Ipo.aspx merolagani - पूँजीबजार सुधारका लागि लगानीकर्ताद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण, बजार सुधारको काम तत्काल गर्न माग

पूँजीबजार सुधारका लागि लगानीकर्ताद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण, बजार सुधारको काम तत्काल गर्न माग

Apr 30, 2026 11:00 AM Merolagani

नेपाल शेयरबजार लगानीकर्ता संघले देशको पूँजीबजारमा देखिएका गम्भीर समस्या र विसंगति समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै पूँजी बजारको सुधार, विकास र विस्तारका लागि तत्काल ठोस कदम चाल्न माग गरेको हो।

लगानीकर्ता संघले नेपालको धितोपत्र बजार हाल अत्यन्तै कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा व्याप्त भ्रष्टाचार, वित्तीय अनियमितता, स्वेच्छाचारिता र नीतिगत अस्थिरताका कारण समग्र बजार संकटमा परेको दाबी गरेकाे छ।

नेपालको कुल जनसंख्याको ५७ लाख ९ हजार ५६६ भन्दा बढी हितग्राही खातावालाहरू प्रत्यक्ष रूपमा शेयर बजारमा जोडिएका छन्। यति ठूलो संख्यामा सर्वसाधारणको लगानी रहेको क्षेत्रमा चरम निराशा छाउनुले मुलुकको अर्थतन्त्रमै नकारात्मक असर पुग्ने संघको धारणा छ।

धितोपत्र बोर्डले साना लगानीकर्ताको हित संरक्षण गर्ने आफ्नो कानुनी दायित्व पूरा नगरेको संघको आरोप छ। 'धितोपत्र सम्बन्धी ऐन २०६३' को प्रस्तावनामा लगानीकर्ताको हित संरक्षण गर्ने उल्लेख भए पनि बोर्डले नेपाललाई एफएटीएफको ग्रे लिस्टमा पार्न भूमिका खेल्ने तत्वहरूको प्रभाव र मार्गनिर्देशनमा काम गरिरहेको पत्रमा उल्लेख गरिएको छ ।

पूँजी बजारलाई थप धराशायी हुनबाट जोगाउन प्रधानमन्त्रीबाट तत्काल हस्तक्षेप हुनुपर्ने र हाल कायम रहेका बोर्डका सञ्चालकहरूलाई तत्काल फिर्ता बोलाई उनीहरूको स्थानमा प्रतिबद्ध र परिणाममुखी विज्ञहरू नियुक्त गरिनुपर्नेमा संघले जोड दिएको छ । त्यसैगरी, विगत लामो समयदेखि लगानीकर्ताका विभिन्न संघ–संस्थाहरूले सुधारका लागि आवाज उठाउँदा पनि सम्बन्धित निकायले सुनुवाइ नगरेपछि बाध्य भएर प्रधानमन्त्रीको ढोका ढकढक्याउनु परेको संघले जनाएको छ।

comments powered by Disqus