

स्टक ब्रोकर एसोसिएसनले वैशाख २ गतेदेखि सेवा सुरु हुने भन्दै विज्ञप्ति जारी गर्दा लगानीकर्तामा ठुलो उत्साह छाएको थियो। तर, ४ गतेसम्म पनि एक ब्रोकरले 'ट्रायल'को रूपमा बाहेक अरूले सेवा दिन नसक्नुले ब्रोकरहरूको तयारीमाथि पनि प्रश्न उठाएको छ। 'पहिले नै प्राविधिक विषयमा नेप्से र भेन्डरसँग सल्लाह नगरी किन २ गतेको मिति तोकियो?' भन्ने प्रश्न अहिले बजारमा व्याप्त छ।

निष्कर्ष

मार्जिन लेन्डिङ सुरु भएमा बजारमा तरलता बढ्ने र पूँजी बजार थप चलायमान हुने अपेक्षा गरिएको छ। तर, नियामक नेप्से र कार्यान्वयन गर्ने ब्रोकरबीचको यो समन्वय अभावले लगानीकर्तालाई भने निराश बनाएको छ। म्यानुअल रिपोर्टिङबाट सुरु गरिएको नासा सेक्युरिटिजको प्रयासलाई कतिपयले सकारात्मक माने पनि ठुलो परिमाणमा कारोबार हुनका लागि स्वचालित प्रणाली अपरिहार्य देखिन्छ।अब नेप्से, सीडीएससी र ब्रोकरहरू एक ठाउँमा बसेर प्राविधिक गाँठो नफुकाएसम्म वैशाख २ को घोषणा कागजमै सीमित हुने पक्का छ। लगानीकर्ताहरू अब कहिले 'सिस्टम' तयार हुन्छ र वास्तविक रूपमा मार्जिन सुविधा पाइन्छ भनेर पर्खिरहेका छन्।

comments powered by Disqus

सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।