Ipo.aspx merolagani - धितोपत्र बोर्डको अध्यक्षका लागि शेयर बजारका शिव चन्द्रको आवेदन

धितोपत्र बोर्डको अध्यक्षका लागि शेयर बजारका शिव चन्द्रको आवेदन

May 04, 2026 02:14 PM Merolagani

शेयर बजारका चर्चित विश्लेषक शिव चन्द्र अर्थात पुरुषोत्तम राज चिमोरियाले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। उनले सोमबार अर्थ मन्त्रालय पुगेर अध्यक्ष पदको लागि आवेदन दर्ता गराएका हुन्।

शेयर बजारलाई दुई दशकभन्दा बढी समयदेखि नजिकबाट अध्ययन र अनुसन्धान गर्दै आएका चिमोरियासँग यस क्षेत्रको लामो अनुभव छ। उनले एशियन क्यापिटल लिमिटेडमा करिब ७ वर्ष प्रमुख लगानी अधिकृत (सीईओ) को रूपमा समेत कार्य गरिसकेका छन्।

सामाजिक सञ्जालमा शिव चन्द्र डनको नामले चर्चित उनले शेयर बजार र देशको अर्थतन्त्रका विविध विषयमा गर्दै आएको विश्लेषणलाई लगानीकर्ताहरूले निकै रुचाउने गरेका छन्। पछिल्लो समय उनी आम लगानीकर्तामाझ एक प्रभावशाली तार्किक विश्लेषकका रूपमा स्थापित छन्।

धितोपत्र बोर्डको नेतृत्वमा बजारको मर्म बुझेको र अनुभवी व्यक्ति आउनु पर्ने माग लगानीकर्ताहरूले उठाउँदै आएका छन्। विगतमा बजारको आवश्यकता र गहिराइ नबुझ्ने व्यक्ति नेतृत्वमा पुग्दा बजारको उचित विकास हुन नसकेको लगानीकर्ताहरूको बुझाइ छ। यस्तो अवस्थामा बजारकै अनुभवी पात्रको रूपमा शिव चन्द्रको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ।

बोर्ड अध्यक्ष योग्यताका हकमा मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेको, धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको हुनुपर्नेछ । ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । भ्रष्टाचारजन्य, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागु औषध कारोबार लगायतका फौजदारी कसुर पाएका व्यक्ति अध्यक्ष पदका लागि अयोग्य हुने छन् । 

comments powered by Disqus